कंगोमा ज्वालामुखी विस्फोटको खतरासँगै सिंगो सहर खाली गरिँदै
कंगो: कंगोमा ज्वालामुखी विस्फोट हुने त्राससँगै गोमा सहरका दसौँ हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
नइरागोङ्गो ज्वालामुखीपछि श्रृंखलावद्ध रुपमा अर्को ज्वालामुखी विस्फोट हुने चेतावनी दिइएपछि बिहीबार सहर नै खाली गर्न लगाइएको हो ।
भूगर्भ विदहरुका अनुसार गोमाको सहरी क्षेत्रको मुनि किभु लेकतर्फ म्याग्मा विस्तार हुँदै आइरहेको छ । जसले गर्दा उक्त ज्वालामुखी विस्फोट हुँदा ठूलो जनधनको क्षति हुनसक्ने भएकाले सहरबासीलाई अन्यत्र सारिएको हो ।
उक्त ज्वालामुखी चेतावनीको समय नै नपाइकन छिट्टै विस्फोट हुनसक्ने भन्दै यसबाट बच्न छिट्टै सुरक्षित स्थानतर्फ जानुपर्ने बताएका हुन् ।
तर शान्तिपूर्ण र हतार नगरिकन सुरक्षित स्थानतर्फ जानुपर्ने भन्दै सरकारी अधिकारीहरुले स्थानीयहरुलाई सुझाव दिएका छन् । स्थानीयहरुलाई अत्यावस्यक वस्तु मात्रै आफूसँग लिएर सुरक्षित स्थानतर्फ जान उनीहरुको सुझाव छ ।
यससँगै गोमा सहरका बासिन्दाहरु सुरक्षित स्थानको खोजीमा छिमेकी देश रुवान्डाको सीमास्थल तर्फ जान थालेका छन् ।