समाजको नियत र सम्झना–गाजलुको नियति
आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ बाट सूचीकृत र अल्पसंख्यकको सूचीमा परेका आदिवासी÷जनजाति समुदायमध्ये एक हो राउटे। सरकारले प्रकाशित गरेको सूचीकरणअनुसार अल्पसंख्यक र लोपोन्मुख जातिमा पर्ने राउटेहरूको जनसंख्या ६१८ मात्रै रहेको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदनबाट देखिन्छ।
राउटे समुदाय प्रायः जंगलमा बस्छन्। आफूलाई जंगलको राजा ठान्छन्। शिकार र कन्दमूलको भरमा जीवन धान्छन् र फिरन्ते जीवनशैली अपनाउँछन्। राउटे समुदायका युवतीहरू आफ्नो समुदायभन्दा बाहिरका मानिससँग हत्तपत्त बोल्दैनन् र बोले पनि मनको कुरा खोल्दैनन्। आधुनिक समाजले भन्दा छुट्टै जीवनशैली अपनाउने राउटे समुदायको आफ्नो छुट्टै मातृभाषा, आफ्नै परम्परा, रीतिरिवाज, सांस्कृतिक पहिचान र छुट्टै सामाजिक संरचना छ। यति मात्रै होइन, उनीहरूको आफ्नै अलिखित कानुन पनि छ। उनीहरू देशको कानुन चिन्दैनन् र त्यसलाई मान्दैनन् पनि। उनीहरूको समुदायको मुखियाको बोली नै कानुन हो।
त्यसैले उनीहरू देशको कानुनसँग डराउँदैनन्, तर आफ्नो समुदायको मुखियासँग डराउँछन्। मुखियाले जे बोल्छ, त्यही कानुन बन्छ र त्यही कानुन लागू हुन्छ। समुदायका मानिसले त्यही कानुन मान्छन्। त्यो कानुन देशको कानुनभन्दा कठोर छ। जुन कानुनले उनीहरूका मुखियाको दृष्टिमा अपराध गर्नेलाई मृत्युदण्डको सजायसम्म हुनसक्छ। कानुनी राज्यका एकथरी नागरिकले देशको कानुन नमान्ने र आफ्नै कानुन लागू गर्ने यो कस्तो परिपाटी? राज्यले यसलाई कुन रूपमा हेरिरहेको छ ? जिज्ञासा उठ्नु स्वाभाविक लाग्दछ।
पछिल्लो समय सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोती जनैघाटमा बस्दै आएका राउटे समुदायका दुई युवतीमाथि स्थानीय युवाले यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा आएसँगै राउटे महिलाको सुरक्षाप्रति चासो र चिन्ता व्यक्त हुन थालेको छ। यद्यपि कसैले कुनियतले खिचेको भिडियो सामाजिक सञ्जालमा हालेको भिडियो मेट्न अथवा हटाउन पहल गर्नुपर्ने हाम्रो समाजका एकथरी वर्ग त्यसलाई नै हेरेर आनन्द लिन अथवा रमाइलो गर्नमा व्यस्त रह्यो। सम्झना राउटे र गाजलु राउटेलाई वस्तुकरण गरेर रमाइलो गर्ने वस्तुको रूपमा हेर्यो र बुझ्यो यही समाजले। उनीहरूको सोझोपनको अवमूल्यन गरिएको र उनीहरूको इज्जत हरण भएकोमा सामाजिक सञ्जालमा अभ्यस्त वर्गले त्यसलाई रमाइलो किस्साको रूपमा ग्रहण गर्यो। यो दुर्भाग्य हो, सम्झना राउटे र गाजलु राउटेको। अनि हाम्रै सभ्य भनाउँदो समाजको पनि। कसैको इज्जतमा अरू कसैले धावा बोल्नुलाई हाँसो र ठट्टा–रमाइलोको माध्यम बनाउनु सभ्य समाजको स्वभाव हुन सक्दैन, हुनु हुँदैन।
सम्झना राउटे र गाजलु राउटे चिनजानको र आफूले विश्वास गरेको मान्छेसित समाजसम्म आइपुग्नु भनेको राउटेहरू पनि समाजसँग नजिकिन खोज्दैछन् भन्ने हो। तर उनीहरूको विश्वासमाथि घात गरियो, धोका दिइयो। उनीहरूको विश्वास र उनीहरूको सोझोपनको फाइदा उठाउन खोजे केही यु्वकले। उनीहरूलाई यस्तो महसुस गराइयो कि सभ्य समाज झनै खतरनाक र हिंस्रक हुँदोरहेछ, जंगलका असभ्य र हिंस्रक जनावरभन्दा पनि बढी। इतिहासको लामो कालखण्डपछि जंगलबाट सभ्य समाजमा प्रवेश गर्न खोजेको एउटा जाति, एउटा समुदायलाई पुनः जंगलमै फर्काउने र जंगलीजस्तै बनाइराख्ने प्रपञ्चको रूपमा लिन सकिन्छ यो गुर्भाकोट घटनालाई।
सम्झना राउटे र गाजलु राउटेमाथि भएको यौन दुर्व्यवहार अत्यन्तै निन्दनीय छ र दण्डनीय छ। सामाजिक न्याय र अधिकारको पक्षमा दृढ वकालत गर्न नसक्ने यस्ता वर्गमाथि भएको निकृष्ट र निन्दनीय कार्यका दोषीलाई हदैसम्म दण्डित गर्नुपर्छ।
अहिलेसम्म राज्यको पनि उपेक्षामा परेका वर्ग हुन् राउटे र अन्य अल्पसंख्यक जाति वा समुदायहरू। समाजभित्रै रहेका अल्पसंख्यकहरू समाज र राज्यबाट उपेक्षित छन् भने समाजभन्दा बाहिर जंगलमा फिरन्ते जीवन बिताउने राउटेहरू समाजको नजिक आउनु खुसीको कुरा हुनुपर्ने हो। राज्यले खोजी गरेर र तिनको संरक्षण गरी समाजसँग घुलमिल गराई तिनलाई पनि सभ्य र सामाजिक मानव बनाउने कार्य यही समाज र राज्यको दायित्व हो। राउटेहरू स्वयं समाजसँग नजिकिन खोज्दा समाजले उनीहरूलाई सभ्य र सुसंस्कृत बन्ने अवसर प्रदान गर्नुको सट्टा उनीहरूको जीवनलाई अवमूल्यन गर्ने, घात गर्ने र अनेकथरी प्रपञ्च रच्ने हो भने यो जाति सधैं जंगली अवस्थामै रहने वा लोप भएर जाने खतरा छ। देशको एउटा जाति वा समुदाय लोप हुनु भनेको हाम्रो मानव सभ्यता र सम्पदाको पनि अपूरणीय क्षति हो।
यसो त देशको संविधानले नै प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक प्रदान गरेको छ। प्रश्न उठ्छ, के राउटेहरूले त्यो हक पाएका छन् ? फेरि संविधानले नै सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् पनि भनेको छ। फेरि प्रश्न उठ्छ, के सम्झना राउटे र गाजलु राउटेले समाजमा समानतापूर्वक बाँच्न पाएका छन् ? अनि संविधानले नै लोपोन्मुख र अल्पसंख्यकलाई पनि समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ भनेर सामाजिक न्यायको हक प्रदान गरेको छ। तर खोई ती लोपोन्मुख र अल्पसंख्यक राउटेहरूले राज्यको निकायमा सहभागिताको हक पाएको ? समाजसम्म आउँदा पनि उनीहरूका विरुद्ध अनेक प्रपञ्च र षडयन्त्र रच्ने समाजले उनीहरूलाई त्यो हक देला ?
संविधानमै आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुनेछ भनिए पनि तिनीहरू यी अवसरबाट सधैं वञ्चित रहँदै आएका छन्। आफ्नो जायजेथा र जीविकाका लागि नियमित आयको स्रोतसमेत नभएका राउटेजस्तै अन्य धेरै लोपोन्मुख र अल्पसंख्यक जाति वा समुदायलाई राज्यले निश्चित सामाजिक सुरक्षा भत्ताबाहेक जीविकाका अरू आधार पनि प्रदान गर्न सकेको छैन। आगामी आर्थिक वर्षमा ७३ जिल्लाका अति विपन्न, लोपोन्मुख र सीमान्तकृत वर्गका २१ हजार ८ सय परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन घर यसै वर्ष सम्पन्न गरी हस्तान्तरण गरिनेछ भनिएको छ। के राउटे समुदाय यो सुविधाबाट लाभान्वित होलान् ?
मुलुकमा समाजसेवा, सामाजिक चेतना अभिवृद्धि र सामाजिक सुधारका उद्देश्यले स्थापित हजारौंका संख्यामा गैरसरकारी संघसंस्थाहरू छन्। तर तिनले अझैसम्म राउटे समुदायमा सामाजिक चेतना फैलाउन नसक्नु र तिनलाई शिक्षाको उज्यालोबाट सामाजिक जीवनको सभ्य र सहज बाटोमा हिँड्न प्रेरित गर्न नसक्नु दुर्भाग्य नै हो। एउटा लोपोन्मुख र अल्पसंख्यक समुदायलाई सामाजिक परिवर्तनको बाटोमा डोयाउन नसक्नु गैरसरकारी संघसंस्थाको मात्र होइन राज्यकै पनि कमजोरी हो। राज्य जिम्मेवार र संवेदनशील भएर राउटेजस्तै अन्य लोपोन्मुख र अल्पसंख्यकहरूको सामाजिक सुरक्षा र उनीहरूको सामाजिक परिवर्तनमा लागेको भए सम्झना र गाजलुजस्ता सोझासिधा नागरिक यौनहिंसा र सामाजिक शोषणको शिकार हुनुपर्ने थिएन।
दलितलाई दबाउन र निरीहलाई निचोर्न निरन्तर उद्यत छ हाम्रो समाज। निरीह मानिसलाई जे गर्न पनि पाइन्छ र जे गर्न पनि सकिन्छ भन्ने आपराधिक मानसिकताबाट ग्रस्त छ हाम्रो समाज। यही मानसिकताको शिकार भएका हुन् सम्झना राउटे र गाजलु राउटे। हाम्रो समाजको सोच र नियत नै खराब छ। यस्तै खराब सोच र नियतका कारण कहिले नवराज विकहरू त कहिले सम्झना राउटे र गाजलु राउटेहरूको नियति दोहोरिरहन्छ यही समाजमा। समाजको नियत नबदलिएसम्म निरीह मानिसको नियति बदलिँदैन।
सम्झना राउटे र गाजलु राउटेमाथि भएको यौन दुर्व्यवहार अत्यन्तै निन्दनीय छ र दण्डनीय छ। सामाजिक न्याय र अधिकारको पक्षमा दृढ वकालत गर्न नसक्ने यस्ता वर्गमाथि भएको निकृष्ट र निन्दनीय कार्यका दोषीलाई हदैसम्म दण्डित गर्नुपर्छ। राउटेजस्तै देशको सामाजिक संरचनामा पिँधमा परेका अरू सबै वर्गको पीडा र क्रन्दनलाई राज्यले सुन्नुपर्छ। तिनका पक्षमा समाज बोल्नुपर्छ र न्याय दिलाउनुपर्छ। राज्यले पनि यी निरीह नागरिक आफ्नो हक, अधिकार र न्यायबाट बञ्चित नहोऊन् भन्ने ध्येयले काम गर्नुपर्छ।