झापामा अक्सिजन बैंक स्थापना
झापा : एकका लागि एक अभियान झापाले अक्सिजन बैंक स्थापना गरेको छ । अभियानले अक्सिजनको अभावमा कसैको मृत्यु नहोस् भन्नका लागि अभियानले अक्सिजन बैंक स्थापना गरेको हो ।
बुधबार विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक महेन्द्र गिरीले जेठ १ गतेदेखि अभियानले एक व्यक्ति एक सिलिन्डर अभियान सुरु गरेको बताए । अभियानमा जेठ २६ गतेसम्म एक हजार २९ वटा सिलिन्डर बापतको रकम जम्मा भएको अभियानका संयोजक गिरीले जानकारी दिए ।
अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्न जनस्तरबाट १ करोड ५३ लाख ७५ हजार रुपैयाँ सहयोग जुटाएको छ ।
संयोजक गिरीका अनुसार उक्त अभियानमा देशभित्र र बाहिर बसेका नेपालीले १ सिलिन्डर बराबर १५ हजारका रुपैँयाका दरले सहयोग पनि गरेका छन् । अभियानले हालसम्म ३ सय सिलिन्डर खरिद गरेर ल्याइसकेको र थप २ सय सिलिन्डर ल्याउने तयारी छ ।
संयोजक गिरीले सिलिन्डर खरिद गरेर बाँकी रहेको रकम कोभिड नियन्त्रण कै लागि खर्च गरिने बताएका छन् । सिलिन्डर जिल्लाका अस्पताल, आइसोलेशन सेन्टर र होम आइसोलेसनमा बसेका बिरामीलाई उपलब्ध गराइने छ । अभियानले १ हजार ११ थान सिलिन्डर खरिद गर्ने छ । सिलिन्डर रिफिलका लागि ८ सय रुपैयाँ लिएर सिलिन्डर उपलब्ध गराइने बताएको छ ।
अक्सिजन बैंक उद्घाटन गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले अभियानले सञ्चालनमा ल्याएको अक्सिजन बैंकले जिल्लाको अक्सिजन अभाव पुरा हुन सहयोग पुग्ने जानकारी दिए ।
अक्सिजन बैंक स्थापनामा अन्तर्राष्ट्रिय झापाली समाजले १५ लाख रुपैँया र सहारा नेपालले ५ लाख रुपैँया सहयोग गरेका छन् ।