जब शरीर तातिन्छ, मुटु धड्किन्छ...
इस्ट्रोजेन प्रयोग गरिरहेका महिलाहरूमा हर्मोनका अन्य असरहरू देखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ
गैरसरकारी संस्थामा काम गर्दै गरेकी रजनी तिम्सिना (नाम परिवर्तन) ५४ वर्षकी भएर पनि ३५–३६ वर्षकी देखिन्छिन्। योग र व्यायामले आफूलाई तदुरुस्त राखेको बताउने उनलाई एक वर्षदेखि शरीर पूरै तातिने, खलखल पसिना आउने अनि मुटु धेरै ढुकढुक गर्ने समस्याले सताउन थालेको थियो। सानो केही समस्या भए पनि दिल्लीको मेदान्त अस्पताल पुग्ने रजनी गतवर्षको कोभिड महामारी र लकडाउनले दिल्ली पुग्न सकिनन्।
नेपालका चिकित्सकहरूमा खासै विश्वास त थिएन उनलाई। समस्याले अलिक बढी नै चापेपछि मुटुरोगसम्बन्धी अनुभवी कहलिएका विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न बाध्य भइन्। कार्डियोलोजिस्ट चिकित्सकले मुटुको परीक्षण र इकोकार्डियोग्राफी समेत गरेर मुटुमा खासै समस्या नरहेको ठहर गरे। चिकित्सकले उमेर बढ्दै गएकाले एकपटक स्त्रीरोग विशेषज्ञ चिकित्सकसँग पनि परामर्श गर्न सल्लाह दिए। रजनीले पाँच वर्षअगाडि नै पाठेघर अप्रेसन गरेर फालिसकेकी थिइन्। त्यसैले यौनांगमा कुनै समस्या नरहेकाले स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्न उचित सम्झिनन् र दिल्लीमा गएर परीक्षण नगरेसम्म सञ्चो नहुने रहेछ भन्नेमा ढुक्क भइन्।
कोभिडको पहिलो लहरमा केही सुधार हुनेबित्तिकै उनी दिल्ली नै पुगिन्। त्यहाँको प्रसिद्ध अस्पताल मेदान्तमा पनि कार्डियोलोजिष्ट डाक्टरसँग भेटिन्। नेपालमा गरेको सम्पूर्ण रिपोर्ट देखाइन्। त्यहाँ पुनः सबै परीक्षण (होलबडी चेकअप) नै गरिन्। सो परीक्षण गर्दा उनको रगत (सेरम) मा इस्ट्रोजेन भन्ने हर्मोनको कमी भएको थाहा भयो। अनि उनको स्वास्थ्य समस्याको मुख्य कारण पनि यही हर्मोनको कमी भएको ठहर गर्दै सोको उपचार गर्न उनलाई स्त्रीरोग विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सल्लाह दिँदा उनी झसंग भइन्। उनलाई नेपालकै कार्डियोलोजिष्टले सोही सल्लाह दिँदा पत्यार लागेकै थिएन। दिल्लीमै चिकित्सकको परामर्शमा इस्ट्रोजेन भएको औषधि सुरु गरेकी रजनीले चिकित्सकको सल्लाहबमोजिम पुनः रगतमा इस्ट्रोजेनको मात्रा परीक्षण गर्नुपर्ने र चिकित्सकसँग परामर्श लिनुपर्ने थियो। तर फेरि कोरोनाको दोस्रो लहर र भारतीय उडान बन्दले मेरो सम्पर्कमा आएकी रजनीले आफूलाई स्त्रीरोग विशेषज्ञले दिएका औषधिहरूले धेरै सुधार भएको बताइन्।
सामान्यतः ४५ वर्ष पार गरिसकेपछि महिनावारी सुक्ने हुन्छ। यस अवस्थालाई मेनोपाउज भनिन्छ। मेनोपाउज हुने उमेर सबैमा एउटै हुन्छ भन्न सकिँदैन। मेनोपाउज हुने उमेरमा पनि उनको शारीरिक अवस्था, स्वास्थ्य, पोषण, वंशाणुगत तथा वातावरणीय पक्षको ठूलो भूमिका हुन्छ। कसैकसैलाई पाठेघरमा आएका समस्याहरूका कारण कम उमेरमै पाठेघरको शल्यक्रिया गरेर पाठेघर तथा अण्डाशय फालेको पनि हुनसक्छ। त्यस्ता महिला तथा मेनापाउज भएपछि वा हुने क्रममा इस्ट्रोजेन हर्मोनको कमी हुने हुन्छ। इस्ट्रोजेन हर्मोन अण्डाशयले उत्पादन गर्ने र प्रजनन् स्वास्थ्यमा यसले निकै ठूलो भूमिका खेल्ने हुन्छ। तर यस हर्मोनको काम महिनावारी वा प्रजनन् स्वास्थ्यमा मात्र सीमित हँुदैन। इस्ट्रोजेन हर्मोनले खराब बोसो अर्थात् कोलेस्ट्रोलको मात्रा नियन्त्रण, हड्डी तथा जोर्नीहरूको सुरक्षामा मद्दत गर्ने पनि हुन्छ। यसले मुटु, छाला स्वस्थ्य राख्न सहयोगी हुनुका साथै मानसिक स्वास्थ्य पनि सन्तुलित राख्नमा मद्दत गरेको हुन्छ। उमेर वा अन्य कुनै कारणले यो हर्मोनको कमी हुन गए महिलामा स्वास्थ्यका समस्याहरू देखा पर्न थाल्छन्। यस्ता समस्यालाई मेनोपाउजल सिन्ड्रम भनिन्छ।
महिनावारी सुक्ने अवस्थामा वा सुकेपछि वा जुनसुकै कारणले शरीरमा भएको इस्ट्रोजेनका कमीले यौनांग सुख्खा हुने, शरीर तात्तिएर आउने र पोल्ने (हट फ्लस), धेरै पसिना आउने, राम्ररी निन्द्रा नलाग्ने तथा दिमाग एकाग्र गर्न नसकिने हुनसक्छ। कसैकसैलाई मुटु धेरै ढुकढुक भएको तथा जोर्नी दुख्नेजस्ता समस्याले सताउने गरेको हुन्छ। यी हर्मोन असन्तुलनकै कारण कति महिलालाई मुटुको समस्या आउने, तौल बढ्ने, मधुमेहको राम्रो नियन्त्रण नहुनेसमेत हुनसक्छ। तर यस्ता समस्यालाई वास्ता गरिँदैन। कसैकसैले यस्ता समस्याहरू पाको उमेर वा बुढ्यौलीले आएका हुन् भन्छन् तर प्रजनन् स्वास्थ्य वा अण्डाशय तथा यसका हर्मोनहरूको असन्तुलन होला भनेर बुझ्दैनन्। शरीरमा इस्ट्रोजन हर्मोनको मात्र घटेकै कारणले महिनावारीमा अनियमिता आउने तथा सुक्ने हुन्छ।
४५ वर्ष पार गरिसकेपछि महिनावारी सुक्ने अवस्थालाई मेनोपाउज भनिन्छ। महिनावारी सुक्ने अवस्थामा वा सुकेपछि वा जुनसुकै कारणले शरीरमा भएको इस्ट्रोजेनका कमीले यौनांग सुख्खा हुने, शरीर तात्तिएर आउने र पोल्ने (हट फ्लस), धेरै पसिना आउने, राम्ररी निन्द्रा नलाग्ने तथा दिमाग एकाग्र गर्न नसकिने हुनसक्छ।
हर्मोनको कमीले योनीमार्ग सुख्खा हुने र चिलाउने, यौन चाहना नहुने, मुखमा पनि र्याल कम हुने, छाला सुख्खा हुने र चिलाउने, चाँडै थकाई लाग्ने पनि हुनसक्छ। कसैकसैलाई टाउको दुःख्ने, जिउ दुख्ने, चिडचिडाहटपन बढ्ने, बढी रिस उठ्ने तथा केही डिप्रेसनमा जानेसमेत हुनसक्छ भनी अध्ययनले देखाएको छ। यस अवस्थामा हड्डी तीव्र गतिमा खिइने, जोर्नीका दुखाई बढ्ने गरेको पाइन्छ। यसैको कारणले स्मरण शक्ति अझ कमजोर हँुदै जाने, एकाग्रता नहुने, पिसाब रोक्न नसक्ने तथा पिसाब चुहिने, पाचनशक्ति पनि कमजोर हुने समस्या बढ्ने हुन्छ। विकसित मुलुकहरूमा महिनावारी सुकेपछि वा ५० वर्षपछि नियमित रूपमा रगतमा इस्ट्रोजेन परीक्षण गरिने भए पनि हाम्रो देशमा यस्ता समस्यापछि पनि परीक्षण गर्ने गरिँदैन। पछिल्लो समयमा भारतका विभिन्न सहरमा ‘होल बडी चेक अप’ गरेपछि मात्र यो समस्या पहिचान हुने गरेको पाइन्छ। अनि मात्र महिनावारी सुक्ने भएकाले पो यस्ता समस्या आउने रहेछ भन्ने थाहा पाउने र स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनेहरूको संख्या बढ्दै गएको छ।
उमेर पुगेपछि अण्डाशयमा रहेको ग्राफियन फोलिकल्स सकिँदै जान्छ। त्यसैले एकातिर महिलाहरूको अण्डाशय उत्पादन बन्द हुन्छ र अर्कातिर इस्ट्रोजेन हर्मोनको उत्पादन पनि कम हुन्छ। यो नियमित प्रकृया हो तर सबैलाई एउटै उमेरमा हुन्छ भन्न सकिँदैन। नियमित व्यायाम तथा शरीरको तौलमा सन्तुलन गर्नु, भिटामिन डी र क्याल्सियमयुक्त खाना खानु, पोसिलो, झोलिलो खानेकुरा बढी खानु, फलफूल तथा रेशादार खानेकुरा सेवन गर्नु, धुम्रपान तथा मद्यपान सेवन नगर्नुजस्ता स्वास्थ्यकर बानीले यस्ता समस्याबाट केही टाढा अवस्य गराउने हुन्छ। सोयाबिनमा उच्च मात्रामा फ्याटोस्ट्रोजेन तत्व पाउने भएकाले यसको सेवनले हर्मोनको सन्तुलनमा मद्दत गर्ने र ‘हटफ्लस’ हुनबाट जोगाउने जापानका विज्ञहरूको दाबी छ। त्यसैले सोयाबिन तथा प्रोटिनयुक्त खाना राम्रो मानिन्छ।
महिनावारी सुरु भएपछि उमेर पुगेपछि बन्द हुने निश्चित छ। महिनावारी सुक्यो भन्दैमा वा सुक्ने बेला आयो भन्दैमा आत्तिनुपर्ने केही छैन। आफूलाई स्वास्थ्य राख्न स्वास्थ्यकर बानी अपनाउनु पर्छ। यसका साथै आफूलाई समस्याहरू देखा परेपछि वा महिनावारी सुकेपछि स्त्रीरोग विशेषज्ञसँग परामर्श लिने तथा इस्ट्रोजेनको मात्रा परीक्षण गर्नु उपयुक्त हुन्छ। इस्ट्रोजेनको मात्रा निकै कम भएकाले समस्यामा रहेका महिलाले पनि चिन्ता गर्नुपर्ने अवस्था छैन। हाम्रो देशमा पनि विभिन्न इस्ट्रोजनका डेरिभेटिभ्स तथा इस्ट्रोजन भएका औषधिहरू उपलब्ध रहेकाले सजिलै उपचार सम्भव छ। तर इस्ट्रोजन स्टोराइडल हर्मोन हो, यसका फाइदा र बेफाइदाहरू छन्। विज्ञको परामर्श र अन्य आवश्यक परीक्षणहरू नगरी यसको सेवन गर्नु हँुदैन। इस्ट्रोजेन प्रयोग गरिरहेका महिलाहरूमा हर्मोनका अन्य असरहरू देखिन सक्ने भएकाले यस्ता महिलाले अनिवार्य नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ।
- लेखक प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ हुन्।