सेनामा नेतृत्व हस्तानान्तरणको हार्दिक संस्कार

सेनामा नेतृत्व हस्तानान्तरणको हार्दिक संस्कार

तीन महिनाअघि नै नेतृत्व हस्तानान्तरणलाई स्वभाविक र सहज प्रक्रियाका रुपमा थालनी गरेर सेनापतिले राम्रो परम्परा बसाउने प्रयास गरेका छन्।


अवकास हुनुभन्दा तीन महिनाअघि नै नेतृत्व हस्तानान्तरणलाई स्वभाविक र सहज प्रक्रियाका रुपमा थालनी गरेर सेनापति पूर्णचन्द्र थापाले राम्रो परम्परा बसाउने कोसिस गरेका छन्। गत जेठ २३ गते जंगीअड्डामा पत्रकार सम्मेलन गरेर सेनापति थापाले सेनाको नेतृत्व हस्तानान्तरण प्रक्रिया सुरु भइसकेको घोषणा गरेका हुन्। मुलुकमा संक्रमण गहिरिँदै गएको र सत्ताको तीव्र दाउपेच चलिरहेका बेला सेनापतिको यो घोषणालाई अर्थपूर्ण मान्‍न सकिन्छ। झन्डै तीन महिनाअघि नै सेनापतिले पत्रकार सम्मेलन गरेर नेतृत्व हस्तानान्तरण प्रक्रिया सुरु भएको घोषणा गर्नुपर्ने अवस्था किन आयो ? यो प्रश्‍नसँग घरेलु राजनीतिक परिवेश मात्रै होइन, भूराजनीति समेत जोडेर चर्चा गर्ने प्रयास पनि गरिएको छ।

प्रधानसेनापति थापाको तीनवर्षे कार्यकाल आगामी भदौ २४ गते सकिँदै छ। एक महिनाअघि विदामा बस्‍ने प्रचलनअनुसार उनी साउन १५  देखि विदामा बस्दैछन्। थापाको अवकासपछि भदौ २५ गतेबाट अहिलेका बलाधिकृत रथी दोस्रो वरीयताका प्रभुराम शर्माले नयाँ सेनापतिको रुपमा नेतृत्व लिनेछन्। सैनिक ऐन संशोधन गरी पदावधि लम्बाउन चाहेको भनी चलाइएको हल्लालाई सेनापतिले समयमै गलत साबित गरिदिएका छन्। राजनीतिक संक्रमण  र सत्ताको दाउपेचले सेनाको स्थापित परम्परा र प्रक्रिया  प्रभावित नहुने र सहज रुपमा नेतृत्व हस्तानान्तरण हुने सन्देश सेनापतिले दिएका छन्। यो मामिलामा कुनै प्रकारको घरेलु वा वाह्‍य चलखेल वा हस्तक्षेप  स्वीकार्य नहुने महत्वपूर्ण सन्देश पनि सेनापतिले यो घोषणामार्फत दिन खोजेको देखिन्छ।

पदमा पुगेपछि छोड्न निकै सकस हुने एउटा बिचित्रको रोगबाट हाम्रो समाज अनि राजनीति ग्रसित छ। कानुनअनुसार निर्धारित कार्यकाल सकिएपछि पनि कुर्सी छोड्न नचाहने, पदावधि लब्याउन अनेक दौडधूप एवं चलखेल गर्ने, स्वभाविक रोलक्रमलाई भत्काउन वा स्वभाविक उत्तराधिकारीलाई पन्छाउन खोज्‍ने प्रवृत्ति हावी भएको छ। सेनापतिको यो प्रयास  त्यस्तो पदलोलुप संस्कृति विरुद्ध सरानीय अनि साहसिक सुरुवात हो। कुर्सीको चक्करमा अल्झिएको हाम्रो राजनीतिक वृत्तका लागि पनि यो एउटा प्रतिकात्मक सन्देश  हुनसक्छ।

जब सेनापतिको म्याद सकिने बेला हुन्थ्यो, बजारमा म्याद थप्‍ने वा लम्ब्याउने अनेक हल्ला र चर्चा चल्न थाल्थ्यो। अहिले मात्र होइन, प्राय: हरेक सेनापतिको अवकासको संघारमा यस्तो हल्ला चल्‍ने गरेको छ।  जंगीअड्डाभित्र वास्तविकता त्यस्तो भए नभए पनि बाहिर आशंका र अनुमानको बादल मडारिन्थ्यो। त्यही हल्ला र अनुमानबीच विभिन्‍न कुनाबाट चलखेलको प्रयास पनि हुन्थ्यो। स्वभाविक रोलक्रममा रहेका भावी सेनापतिसमेत यस्ता बजार हल्लाले त्रासमा बस्‍नुपर्ने अनि विदा हुन लागेका सेनापति पनि अनावश्यक रुपमा संशयले घेरिनुपर्ने अवस्था हुन्थ्यो। यस्ता हल्ला र हर्कतले विदा हुने र नेतृत्व समाल्‍ने नयाँ सेनापतिबीच जुन हार्दिकता हुनुपर्थ्यो,  विगतमा कहिलेकाँही त्यसको अभाव पनि खट्कियो। चलखेलका सबै संभावना र शंकाको वातावरणलाई अन्त्य गर्दै यसपालि सेनापतिले तीन महिनाअघि नै नेतृत्व हस्‍तानान्तरणको प्रक्रिया सुरु गरेर एउटा गतिलो संस्कार बसाएका छन्। यसअघि यति सहज र हार्दिक रुपमा यो प्रक्रिया भएको थिएन।

पदमा पुगेपछि छोड्न निकै सकस हुने एउटा विचित्रको रोगबाट हाम्रो समाज अनि राजनीति ग्रसित छ। कार्यकाल सकिएपछि पनि कुर्सी छोड्न नचाहने, पदावधि लब्याउन अनेक चलखेल गर्ने, स्वभाविक रोलक्रमलाई भत्काउन खोज्ने प्रवृत्ति हावी भएको छ। सेनापतिको यो प्रयास त्यस्तो पदलोलुप संस्कृतिविरुद्ध सरानीय अनि साहसिक सुरुवात हो।

नेतृत्व हस्‍तानान्तरणको यस्तो हार्दिक र सहज परम्पराले नयाँ नेतृत्वको मनोबललाई उच्च बनाउने मात्र होइन, समग्र सेनाको चेन अफ कमाण्डलाई मजबूद बनाउनसमेत मद्दत पुग्‍ने विश्‍वास गरिएको छ। यस्तो अवस्थामा विदा भएर जाने सेनापतिप्रतिको संस्थागत सम्मान र सम्बन्धमा कुनै कमी हुने छैन। बाहलवालाले केही गडबड गर्छन् कि भनेर 'हुनेवाला' पिरोलिनुपर्ने अनि बाहलवालालाई पनि केही भइहाल्छ कि भन्‍ने लोभ एवं महत्वकांक्षाले कुतकुताउने अवस्था अब अन्त्य भएको छ।

सालिन व्यक्तित्व र स्वच्छ छविका थापाको तीन वर्षे कार्यकाल खासै विवादमा परेन। हरेक सेनापति पुरानै सेटिङ र यथास्थितिमा रमाउने जुन परम्परा थियो, त्यसलाई उनले ब्रेक गर्ने कोसिस गरेका छन्। यथास्थितिलाई भत्काउने साहसिक सुरुवात उनले गरे। यो प्रयासमा उनले केही  अप्ठ्यारो र भित्रैबाट अपजस पनि सामना गर्नुपर्‍यो। सम्मान तथा सानका खातिर घरघरमा अनावश्यक रुपमा सिपाही राख्‍ने वा अनुत्पादक  क्षेत्रमा जनशक्ति खटाउने परम्परालाई उनले कडाइका साथ निरुत्साहन गरे। त्यसैले यथास्थितिमा रमाउन चाहनेहरू उनीसँग अलिकति बेखुसी पनि भए।

नेतृत्व सामालेको एक वर्षपछि जंगीअड्डामा सकल दर्जालाई सम्बोधन गर्दै उनले दिएको २५ पृष्ठ लामो वक्तव्य चर्चित भएको थियो। सेनाभित्र रहेका परम्परागत कमजोरी र विकृतिलाई केलाउँदै सेनापति थापा आन्तरिक सुधार र शुद्धीकरणका लागि निकै मार्मिक र कठोर ढंगले प्रस्तुत भएका थिए। परम्पराको आडमा यथास्थितिमा रमाउने सेनाभित्रको ‘सुविधाभोगी प्रवृत्ति’माथि उनले निकै कडा प्रहार गरेका गरेका थिए। फौजी संगठनको कमान्डरले आफ्नो संगठनभित्रका कमजोरी, विकृति र चुनौतीबारे सार्वजनिक स्वीकारोक्तिसहित यति निर्मम ढंगले चिरफार गरेको त्यो पहिलो घटना थियो। संगठनभित्रका कमजोरी तथा विकृती कोट्याएर वा बाहिर ल्याएर व्यक्तिगत रुपमा हिरो बन्‍न खोजेको वा भावनामा बग्‍न खोजेको आरोप पनि उनीमाथि लाग्यो। तर उनी आफ्नो मिसनमा विचलित भएनन्।

'सद्दे हाकिम' बनेर आरामले जागिर खाने सजिलो बाटो उनले रोजेनन्। बरु  छुच्चो अनि कठोर कमान्डर बनेर संगठनको भविष्य र जीवन सुदृढ गर्ने कोसिस उनले गरेका छन्। तीन वर्षको यात्रामा थापाको सक्रियता हाकिमहरूलाई खुसी पार्ने भन्दा फिल्डमा खटिएका सिपाहीको मनोबल बढाउने र उनीहरूको जीवनस्तर उकास्‍नेतिर केन्द्रित देखिन्छ। आन्तरिक सुशासन र पारदर्शिताका लागि उनको कार्यकाल उदाहरणीय नै रह्यो। सुरक्षा संवदेनशीलताको खोल ओढेर पारदर्शिता र जवाफदेहिताबाट पन्छिन वा भाग्‍न खोज्‍ने प्रवृत्तिको उनले अन्त्य गर्ने कोसिस गरेका छन्। भ्रष्टाचार तथा अनुचित कार्यको अभियोगमा उनको पालमा सबैभन्दा बढी संख्यामा सैनिकहरू दण्डित भएका छन् र कारबाहीमा परेका छन्। भ्रष्टाचार तथा अनुशासनहिनताविरुद्ध उनी शून्य सहनशिलताको नीतिअनुसार खरो रुपमा उत्रे।  सेनामा जे गर्दा पनि छुट हुन्छ, दण्ड हुँदैन भन्‍ने जुन आमधारणा थियो, त्यसलाई बदल्‍ने प्रयास उनले गरेका छन्। बद्‌मासी गर्नेहरू दण्डित हुन्छन् र सेनाभित्र दण्डहीनता छैन भन्‍ने सन्देश दिन उनी सफल भएका छन्।

संरचागत हिसाबले पनि उनको नेतृत्वमा सुधारका थुप्रै काम भएका छन्। प्रशासनिक संरचना तथा राजनीतिक परिवर्तनका आधारमा तयार गरिएको सेनाको परम्परागत संरचनालाई परिवर्तन गरी तीन जोर एक अर्थात् थ्री प्लस वान को नयाँ ढाँचामा अघि बढाइएको छ। रणनीतिक र विकासको हिसाबमा सेनालाई नदीको बेसिनको आधारमा पूर्व कमान्ड, मध्य कमान्ड र पश्चिम कमान्ड तथा केन्द्रमा रणनीतिक हिसाबमा उपत्यका कमान्ड संरचनामा ढालिएको छ। पूर्वमा कोसी नदीको आधारमा पूर्वी कमान्ड, मध्यमा गण्डकी नदीको आधारमा गण्डकी कमान्ड र पश्चिममा कर्णाली नदीको आधारमा कर्णाली कमान्ड राखिएको हो। सेनामा यसअघि ७ प्रदेशमा ७ पृतना र एउटा उपत्यकामा पृतना गरी ८ पृतना थियो। सेनाको आन्तरिक जीवनमा यो महत्वपूर्ण रुपान्तरण हो।

भारत र नेपालबीच राजनीतिक तहमा तनाव र तिक्तता बढेर सम्बन्ध चिसो हुँदा पनि दुई देशबीचको सैन्य सम्बन्ध खासै प्रभावित भएन। राजनीतिक तहमा सम्बन्ध असहज हुँदा पनि सैन्य कुटनीतिमार्फत सम्बन्ध थप बिग्रिन नदिन सेनापतिको तहबाट भएको पहल महत्वपूर्ण छ। सिमा विवादको दिगो समाधान, सीमा सुरक्षा  र नाकाहरूको वैज्ञानिक नियमनका विषयमा  भारतीय सेनाप्रमुखसँग सेनापति थापाले राखेको अडान र स्पस्ट दृष्टिकोणले कुटनीतिक वृत्तमा पनि तरंग आएको थियो। दुवै छिमेकी भारत र चीनसँग मात्र होइन, अन्य शक्ति राष्ट्रहरूसँग पनि आफ्नो राष्ट्रिय सुरक्षाको स्वार्थ एवं प्राथमिकतालाई ख्याल गर्दै सैन्य कुटनीति विस्तार गर्ने दिशामा उनको कार्यकाल सार्थक देखिएको छ।

अन्य सुरक्षा निकायसँगको सम्बन्ध र सहकार्य पनि तुलानात्मक रुपमा थापाको कार्यकालमा हार्दिक देखियो। सुरक्षा निकायका अन्य प्रमुखहरूलाई पनि समकक्षीकै स्तरमा सम्बोधन र सम्मानभाव देखाएर सहकार्यको नयाँ संस्कार पनि उनले सुरु गरे। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कार्यलयमा आफै पुगेर थापाले त्यहाँका प्रमुखसँग सहकार्यका संभावनाबारे छलफल पनि गरे। पहिले यस्तो चलन थिएन। खुट्टा तानातानको प्रवृत्ति तथा शंकाको सम्बन्धलाई अन्त्य गर्दै उनले सुरक्षा निकायमा फरक खालको वातावरण र हार्दिकता विकास गर्ने कोसिस गरेको पाइन्छ।  

जबजब राजनीतिक संक्रमणले जटिल मोड लिन्छ, सेनासँग जोडेर बजारमा अनेक हल्ला र चर्चा चलाउने गरिन्छ। सत्तामा रहनेले सेनालाई खुसी तुल्याएर आफू बलियो भएको मनोवैज्ञानिक सन्देश दिने  गरेको पाइन्छ। राजनीतिक भ्याकुममा सेनाको भूमिकालाई आन्तरिक रुपमा मात्र होइन,  बाहिरबाट पनि निकै चासोका साथ हेरिएको हुन्छ। संसद विघटन भएको, दलहरू अलोकप्रिय र बद्‌नाम भएको, सरकारी संयन्‍त्रहरू कमजोर भएको र नागरिकमा पनि निरासा बढेको अवस्थामा राज्यको सबैभन्दा 'इनट्याक्ट' संस्था सेनाको भूमिकालाई भरोसा र भय दुवै आँखाबाट हेरिएको हुन्छ।

यो बीचको राजनीतिक भ्याकुम र दलहरूबीचको तीव्र ध्रुवीकरणमा सेनालाई पनि विवादमा तान्‍ने कोसिस विभिन्‍न कुना र कोणबाट नभएको होइन। तर त्यस्ता प्रयत्‍नबाट सेनालाई जोगाउने र टाढा राख्‍न काम सेनापतिले गरे। जटिल संक्रमण र राजनीतिक दाउपेचमा पनि सेना र सेनापतिको भूमिका विवादमुक्त नै देखियो र कतैबाट पनि प्रश्‍न उठेन। राजनीतिक अस्थिरता र संक्रमण मौका छोप्‍ने कुनै महत्वकांक्षा सैनिक नेतृत्वबाट देखिएन। घरेलु वा बाहिरबाट हुनसक्‍ने कुनै प्रकारको राजनीतिक वा अन्य प्रकारको हस्तक्षेप वा चलखेल (माइक्रोम्यानेजमेन्ट) सेनालाई मान्य हुँदैन भन्‍ने स्पस्ट सन्देश सेनापति थापाले आफ्नो कार्यकालको प्रारम्भमै दिएका थिए।  

अहिले मुलुकमा जुन खालको राजनीतिक भ्याकुम र सत्ताको दाउपेच छ, चलखेल गर्न चाहने लागि यो अनुकुल मौसम हो।  तर सेनापतिमा त्यो चाहना बिलकुल देखिएन। यस्तो बेला बहालवालाको पदावधि थपेर वा लम्बाएर सेनालाई आफ्नो हातमा लिन कुनै कुनाबाट 'अफर' नआउँला भन्‍न सकिँदैन।  सेनापतिको पदावधि लम्बाएर सेनालाई राजनीति प्रभावमा राख्‍ने र सत्ता सुरक्षाको कबजका रुपमा सेनालाई अघि सार्ने जुन चलखेल विभिन्‍न कुनाबाट भइरहेको थियो,  सेनापति थापाले समयमै त्यसलाई निस्तेज तुल्याइदिएका छन्।  यी सबै आशंका र अनुमानको बादललाई चिर्दै सेनापतिले समयमै नेतृत्व हस्तानान्तरणको प्रकिया सुरु गरेका छन्। सेनालाई प्रभावित गर्न राजनीतिक तथा भूराजनीतिक हिसाबले हुनसक्‍ने सबै प्रकारका चलखेलको संभावना पनि सेनापतिको यो कदमले अब अन्त्य भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.