कति प्यारा दिदीबहिनी

कति प्यारा दिदीबहिनी

चितवन : माउबाट छुट्टिएका दुई गैंडाका बच्चा दिदीबहिनीजस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्किरहेका छन्। एउटाको नाम पुष्पा र अर्कोको अञ्जली राखिएको छ। यी दुईबीचको उमेर अन्तर १५ महिनाको छ। पुष्पाको उमेर १७ महिना र अञ्जलीको उमेर दुई महिना भयो।  यी दुवैका माउ भने अलग–अलग हुन्। यिनका अभिभावक हुन् वन्यजन्तु प्राविधिक लालबहादुर महतरा। महतराले यिनीहरूको स्याहार गर्छन्। 

यी दुई गैंडा बिहानदेखि बेलुकासम्म छुट्टिँदैनन्। एकैछिन एकअर्कालाई नदेखे कराइहाल्छन्। दिउँसो डुल्दा वा चर्दाचर्दै थकाइ लागेर पुष्पा सुत्दा अञ्जली पनि छेउमै गएर सुत्छे। खोलामा नुहाउने, चर्ने, डुल्ने काम सँगै गर्छन्। एउटा जता जान्छ अर्को उतै पछ्याउँछ। 

‘जंगल जाँदा फर्किंदा, आहाल बस्दा, डुल्दा सँगै हुन्छन्’, महतराले भने, ‘यिनीहरूको माया मान्छेको जस्तै छ। दिदीबहिनीजस्तै सँगै खेल्ने डुल्ने गर्छन्। एकछिन छुट्टिँदैनन्।’

महतरा हरेक बिहान ६ बजे दुवै गैंडा बाहिर निस्कन ढोकामा पर्खेर बस्छन्। माउको माया पाउन नसकेका यी दुई गैंडाका बच्चालाई उनले माया दिएका छन्। महतराको आवाजलाई सजिलै ठम्याउँछन्। उनले बोलाएपछि लुरुलुरु पुग्छन्। जंगल डुलाउने, खोलामा पुर्‍याएर नुहाउने काम पनि उनकै हो। पुष्पाको तुलनामा अञ्जली अलि टाठी रहेको उनले सुनाए। भोक लागेपछि सँगै भएको पुष्पालाई छाडेर एक्लै दूध खान जान्छे। पछि फर्किएर आउँछे।

‘ठूलोको तुलनामा सानो अलि टाठो र चतुर छ’, उनले भने, ‘जिस्केर मलाई धकेल्छ। उस्तै परे बुइँ चढ्न आउँछ। यिनीहरूको चर्तिकलाले आनन्द आउँछ।’ जन्मिएको एक सातामै गत पुसमा माउबाट अलग भएपछि पुष्पालाई माघ ३ गते चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने तमासपुरको घना जंगलबाट उद्धार गरिएको हो। अञ्जलीलाई जन्मिएको एक सातामा गत चैत २३ गते चितवन राष्ट्रिय निकुञ्जको कुँजौलीबाट उद्धार गरिएको हो। पुष्पाको खाग उम्रिन थालेको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले प्राकृतिक वासस्थानमा बाँच्न सक्ने भएपछि निकुञ्जमा छोडिने बताए। ‘जंगली अवस्थामै लैजान मान्छेको कम सम्पर्क राखेर पालनपोषण गरेका छौं’, डा. लामिछानेले भने, ‘सकेसम्म प्राकृतिक वातावरणमै छोड्ने हो। सकिएन भने चिडियाखानामा राख्न पनि सकिन्छ। हाम्रो जोड जंगलमै छोड्ने हो।’
पुष्पालाई सुरुमा दूध, फलफूल खुवाइयो। अहिले चर्न थालेकी छे। कुँडो खुवाउन थालिएको छ। अञ्जलीले भने दूध मात्रै खाएकी छ। पुष्पाको संगतले चर्न सिकेकी छे। अब केही दिनमा फलफूल खुवाउन सुरु गरिन्छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.