भान्से नै भोकै : न एक छाक गाँसको उपाय छ, न श्रीमतीका लागि औषधि किन्ने पैसा

भान्से नै भोकै : न एक छाक गाँसको उपाय छ, न श्रीमतीका लागि औषधि किन्ने पैसा

राजविराज : निषेधाज्ञा घोषणा भएसँगै होटल व्यवसाय ठप्प छ। सप्तरीमा पनि वैशाख २५ गते मध्यरातदेखि निषेधित क्षेत्र घोषणा गरिएको छ। होटलहरूमा काम गर्ने कतिपय मजदुर घर फर्किएका छन् भने कतिपय निषेधाज्ञा खुलिहाल्छ कि भन्ने आसमा छन्। अनिश्चितकालका लागि लगाइएको निषेधाज्ञाको म्याद समाप्त हुने स्थिति देखिएको छैन।

यससँगै होटल खुल्ने समय पनि अनिश्चित बनेपछि सञ्चालकले भान्से कुमार मगरलाई घर जान भने। मगरको घर छैन। घर नहुने ४७ वर्षीय मगर ५८ वर्षीया श्रीमती कल्पनासँग राजविराज–४ स्थित ६ केन्द्र विद्यालयको पछाडि एउटा झुप्रोमा बस्छन्। एउटा खाट र चुलो मात्र अट्ने कोठाको बहालबापत ८ सय रुपैयाँ तिरिरहेका छन्। सुरुमा बहालबापत एक सय रुपैयाँ तिरेर डेरा बस्न थालेका मगर दम्पतीले सोही ठाउँमा २५ वर्ष बिताए। 

साइला भाइ भोजपुरबाट झरेदेखि तीन दाजुभाइसँग भेटघाट छैन। निःसन्तान मगर दम्पतीले भोजपुर गएर नागरिकता बनाएनन्। भन्छन्, ‘पैसा खर्च गरेर केका लागि नागरिकता बनाउनु ? जग्गाजमिन जोड्नु छैन। घर बनाउनु र जागिर खानु पनि छैन।’ निन्याउरो अनुहार पार्दै श्रीमती कल्पनाले भनिन्, ‘सन्तान पनि भएनन्, बाँचुञ्जेल खायो–मरेपछि सिद्धियो।’ 

निषेधाज्ञाअघिसम्म राजविराजको मुख्य बजारमै रहेको पशुपति होटलमा मगर २५ वर्षदेखि कार्यरत भान्से हुन्। बिरामी पर्न थालेपछि कल्पना भने १० वर्षदेखि काम छाडेर डेरामै बसेकी छन्। निषेधाज्ञापछि मगरसँग न एक छाक गाँसको व्यवस्था गर्ने उपाय नै छ न श्रीमतीको औषधि किन्ने पैसा नै छ। बिहानदेखि रातिसम्म काम गरेर मासिक १५ हजारमा कार्यरत उनलाई होटल मालिकले निषेधाज्ञाका बेला घर जान भनेपछि बेरोजगार बनेका छन्। 

भोजपुरको हतुवागढी गाउँपालिकाको होम्ताङ घोरेटारका उनले छेउकै रामप्रसादराई गाउँपालिका–५ मानेभन्ज्याङ आम्बोटे गुराँसेकी ११ वर्ष जेठी कल्पना थापा मगरसँग २९ वर्षअघि प्रेमविवाह गरे। विवाह गर्दा उनको उमेर १८ वर्ष थियो। कामको खोजीमा धरान–राजविराजको दास बसमा खलासी हुँदै राजविराजमा सम्पर्क भएपछि उनी राजविराजकै भएर बस्न थाले।  कल्पनाले खोक्दै सकी नसकी कहिले खोले त कहिले झोल हालेको भिन्डी वा साग पकाउँछिन्। कुमार भने केही काम पाइने आशामा दैनिक घरबाट निक्लन्छन्। ‘मजदुरी गर्ने भनेर निक्लियो, लकडाउनमा काम नै पाइएन बरु सबैलाई त्रसित पो देख्छु’, उनले भने। 

बारीझारी सरसफाइ गर्न केही त काम पाइहालिन्छ कि भन्ने आशा पनि उनमा छ। तर, कसैले काम दिँदैनन्। ‘कोरोना संक्रमणको डरले हो वा अरू कारणले हो कसैले केही काम दिएनन्, के गर्नु घुम्यो–घुम्यो, डेरा आयो’, उनले भने।

आफूले काम गर्दै आएको होटलले यसअघि पनि लकडाउनको अवधिको तलब काटेको र यसपटक पनि नदिने बताइसकेको उनले सुनाए। ‘निषेधाज्ञा सुरु भएपछि सवारी साधन र बजार बन्द भयो’, उनले भने, ‘होटल चल्ने कुरै आएन, होटल सञ्चालकले नआउन भन्यो।’ उनको मुहार मलिन भयो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.