लेटेसेनबेटको विश्व कीर्तिमान
हेङ्गेलो : एथलेटिक्सको महिला १० हजार मिटर दौडमा इथोपियन धाविका लेटेसेनबेट गिडेले विश्व कीर्तिमान बनाएकी छन्। ओलम्पिक ट्रायलअन्तर्गत नेदरल्यान्ड्सको हेन्गेलोमा मंगलबार भएको दौडमा उनले २९ मिनेट ०१.०३ सेकेन्डको समयमा निर्धारित दूरी पार गर्दै नयाँ विश्व कीर्तिमान बनाएकी हुन्।
दुई दिनअघि नेदरल्यान्ड्सकी सिफान असनले बनाएको कीर्तिमान लेटेसेनबेट तोडेकी हुन्। सिफानले आइतबार त्यही ट्र्याकमा २९ मिनेट ०६.८२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्। सिफानले इथोपियाकी अल्माज अयानाको कीर्तिमान भंग गरेकी थिइन्। दुई दिनको अन्तरालमा दुई कीर्तिमान भंग भएका छन्।
२३ वर्षीय लेटेसेनबेटेले विश्व कीर्तिमान बनाउने लक्ष्य लिएरै दौडिएका कारण ऐतिहासिक सफलता हासिल गर्न सकेको बताइन्। ‘म विश्व कीर्तिमानको लक्ष्य लिएर नै दौडिएको थिएँ। त्यसमा म सफल पनि भएँ’, उनले भनिन्, ‘अब फेरि आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउन चाहन्छु। जुन २९ मिनेटको कीर्तिमान बन्नेछ।’
उनी इनग्रिड क्रिस्टिएनसेनपछि पाँच हजार र १० हजार मिटरमा विश्व कीर्तिमान बनाउने पहिलो महिला खेलाडी पनि हुन्। नर्वेकी क्रिस्टिएनसेनले १९८६ देखि १९९३ सम्मको बीचमा उक्त कीर्तिमान बनाएकी थिइन्।
लेटेसेनबेटको नाममा पाँच हजार मिटरको दौडमा समेत कीर्तिमान छ। उनले गत वर्ष स्पेनको भ्यालेन्सियामा पाँच हजार मिटर दौड १४ मिनेट ०६.६२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन्। उनले सन् २०१९ मा दोहामा भएको वल्र्ड च्याम्पियसिपमा भने रजत जितेकी थिइन्। त्यसअघि उनले सन् २०१५ र २०१७ मा यू–२० क्रस कन्ट्रीको विजेता खेलाडी पनि हुन्।