दीर्घ रोगीलाई भर्चुअलबाट उपचार
झापा : लकडाउनले सबैतिरको जनजीवन ठप्प छ । झापाको भद्रपुर १० का ४६ वर्षीय रामलाल राजबंशी दुई वर्षयता मुटु रोगबाट पीडित छन् । आइतबार भने उनको अनुहारमा छुट्टै खुशी थियो । घरमै आफ्नो स्वास्थ्यबारेमा सोधपुछ गर्न कोही आएको देख्दा उनी निकै खुशी देखिन्थे ।
डाक्टरले रामलाललाई फलोअपका लागि बोलाएका थिए। तर कोभिडका कारण अस्पताल जान समस्या भएसँगै आर्थिक संकट पनि चुलिएपछि उनी रोगसँगै तनावमा थिए । लकडाउनका कारण उनको रोजगारी पनि गुम्यो ।
आर्थिक अभावले २०७७ माघयता स्वास्थ्य उपचारका लागि विशेषज्ञ सेवा लिन पाएका छैनन् । राजवंशीलाई अब अस्पतालको मुखै देख्न नपाइ मरिने पो होकि भन्ने चिन्ता थियो ।आइतबार भने मेची अभियानको टोली कोभिडका कारण दीर्घ रोगको उपचार नपाएकालाई घरघरमा गएर विशेषज्ञ सेवा दिन उनको घरमा पुगे ।
राजवंशीजस्तै दीर्घ रोगीहरू जो कोभिड–१९ को सङ्क्रमणका डरले उपचार गर्न अस्पताल जान पाएका छैनन्। उनीहरुका लागि मेची अभियानले शनिबारदेखि विशेषज्ञ सेवा सुरु गरेको छ । मेचीनगरको वाहुनडाँगी र भद्रपुरको चन्द्रगढीबाट दीर्घ रोगीको उपचारका लागि विशेषज्ञ डाक्टरबाट अनलाइन परामर्श तथा उपचार सेवा आरम्भ गरिएको हो ।
“हामी जुट्छौँ फेरि उठ्छौँ”भन्ने नारासहित अभियानले कोभिड सङ्क्रमणबाट पीडित उपचारविहीन तथा विभिन्न दीर्घ रोगको उपचार नपाएकालाई घरघरमा गएर विशेषज्ञ सेवा दिन थालेको हो । अभियानले राजवंशीलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर सञ्जीव शर्मासित भर्चुअल जोडिदिएको थियो ।
आफ्नो रोग र समस्याबारे सुरुमा खुल्न नसकेका उनलाई मोबाइलमा कसरी आफ्नो समस्याबारे बोल्ने भन्ने थियो । राजवंशीलाई डा. शर्माले उनको समस्या र अहिले लिइराखेको औषधिबारे सोधे । त्यसपछि राजबंशीले २ वर्षदेखि आर्थिक अभावका कारण पनि फलोअपमा जान नसकेको बताए ।
उनको स्वास्थ्यजाँच र बाँकी उपचारका लागि सबै प्रक्रिया मेची अभियानले गरिदिने जिम्मा लिने भनेपछि सुखी हुँदै उनले भने भने, ‘अब बाँच्छु होला ।’
भद्रपुर १० केन्द्रमोड सुकुम्बासी बस्तीकी ३० वर्षीया सुनिता बेस्राले पनि आइतबार अनलाइनबाटै सेवा लिएकी छन् । गत वर्षबाट पेट फुल्ने र दुख्ने समस्या भएकी सुनितालाई स्थानीय अस्पतालमा परीक्षण गराउन जाँदा पाठेघरमा पानी जमेकाले तत्काल अप्रेसन गनुपर्ने डाक्टरले सल्लाह दिएका थिए । कोरोना महामारीसँगै उनको अस्पताल जाने कुरा पनि असम्भव बन्दै गयो । उनले भनिन्, ‘अस्पताल जान कसैको सहयोग पनि पाइन । अर्कोतिर अस्पतालमा अरु बिरामी हेर्छन् हेर्दैनन् थाहा पनि भएन ।’
एकातिर खर्चको अभाव अर्कोतिर कोरोनाको डरैडरले दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्दै आएकी सुनिताको उपचार पनि मेचीअभियानले गरिदिने भएको छ । अभियानका चन्द्रगढी संयोजक सोमप्रसाद ढुङ्गेलका अनुसार बिरामीको आवश्यकताअनुसार अभियानले विशेषज्ञ सेवा दिने बताए । औषधि र प्रयोगशाला परीक्षण पनि तुरुन्त गरिने छ ।
'हामी जुट्छौँ फेरि उठ्छौं’’ भन्ने नारा दिइएको कार्यक्रम सञ्चालन भएको पहिलो दिनमा २६ जना दीर्घ रोगीलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञ डा. शर्माले काउन्सिलिङ गरेका थिए । उनीहरुमध्ये अर्बुद,मुटु, दम र स्त्री रोग समस्या भएका बिरामी थिए ।
तिनलाई डा. शर्माले अनलाइनबाट उपचार सेवा दिएको संयोजक डालमियाले जानकारी दिए। ‘कोभिडसँगै ननकोभिडलाई सघाऔं’ भन्ने नाराका साथ सामाजिक सेवामा संलग्न मेचीअभियानले जुमएपमार्फत टेलिपेथी सेवाको प्रारम्भ गरेको हो ।
कोरोना संक्रमितबढेसँगै नन संक्रमित दीर्घ रोगका बिरामीले अस्पतालबाट नियमित सेवा लिन कठिन भएको महसुश गर्दै जेठ १५ गतेदेखि दीर्घरोग पीडित बिरामीलाई राहत दिने उद्देश्यले बिरामी र डाक्टरको प्रत्यक्ष संवाद, समस्या र समाधान खोज्ने प्रयासस्वरुप टेलिपेथी कार्यक्रम सुरु गरेको हो ।
अभियानको उक्त कार्यमा केएचडिसी र मेचीनगर नगरपालिकाको सहकार्य रहेको अभियानका संयोजक विजयडाल मियाले जानकारी दिए । संयोजक डालमियाकाअनुसार अभियानले चिकित्सकले जरुरी ठहर गर्ने बिरामीलाई उपचारका लागि अस्पतालसम्म पुर्याउने तथा आर्थिक रुपले कमजोर अवस्थाका बिरामीलाई भने अस्पतालमा निशुल्क उपचारको प्रबन्ध गर्ने छ । अभियानले गर्भवती, सुत्केरी तथा डायलाइसिस गरिरहेका बिरामीलाई विशेष प्राथमिकतामा राखेको छ ।
अभियानले मेचीनगर, बुद्धशान्ति, साबिकका गाविस चन्द्रगढी, पृथ्वीनगर, कुमरखोद, गौरीगन्ज र खुदुनाबारी चयन गरेको छ । परिस्थितिअनुसार कार्य क्षेत्र थप गर्न सकिने संयोजक डालमियाले जानकारी दिए।अभियानमा स्वास्थ्यकर्मी र अन्य स्वयंसेवीसहित लगभग १०० जना स्वयंसेवक छन् ।