‘त्यति बेलै मर्न पाएको भए हुन्थ्यो’
चितवन : बाँदरमुढे घटनामा अयोध्यापुरी गणेशगन्जकी विष्णु विकको दाहिने खुट्टा भाँच्चियो। दाँत झर्यो। टाउकोमा चोट लाग्यो। त्यसकै असरका कारण उनी काम गरेर खान नसक्ने भएकी छन्। माइत जान बस चढेकी विकको साथमा १४ महिनाकी छोरी सुस्मिता थिइन्। सुस्मिताको खुट्टा, ढाड, टाउको दुख्ने, आँखामा समस्या छ।
उनको शारीरिक र आर्थिक दुवै अवस्था कमजोर छ। कसैले १६ वर्षअघिको उक्त घटनाबारे सोधे आफूले भोगेको पीडाले उनी आक्रोशित हुन्छिन्। ‘त्यति बेलै मर्न पाएको भए यो अवस्था त देख्न पर्थेन’, उनले भनिन्, ‘पृथ्वीलाई भार भैयो। न बाँच्न सकेको छु न मर्न।’
न्याय र क्षतिपूर्ति उनको माग रहेछ। उनीजस्तै पीडित राजनीतिक दलहरूले अनेक बहाना गरेर आफ्ना मागको सुनुवाइ नगरेको बताउँछन्। बरु उल्टै घृणा र उपेक्षा गरिएको गुनासो उनीहरूले गरेका छन्। अधिकांश घाइते काम गरेर खान नसक्ने अवस्थामा छन्। उनीहरूले उपचार खर्चसमेत पाएका छैनन्।
माडीकी मनकुमारी क्षेत्रीसँगै विस्फोटमा परेका थिए आशिष क्षेत्री। ५२ वर्षीया मनकुमारी कान नसुन्ने भएकी छन्। उनको ढाड र टाउकोमा समस्या छ। आशिष ११ कक्षामा पढ्छन्। प्रहरीमा भर्ती हुन जाँदा घाउको दाग देखाएर फालिए। उनका बुवा तिलकबहादुर क्षेत्रीले पीडितले न्याय नपाएको बताए। औषधोपचार र छोरोका पढाइका लागि खर्च जुटाउन नसकेको उनको भनाइ छ। पीडितले न्याय मागेको १६ वर्ष पूरा भयो। तर, सुनुवाइ भएको छैन।
उनीहरूले दोषीलाई कारबाही हुनुपर्ने, घाइतेको उपचार गरिनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, जीविकोपार्जनको आधार बनाइदिनुपर्ने माग गर्दै आएका छन्। सुनुवाइ नभए पनि न्याय पाउने आसमा कुरा उठाउन छोडेका छैनन्। घटनाका पीडितले बाँदरमुढेपीडित संघर्ष समिति बनाएर संघर्ष जारी राखेका छन्।
त्यसपछि क्रमश: खुट्टामा लागेको घाउको दाग देखाउँदै विष्णु विक ।
उक्त घटनाको विषय उचालेको भनेर समितिका उपाध्यक्ष कृष्ण अधिकारी ‘तारो’ बनेका छन्। विरोध गर्यो भनेर माओवादी नेताले छोरालाई जागिरको अवसरबाट बञ्चित गर्ने धम्की दिएको दाबी अधिकारीले गरे। कतिपयले ‘डलरको खेती’को पछि लागेको आरोप लगाए।
पीडितले अधिकारीकै नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वनमन्त्री भएका बेला अग्नि सापकोटालाई कालोझन्डा देखाए। माओवादीका नेताहरू आउने कार्यक्रम भए पीडित कडा निगरानीमा पर्छन्। ‘औपचारिक रूपमा हाम्रो माग सुनुवाइ भएन। हामीलाई बोझ ठानेर उपेक्षा गर्छन्’, उनले भने, ‘हामीले कसैलाई खेद्नु छैन। न्याय पाउँदाको भोलिपल्ट हाम्रो आन्दोलन सकिन्छ तर किन सुनुवाइ हुँदैन त ?’
अर्का घाइते कृष्ण अधिकारी परिवारका साथ ।
उनी घाइते भएर २५ दिन अस्पताल बसेका थिए। उनको दुवै खुट्टा र ढाड भाच्चिएको थियो। माओवादी केन्द्रका नेताहरूले उनीहरूलाई घटनाको मुद्दा उठाएको भन्दै उपेक्षा गर्छन्। पहिला एमाले निकट एनजीओले सहयोग गर्थे। माओवादी केन्द्रसँग एकता भएपछि उनीहरू बोल्न छाडेको अधिकारीले दुखेसो गरे। उनीहरूले तत्कालीन राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, सभामुख सुवासचन्द्र नेम्बाङ, पार्टीका प्रमुखको हैसियतमा शेरबहादुर देउवा, कमल थापालाई न्याय दिलाइदिन घटनाको स्मरणपत्र बुझाएका थिए।
तत्कालीन विद्रोही माओवादीले ०६२ साल जेठ २३ गते माडीस्थित बाँदरमुढे खोलामा सर्वसाधारण चढेको बसमा बम बिस्फोट गराएको थियो। बसमा यात्रारत तीन सेनासहित ३९ जना मारिएका थिए। माओवादी कार्यकर्ताले बसमा चढेका सेनालाई लक्ष्य गरी विद्युतीय धराप राखेका थिए। दाहालले त्यस घटनालाई ‘दशवर्षे जनयुद्धको सबैभन्दा ठूलो कलंक’ भनेका थिए।
घाइते मनकुमारी क्षेत्री छोरा आशिषको टाउकोमा लागेको घाउको खत देखाउँदै।
बम विस्फोटबाट क्षतिग्रस्त बस।
तत्कालीन माओवादीले ०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा बम विस्फोट गराउँदा क्षतिग्रस्त बस। तस्बिर : अन्नपूर्ण