जसपामा दोहोरो कारवाही : महन्थ पक्षबाट उपेन्द्र यादव निकालिए
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)मा कारवाहीको दोहोरी चलेको छ। सोमबार महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई अध्यक्ष उपेन्द्र यादव समूहले कारवाही गरेको थियो। यादव पक्षले कारवाही गरे लगत्तै ठाकुर र महतो पक्षले आफूहरुलाई निस्किासित गर्नु दुर्भाग्य र दुखत मात्र नभइ हास्यस्पद भएको बताएको छ।
उल्टै ठाकुर र महतो पक्षले उपेन्द्र यादवलाई पार्टीबाट निस्कासित गरेको जनाएको छ। महन्थसहित चारजना नेतालाई यादवपक्षले निस्कासित गरेपछि ठाकुर पक्षले उनलाई निस्कासित गर्ने निर्णय गरेको हो।
महन्थ पक्षका नेता प्रमोद साहले आफनो पक्षले पनि यादवलाई निस्कासित गरेका जानकारी दिए। ‘हामी त पार्टी फुटोस भन्ने पक्षमा थिएनौँ तर उहाँले सुरुवात गर्नुभयो, त्यही भएर उहाँलाई पार्टीबाट निस्किासित गरेको छौँ’, साहले भने।
मधेसका माग सम्बोधन हुने बेलामा उपेन्द्र पक्ष व्यवधान सिर्जना गर्न पार्टी अध्यक्ष ठाकुरलाई नै निस्कासनको प्रपञ्च गरेको उनको आरोप छ।
‘१३ वर्षदेखि हामी यही माग र मुद्दाको लडिरहेका थियौं, आज तीन माग सम्बोधन हुदैछ, जेलबाट साथीहरु छुटदैछ, मुद्दा फिर्ता हुदैछ’, उनले भने, ‘नागरिकता नपाएकाले पाउने अवस्था आएको छ, तर उपेन्द्रजी यसलाई स्वागत गर्नु पर्ने व्यवधान गरिरहनु भएको छ, यो अत्यन्त दुख, दुर्भाग्य हो।’
उपेन्द्र यादव आफू पटकपटक मन्त्री हुँदा पूरा गर्न नसकेका माग, मुद्दा अहिले सम्बोधन भइरहेको उनको भनाइ छ। मधेसका माग र मुद्दालाई आफूले सत्ताको भरयागं मात्रै बनाउने, अहिले पुरा हुन लाग्दा पार्टी फुटाउने, उहाँ नियत यसले स्पष्ट गर्छ’, उनले भने।
यादव र बाबुराम भट्टराई पक्षको कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको थियो।
पार्टी हित विपरित काम गरेको भन्दै जसपाले चार नेतालाई पार्टी सदस्यबाट निस्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिइसकेको छ। ठाकुर पक्षले समेत निर्वाचन आयोगमा पत्र पठाएर यादव हटाएको जानकारी गराइसकेको साहले बताए ।
जसपा अध्यक्ष ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा जाने तयारीमा छ। अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न सोमबार बिहान बालुवाटार पुगेका थिए। ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुरपक्ष एक दुई दिनमै सरकारमा सहभागी हुने जनाइको छ।
जसपा ठाकुर पक्षले पार्टीले अघि सारेका माग सम्बोधन भएकाले ओली सरकारमा सहभागी हुने निर्णय लिएको जनाएको छ। जसपाको संसदीय दलमा ठाकुर-महतो पक्षको बहुमत छ। उनीहरुको पक्षमा २० सांसद छन्।
महन्थ ठाकुरपक्षको राजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानुपर्ने अडानमा छ भने बाबुराम भट्टराई र उपेन्द्र यादव भने विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्ने पक्षमा छन्। ठाकुर–महतो पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिने निर्णय गरेसँगै जसपमा विवाद बढेको हो।