कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका रानिटारका दुई पुरुषको निधन
फिदिम : कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका फिदिमनगरपालिका ८ का दुईजना पुरुषको बिहीबार राति निधन भएको छ । रानिटार स्थितघुमाउने टारका अन्दाजी ७० वर्षीय वृद्ध र कागतेका अन्दाजी ६० वर्षीय पुरुषको निधन भएको वडाध्यक्ष सेरबहादुर नेम्बाङले जानकारी दिए ।
‘दुवैजना मृतकमा कोरोनाको लक्षण देखिएको थियो,’ नेम्बाङले भने ‘उनीहरुका परिवारका अन्य सदस्य पनि बिरामी छन् ।’ उनीहरुमा ज्वारो आउने, खोकी लाग्ने, घाँटी दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएको छ ।
घुमाउनेटारका वृद्धको घरमै निधन भएको हो भने कागेतका पुरुषलाई उपचारका लागि समर्पित अस्पताल फिदिम ल्याउने क्रममा निधन भएको हो । उनीहरुको कोरोना परीक्षण गरिएको थिएन। नेम्बाङका अनुसार अब परीक्षण गर्ने कि नगर्ने भनेर सम्बन्धित निकायसँग परामर्श भइरहेको छ।