व्यावसायिक शिक्षामा प्रतिभा व्यवस्थापन
कामको संसारमा प्रवेशका लागि युवालाई तयार पार्नु तथा प्रभावकारी कार्य सम्पादनका लागि दक्षता प्रदान गर्नु नै शिक्षा हो। शिक्षाले दैनग्दिन कामका लागि आवश्यक पर्ने संज्ञान, सीप तथा मनोवृत्ति र यसको हस्तान्तरण तथा पुस्तान्तरण गर्ने काम गर्दछ। यस आलेखमा शिक्षा प्रदान गर्नका लागि आवश्यक वातावरण तथा दीक्षित युवालाई प्रभावकारी कार्य सम्पादनका लागि निर्धारित आयामहरू तथा मानव संसाधन व्यवस्थापनमा यसको समुचित उपयोगका बारेमा वारेमा चर्चा गरिने छ।
व्यावसायिक शिक्षाको सम्पूर्ण व्यवस्थापन पनि शिक्षाका साधारण विज्ञहरूबाट हुँदै आएको छ। त्यसैले यसको सारमाथि त के रूपमाथि समेत अध्ययन तथा सोहीबमोजिम उपायहरू अवलम्बन गर्ने कार्य हुन सकेको देखिँदैन।
शरीर, दिमाग तथा मन गरी तीनवटा अंग मिलेर पूर्ण मानव बनेजस्तै ज्ञान तथा सीप पनि तीनवटै विधिबाट पूर्ण रूपमा हासिल हुन्छ। जीविकोपार्जन तथा जीवनोपयोगी हरेक सत्य शिक्षा भएकाले शिक्षा तथा सीपमा कुनै विभेद नगरी सबैलाई शिक्षा मान्ने गरिएको छ। ब्लुमको वर्गीकरणअनुसार शिक्षालाई संज्ञानात्मक, मनोकृयात्मक तथा भावात्मक गरी तीनवटा क्षेत्रमा विभाजन गरिएको पाइन्छ। पहिलो वर्ग विशेषगरी दिमागसँग सम्बन्धित भएकाले यसमा स्मरण गर्ने, बुझ्ने, प्रयोगमा ल्याउने, विश्लेषण गर्ने, मूल्यांकन गर्ने र सिर्जना गर्ने छवटा दिमागी कार्य पर्छन्। यी कार्यका गुणस्तरीय वरीयता पनि उल्लेखित क्रममा तलदेखि माथिसम्म पर्छ। दोस्रो वर्गमा भएका अवयवहरू विशेषगरी शरीर तथा इन्द्रियहरूसँग सम्बन्धित भएकाले यसमा नक्कल गर्ने, मिलाउने म्यानीपुलेट गर्ने, दुरुस्त गर्ने, स्पष्टसँग बोल्ने तथा स्वाभाविक रूपमै गर्ने पाँचवटा कार्य पर्छन्। यी कार्यका गुणस्तरीय वरीयता पनि उल्लेखित क्रममा तलदेखि माथिसम्म नै पर्छ।
तेस्रो वर्गमा विशेषगरी मनसँग सम्बन्धित गतिविधि भएकाले यसमा गतिविधिलाई ग्रहण गर्ने, यिनमा प्रतिक्रिया दिने, मूल्यांकन गर्ने र आन्तरिकीकरण गर्नेजस्ता चार कार्य पर्छन्। यी कार्य भावात्मक क्षेत्रभित्र पर्छन्। शिक्षा तथा सीप प्रदान गर्नुभन्दा पहिले व्यक्तिको कुन क्षेत्र बढी प्रभावकारी वा सक्रिय छ, त्यसैका आधारमा उपयुक्त शिक्षा तथा सीप प्रदान गर्नुपर्ने हुन्छ। यसैलाई नै वृत्ति परामर्श भनिन्छ। व्यावसायिक शिक्षामा मनोक्रियात्मक तथा भावात्मक क्षेत्र प्रवल रहने भएकाले यसैको उपयुक्त आँकलन गरी सोहीबमोजिम सीप प्रदान गर्नुपर्ने मनोवैज्ञानिक राय छ। व्यावसायिक शिक्षामा कुनै कामको एउटा सानो स्वतन्त्र हिस्सालाई सीप भनिन्छ। यिनै हिस्साहरूको सम्पूर्ण योगलाई उपभोक्तासम्म पुर्याउने कार्यलाई दक्षता भनिन्छ। कुनै खास कार्य सम्पादन गर्न सक्ने क्षमता सीप हो भने कार्य समूहका सीपलाई सफलतापूर्वक उपयोग गर्ने क्षमतालाई दक्षता भन्ने गरिन्छ। साधारण शिक्षामा उपभोक्तासम्मको पहुँचलाई खासै महŒव दिइँदैन भने उपभोक्तासम्मको पहुँचबिना व्यावसायिक शिक्षा पूर्ण हुँदैन।
व्यावसायिक शिक्षाको सम्पूर्ण व्यवस्थापन पनि शिक्षाका साधारण विज्ञहरूबाट हुँदै आएको छ। त्यसैले यसको सारमाथि त के रूपमाथि समेत अध्ययन तथा सोहीबमोजिम उपायहरू अवलम्बन गर्ने कार्य हुन सकेको देखिँदैन। सबै प्रयास सिकाइमा सीमित भई सम्पादनतर्फ ध्यान दिन खोजेको पाइँदैन। उद्योग व्यवसायले खोजेको कामदार नपाउनु तथा कामदारले उद्योग व्यावसायको आवश्यकताबमोजिम कार्य सम्पादन गर्न नसक्नुमा कामदारको मनोभावना मात्र जिम्मेवार रहेको भन्न सकिने अवस्था छैन। यसो हुन नसक्नुका कारणमा व्यवस्थापनका तर्फबाट दक्षताका आयाममाथि यथेष्ठ ध्यान दिन सकिएको छैन। व्यावसायिक शिक्षामा मुख्य छ पक्ष छन्। पहिलो कार्य सम्पादनका लागि पहिले सिकिएको क्षमता अथवा सीप, दोस्रो उक्त क्षेत्रमा हासिल गरिएका सूचना तथा जानकारीहरू, तेस्रो कार्यस्थल तथा जीविकाबीचको सन्तुलन बनाइराख्ने मूल्य, चौथो कामदारको कामप्रति आत्मविश्वास, पाँचौं कार्य सम्पादनमा सहनशिलता र अन्तमा कामप्रति प्रेरणा पर्छन्। यी सबै विषय उत्प्रेरणाका पक्ष पनि हुन्। यी छ पक्षलाई आइसवर्गको नमुनासँग दाँज्ने गरिन्छ।
सीप तथा ज्ञान आइसवर्गका देखिने भाग हुन् भने नदेखिने तलका अन्य चार भागका बारेमा शैक्षिक संस्थाहरूमा खासै चासो दिएको पाइँदैन। यी देखिने तथा नदेखिने भागहरू समेतको समुचित सम्बोधनका लागि दक्षताका विभिन्न आयामसमेत परिभाषित गरिएका छन्। यिनै आयामलाई पाँच भागमा विभाजन गरिएको छ, कार्य सीप, कार्य व्यवस्थापन सीप, अन्य समस्या समाधान सीप, कार्य वातावरण सीप र हस्तान्तरण सीप। कुनै कामको सम्पूर्ण सम्पादनमा अनेकौं कार्य हुन्छन्। तिनैमध्येको एउटा एकाइको सफल सम्पादन नै सीप सम्पादन आयाम हो। टुक्रा टुक्रा सम्पादन नगरी कुनै पनि कार्य पूरा हँुदैन। यही टुक्रामा पारंगत हुनु पहिलो आयाम हो। पूर्णता नै भौतिक तथा आध्यात्मिक जगत्को सत्य हो। त्यसैले सम्पूर्ण कार्य समूहको कार्य सम्पादन दोस्रो आयाम हो। यही सम्पूर्ण कार्य सम्पादनमा आइपर्ने अनेकौं समस्या समाधान अर्को आयाम हो भने कार्य सम्पादनमा संलग्न कामदार, व्यवस्थापन, उपभोक्ता तथा बजारसँगको समुचित समन्वय अर्को आयाम हो।
अन्तमा यही कार्य सम्पादन क्षमता अर्को कामदार तथा उस्तै उस्तै वातावरणमा समेत गर्न सक्ने क्षमता सीप हस्तान्तरण आयाम हो। फोटोकपी गर्न सक्नु पहिलो आयाम, यसका लागि उपयुक्त कागज तथा क्रियाकलाप दोस्रो आयाम, कागज अड्किने समस्या समाधान गर्न सक्नु तेस्रो आयाम, ग्राहकलाई कपी गरेर दिन सक्नु चौथो आयाम तथा त्यस्तै अर्कै मेसिनमा कपी गर्न सक्नु वा अन्यलाई सिकाउन सक्नु पाँचौं आयाम हो। व्यावसायिक शिक्षामा यी आयामको उच्च स्थान हुने गर्दछ। प्रस्तुत विषयहरू नीतिगत, प्राज्ञिक तथा व्यावस्थापकीय विषय हुन्। माथिको विवरणलाई प्राज्ञिक तथा व्यवस्थापकीय विषयहरू मान्ने हो भने नेपालको व्यावसायिक शिक्षाको अवस्थाबारे सहज अनुमान लगाउन सकिन्छ। व्यवस्थापनका हिसाबले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् तथा शिक्षा मन्त्रालयले माध्यमिक शिक्षाजस्तै गरी यसलाई सञ्चालन गरेको र यो साधारण शिक्षाजस्तै शिक्षक केन्द्रित तथा उपभोक्तासँग देखिने गरी सम्बन्ध नभएको भन्न सकिन्छ।
विद्यार्थीको रुचि, चाहना तथा लगावलाई आँकलन गर्ने र सोहीबमोजिम विषय तथा पेशा सिफारिस गर्ने कार्य त परकै कुरा, यसको आवश्यकताबारे चर्चासम्म सुरु भएको पाइँदैन। बजार तथा उपभोक्ताको कुरा त अहिलेसम्म तारे होटलका प्रायोजित कार्यक्रमहरूमा यदाकदा सुन्न भने पाइन्छ। नेपालको शिक्षा नीति शिक्षालय र यसको व्यवस्थापन तथा शिक्षक कर्मचारीमा कसरी आफ्ना मान्छे भर्ती गर्नेभन्दा अघि बढेको पाइँदैन। प्राज्ञिक वर्ग मणि हराएको सर्पभन्दा परक देखिँदैन। त्यसैले आन्तरिक मानव संसाधन विकास अहिलेसम्म बहसको विषयसमेत भएको छैन। अहिलेको आवश्यकता भनेको विद्यमान प्रणालीलाइ सफलतापूर्वक नेतृत्व प्रदान गर्नेभन्दा पनि माथि छलफल गरिएका विषयहरूको परिवर्तन व्यवस्थापन गर्न सक्ने नेतृत्व स्थापना तथा विकास गर्नु हो।
यसका लागि सोहीबमोजिमको प्रतिभाको खोजी तथा व्यवस्थापन अपरिहार्य भएको छ। यसले वर्तमान अवस्थाबाट माथि प्रस्ताव गरिएको अवस्थामा छलाङपूर्वक अवतरणको सुनिश्चितता गर्न सक्छ। यसमा पनि तीनवटा पक्ष टड्कारो रूपमा देखिन्छन्। दिशानिर्देश, उनीहरूको सुनिश्चित परिचालन तथा उनीहरूको कार्य सम्पादन मापन। पहिलोमा लक्षित उद्देश्यका लागि प्रभावकारी काम गर्न सक्ने व्यक्ति तथा पदाधिकारीलाई प्राधिकारसहित दिशानिर्देश गर्नु। यस्तो व्यवस्थाले कर्मचारीमा कामप्रति लगाव तथा उत्साह सिर्जना हुन्छ। दोस्रोमा उपयुक्त व्यक्तिहरू निर्धारित क्षेत्रमा रहेर काम गर्न सक्ने वातावरण निर्माण गर्नु र अन्तमा उल्लेखित दुवै क्षेत्रमा भइरहेको कार्य सम्पादन मूल्यांकन अथवा मापन। समग्र शैक्षिक प्रशासनमा यस्तो वातावरणको परिकल्पना त परको कुरा नेतृत्वमा समेत यसको सर्वथा अभाव पाइन्छ।