सभ्य नागरिक बन्ने कि ?
हामीलाई आफ्नोभन्दा अरूको ख्याल गर्न मनपर्छ। आफ्नो बारेमा राम्रो सोच्ने फुर्सद हँुदैन। अरूको बारेमा चौबिसै घन्टा नकारात्मक सोचेर टीकाटिप्पणी गर्न हामीलाई समय मिल्छ, निकै आनन्द लाग्छ। यो हाम्रो संस्कारजस्तै बनिसक्यो। यी र यस्तैआनीबानीले हामीलाई कहिले सभ्य बनाउला ? सोच्न निकै ढिला भइसकेको छ। स्कुलमा पढ्दा फेल भइयो भनेर गुरुलाई पिटियो। ठुलो हुँदै जाँदा आफूले भनेको नमान्ने साथीभाइलाई पनि मुढेबलले परास्त पार्नुलाई निकै ठुलो मानियो। जवान बन्दै जाँदा भनेको कुरा नकिनिदिने बाबाआमालाई पनि गाली गर्न र कहिलेकाहीँ हातपात गर्न पछि परिएन।
अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरू पिटिइरहेका खबरहरू हाम्रा लागि नौला रहेनन्। केही समय अगाडिदेखि नै सोलुखुम्बु, धनुषा, कास्की, मोरङ लगायतका अस्पतालहरूमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएका खबर सुन्दै आएका थियौं। यही जेठ १३ गते भेरी अस्पतालको कोभिड वार्डमा यस्तै निकै नमिठो घटना भयो। सो घटनाको विषयले सामाजिक सञ्जाल भरियो। मैले त्यहाँभित्र भएका कमेन्टहरू हेर्दा अचम्म लाग्यो। भनिएको थियो कि ‘यस्तो बेलामा डाक्टरलाई पिट्न हुन्न।’ हाम्रो सोचाइ, हाम्रो चिन्तन कति साँघुरो हो ?के हाम्रा स्वास्थ्यकर्मीहरू कोरोना कहरका लागि मात्र हुन् ?अरू बेलामा हामीलाई कुनै रोग लाग्दैन ? अनि अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरू बिरामीहरूका लागि सधैंका भगवान् होइनन् र ?यस्तो बेलामा स्वास्थ्यकर्मीलाई पिट्न हुन्न भन्नुको अर्थ अरू बेलामा त पिट्न हुन्छ भनेको भएन र ? हामीहरू सबै एकजुट भएर हामीलाई बचाउने स्वास्थ्यकर्मीहरूको बचावट किन गर्न सक्दैनौं ?
डाक्टर होउन् कि सवारी चालक जानीजानी मानिसलाई मात्रै होइन, कुनै सानो प्राणीलाई समेत मार्दैनन् भनेर हामीले कहिले बुझ्ने ?मृत्यु सृष्टिको अनिवार्य सर्त हो। कसैको छिटो कसैको ढिलो कसैलाई केही थाहा हँुदैन। बिरामी भएपछि अस्पताल जाने हो। अस्पतालका डाक्टरहरूले आफ्नो ज्यानको माया मारेर भएपनि आफ्ना बिरामी बचाउन लागिपरेका हुन्छन्। उपचार गर्दागर्दै पनि उमेर पुगेका ज्येष्ठ नागरिक वा अन्य जटिल स्वास्थ्य अवस्थाका बिरामीहरूको निधनहुन सक्छ। यति पनि नबुझेर मेरो मानिसलाई मारिस् भनेर स्वास्थ्यकर्मीमाथि नै जाइलाग्ने मानिसहरूलाई के भन्ने खै ?
आधुनिकता समय र शताब्दीले ल्याउने कुरा होइन। आधुनिक हुनका लागि मानिस सभ्य हुनुपर्छ। मानव विकास उच्च बिन्दुमा पुग्नुपर्छ। हाम्रा संस्कृति र सभ्यताको दियो प्रचुर मात्रामा निरन्तर बल्न सक्नुपर्छ।
एकपटक गहिरिएर सोचौं तसबैले। हाम्रा वास्तविक भगवान्प्रति हामीले साँच्चै राक्षसी व्यवहार किन गर्छौ ?जति अरूलाई पिट्न र अभद्र व्यवहार गर्न सक्छौं उति नै किन सभ्य मान्छौं हामीहरू आफूलाई ? यसको दोषी कसकसलाई मान्ने हो ? पटकपटक यस्ता प्रकृतिका घटनाहरू किन दोहोरिरहन्छन् ? जसले नराम्रा काम गर्छ उसैलाई ठुलो मान्छे मान्न हामीलाई कसले सिकायो ?पूर्वीय सभ्यता र संस्कृतिको केन्द्रविन्दुमा बसेर यस्ता गैरनागरिक क्रियाकलाप गर्न हामीलाई कसले आदेश दियो ? खोज्यो भने यस्तै तमाम प्रश्नहरूले हाम्रो मथिंगलमा निकै तरंगहरू ल्याउँछन्।
आधुनिकता समय र शताब्दीले ल्याउने कुरा होइन। आधुनिक हुनका लागि मानिस सभ्य हुनुपर्छ। मानव विकास उच्च बिन्दुमा पुग्नुपर्छ। हाम्रा संस्कृति र सभ्यताको दियो प्रचुर मात्रामा निरन्तर बल्न सक्नुपर्छ। तबमात्र हामी सभ्य भइन्छ। हाम्रो समाज सभ्य हुन्छ अनि सिंगो मुलुक सभ्य र सुव्यवस्थाले सजित हुन्छ। अनि मात्र देश आधुनिक बन्छ र सम्पूर्ण देशबासीहरू पनि आधुनिक बनिन्छ।
कमीकमजोरीहरू हरेक तह र तप्कामा भइरहेका छन्। सरकार आफैं गैरजिम्मेवार छ। असभ्य नागरिकलाई, अराजक नागरिकलाई प्रोत्साहित गर्दै सरकारमा समावेश गराउँछ। हामी नागरिकहरू पनि त्यस्तै कमजोर चेतनाका छौं। फलानो व्यक्ति फौजदारी अभियोग लागेको हो भन्ने थाहा पाएर पनि उसैलाई आफ्नो अमूल्य भोग दिएर आफ्नो जनप्रतिनिधि बनाउँछौं। जब हामीले चुनेका जनप्रतिनिधिहरू नै खराब आचरणका छन् भने उनीहरूले कस्तो कानुन बनाउलान् ? अनि उनीहरूले बनाएको कानुनको कसरी कार्यान्वयन होला? हामीहरू यसमा पटक पटक चुकिरहेका छौं। जब अपराधीले उन्मुक्ति पाउँछ तब अन्य अपराधीहरू थपिँदै जान्छन्। अपराधीले अपराधीलाई बचाउने हो।
जब हामीभित्रका सोचाइ र व्यावहारिकता नै खराब छन् भने असल मान्छेले, निर्दोषमान्छेले सधैं दुःख पाउँछ। अपराधीहरू झन् डन बन्दै जान्छन् र पटकपटक यस्ता घटनाहरू दोहोरिन्छन्। अहिले भैरहेका स्वास्थ्यकर्मीमाथिका हिंसा अनि महिलाजन्य हिंसाहरू पनि यसैका उपज हुन्। के हामी सभ्य नागरिक बन्न सक्दैनौं?आफू सभ्य हुँदा आफूलाई घाटा हुन्छ र ? नराम्रा काम गरेर चर्चा पाउनुभन्दा राम्रा काम गरेर बस्नु राम्रो होइन र ? भ्रुण अवस्थाबाट नै अतिथिदेवो भव, मातृदेवो भव, पितृदेवो भवको वास्तविकता ग्रहण गर्दै जन्मेका होइनौं र हामीहरू? खै हामी आफू असल बनेको ? खै हामीले आफ्ना सन्तानहरू असल बनाएको ?आफू सुध्रिने कुरा, आफू सभ्य बन्ने कुरा अरूले गरिदिने हो र ?
सुधार बिस्तारै हुने कुरा हो। सुधार आफूबाट हुनुपर्ने कुरा हो। आउनुहोस्, तपाईं हामी पनि अब सुधारको बाटोमा लागौं। सकारात्मक परिवर्तनको बाटोमा लागौं। एक दिनमा आफूभित्र भएको एउटा मात्र नराम्रो बानी सुधार गर्यौं भने पनि एक महिनामा नै हाम्रा धेरै खराब आनीबानीमा सुधार आउँछन्। जब आफू असल भइन्छ तब घर परिवार, समाज हुँदै सिंगो मुलक पनि असल बन्छ। सरकार असल, कर्मचारी असल, सबै व्यवसायी असल, सबै दलका मानिसहरू असल, शिक्षक विद्यार्थी असल अझभन्दा सबै–सबै असल। आखिर सरकार, संघ–संस्था भनेको पनि त आफूहरूकै समूह त हो नि। त्यसैले आजको आवश्यकता भनेको हरेक आफूहरू असल बन्नु हो। हरेक आफूहरू सभ्य बन्नु हो।
सभ्य बन्नका लागि, असल बन्नका लागि सरकारले मानव विकासका लागि प्रशस्त लगानी गर्नुपर्छ। मानव विकासमा हुने लगानीले मानवलाई सभ्य र असल बनाउँछ। विकासको अन्तिम बिन्दु भनेको नै मानव विकास हो। जब हरेक नागरिक असल हुन्छन्, सभ्य हुन्छन् तब मुलुकमा विकास र समृद्धि आउँछ। जब आफ्नै विकास हुन्छ भने अरूको खुट्टा किन तान्नु ? नराम्रा काम गरेर आफूले किन चर्चा बटुल्नु। आफू सभ्य नागरिक बन्दा न त आफूलाई घाटा हुन्छ न त अरूलाई। सबैलाई फाइदा हुने कुरामा हामी किन पछि पर्ने ? आजैदेखि हामी सबै सभ्य नागरिक बन्ने अभियानमा जुटौं।