बिरामीलाई टेलिमेडिसिन सेवा
झापा : ‘हामी जुट्छौँ, फेरि उठ्छौँ,’ भन्ने उद्देश्यले पाँच वर्षअघि जनस्तरबाट सुरु भएको मेची अभियानले पूर्वमा टेलिपेथी सेवा सुरु गरेको छ। कोभिडको महामारीमा अन्य रोगीहरूले उपचार सेवा नपाउने अवस्था भएपछि झापामा नन्कोभिड बिरामीहरूका लागि टेलिमेडिसिन सेवा सुरु भएको हो।
‘कोभिडसँगै नन्कोभिडलाई सघाऔं’ नाम दिइएको टेलिमेडिसिन सेवा पहिलो चरणमा जेठ ३१ गतेसम्म चल्नेछ। कोरोना संक्रमणबाट उत्पन्न स्वास्थ्य समस्यालाई काबु बाहिर जान नदिन टेलिपेथी सेवा सुरु भएको मेची अभियानका संयोजक विजय डालमियाले बताए।
अभियान अहिले झापाका मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका, भद्रपुर नगरपालिका, गौरीगन्ज गाउँपालिका, झापा गाउँपालिका र साविक खुदुनाबारी गाविसमा जारी छ। बिरामीहरूको आवश्यकताअनुसार यो सेवा बिस्तार हुँदै जाने संयोजक डालमियाले जानकारी दिए।
कोरोना संक्रमितसँगै मुटु, मिर्गौला, सुगर, प्रेसरका बिरामी, गर्भवती, सुत्केरी महिला तथा डायलासिस सेवा लिनुपर्ने बिरामीलाई प्राथमिकतामा राखेर यो सेवा सुरु गरिएको हो। अभियानले कोरोनाको दोस्रो लहरको संक्रमणसँगै जनचेतना अभिवृद्धि गर्ने र संक्रमितहरूलाई नियमित परामर्श उपलब्ध गराउँदै आएको छ।
विशेषज्ञ चिकित्सकसहितको टोलीले होम आइसोलेसनमा रहेका संक्रमितहरूसँग भर्चुअल प्रविधिबाट प्रत्यक्ष कुराकानी गर्ने र परामर्श दिने गरिरहेका छन्। त्यसको नेतृत्व डा. सञ्जीव शर्मासहितको टोलीले गरिरहेको छ।
अभियानको सचिवालय संयोजकमा पुष्पराज पौडेल, औषधि व्यवस्थापन संयोजक उमेश सुवेदी, ल्याव व्यवस्थापन संयोजक दिलीप सुवेदी, प्रविधि संयोजनमा इन्जिनियर निशान न्यौपाने र किरण खनाल छन्।
एक सयभन्दा बढी स्वयंसेवक परिचालित उक्त सेवा प्रारम्भ भएका स्थानमा क्षेत्रगत संयोजक तोकिएको संयोजक डालमियाले जानकारी दिए। संक्रमितले भर्चुअल प्रविधिमार्फत विशेषज्ञसँग प्रत्यक्ष कुराकानी गर्ने र आफ्नो स्वास्थ्य समस्या बताउने गर्छन्। कोभिड संक्रमित र नन्कोभिड गरी अहिलेसम्म ७५ जनाले उक्त टेलिमेडिसिन सेवा लिइसकेका छन्। भर्चुअल माध्यमबाट सेवा लिएका काँकडभिट्टाका एक दीर्घरोगीलाई अस्पताल भर्ना गरिएको छ। त्यस्ता विरामीको उपचार खर्च मेचीअभियानले बेहोर्ने संयोजक डालमियाले बताए। उक्त सेवाका लागि एम्बुलेन्स मेचीनगर नगरपालिकाले उपलब्ध गराएको छ।
सेवालाई थप प्रभावकारी बनाउन निजी गाडी हुने युवा स्वयंसेवकको रूपमा खटिएका छन्। उनीहरूले अप्ठ्यारोमा परेका र आर्थिक अवस्था कमजोर रहेका बिरामीको घरघरमै पुगेर उद्धार गर्ने छन्।
चिकित्सकको परामर्शमा ल्याब परीक्षण तथा थप उपचार सेवा आवश्यक भएकाको हकमा स्वयंसेवकको रूपमा खटिएका स्वास्थ्यकर्मीबाट नमुना संकलन गरिँदै आएको छ। एक्सरेलगायतका सेवा उपलब्ध गराइएको छ। संकलित नमुनाको परीक्षण पछि आवश्यक औषधि निःशुल्क रूपमा घरघरमै पुर्याइने गरिएको छ। अस्पताल भर्ना हुनु पर्ने बिरामीहरूका लागि अस्पतालसम्म लैजान आवश्यक समन्वय गर्ने र कमजोर आर्थिक अवस्थाका बिरामीहरूका लागि अस्पतालमा समेत निःशुल्क उपचारको प्रबन्ध मिलाइएको संयोजक डालमियाले बताए।
ल्याब तथा क्लिनिक सञ्चालक, औषधि व्यवसायी, अहेब तथा स्वास्थ्यकर्मीसहितको टोलीले घरघर पुगेर सेवा दिइरहेका छन्। मेची अभियान र केएचडीसीको सहकार्यमा मेचीनगर नगरपालिका पनि जोडिएको छ।
उपचार अभावमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य, आवश्यक सावधानी र सतर्कतासम्बन्धी समन्वयका लागि कोभिडसँगै नन्कोभिडलाई सघाऔँ अभियान सुरु गरिएको यस अभियानका परिकल्पनाकार नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका विश्वप्रकास शर्माले जानकारी दिए।