एकहप्ताको अन्तरालमा कोरोनाबाट श्रीमान् श्रीमतीको मृत्यु
झापा : झापा बिर्तामोडका एक दम्पतिको १ हप्ताको अन्तरालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । श्रीमानको निधन भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।
त्यसको एक सातापछि शनिबार उनकी श्रीमती ५६ वर्षीया संगीता बस्नेतको मृत्यु भएको छ । उपचारका क्रममा दिउँसो उनको मृत्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए ।
पहिला श्रीमान गणेशबहादुरलाई संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको उनले जानकारी दिए । गणेशबहादुरलाई काठमाडौं जाँदा संक्रमण पुष्टि भएको उनले बताए । बस्नेत दम्पतिका एकजना छोरा र दुई छोरी छन् । ती सबैजना अष्ट्रेलियामा रहेको जनाइएको छ ।