गोर्खा वेलफेयरको करिब ४३ लाखको स्वास्थ्य उपकरण सहयोग
उदयपुर : कोभिड–१९ का बिरामीलाई लक्षित गरी भुतपूर्व व्रिटिस आर्मीहरुको संस्था गोर्खा वेलफेयरले उदयपुरका अस्पताललाई करिब ४३ लाख बराबरको स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएको छ ।
संस्थाले बिरामीको उपचारमा सहजता पुर्याउने उदेश्यले अक्सिजन कन्सनट्रेटर (विद्युतबाट अक्सिजन उप्पादन गर्ने मेसिन), पल्सअक्सिमिटर (औंलाबाट अक्सिजनको मात्रा थाहा पाउने मेसिन) र पीपीई किट उपलब्ध गराएको हो ।
शुक्रबार संस्थाका क्षेत्रीय कार्यालय प्रमुख पुर्णप्रसाद लिम्बूले जिल्लाका चारवटै अस्पतालका प्रमुखलाई ४२ लाख ९७ हजार तीन सय ९० रुपैयाँको स्वास्थ्य उपकरण उपलब्ध गराएका हुन् । लिम्बूका अनुसार त्रियुगा नगरपालिका १० स्थित मदनभण्डारी आँखा अस्पतालको आइसोलेसन सेन्टरमा ७ लाख १४ हजार १ सय ६०, बेलका नगरपालिकामा ८ लाख ४८ हजार ६ सय ३० रुपैयाँको सामग्री हस्तान्तरण गरिएको हो ।
त्यसैगरी चौदण्डिगढी नगरपालिकामा रहेको उदयपुर कोभिड अस्पतालमा १३ लाख ७६ हजार ३ सय ४० र कटारी नगरपालिकामा रहेको अस्पताललाई १३ लाख ५८ हजार २ सय ६० मुल्यको सामग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामग्री बुझ्दै मदन भण्डारी आँखा अस्पताल आइसोलेसन सेन्टरका अध्यक्ष भागवत राउतले मानवीय सम्वेनशिलता बुझी जीवन रक्षाका लागि गरिएको सहयोग सधैका लागि स्मरणीय रहने बताए ।
उनले अक्सिजन र औषधि उपचार नपाएर जीवनमरणको अवस्थामा पुगेका बिरामीलाई यस्ता सामग्रीले उपचारमा सहज पुग्ने बताए । सोही अवसरमा बोल्दै संस्थाका क्षेत्रीय प्रमुख लिम्वुले देशभरका ६३ वटा अस्पताललाई ९ करोड बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको बताए ।
उनले प्रदेश नम्बर १ का २३ वटा अस्पतालमा उपलब्ध गराएकोमध्ये सबैभन्दा बढी उदयपुरलाई उपलब्ध गराएको बताए । संस्थाले उदयपुर कोभिड अस्पताल र कटारी अस्पताललाई १० लाख ७३ हजार मुल्यको ५/५ वटा अक्सिजन कन्सनट्रेटर, ३० वटा पल्सअक्सिमिटर, २ सय वटा पिपिई किट, कटारी अस्पताललाई २० वटा पल्सअक्सिमिटर र २ सय वटा पीपीई किट उपलब्ध गराएको छ ।
त्यसैगरी बेलका अस्पतालमा ६ लाख ६४ हजार १ सय बराबरको ३ वटा अक्सिजन कन्सनट्रेटर, १० वटा पल्सअक्सिमिटर र १ सय ५० वटा पीपीई किट र मदन भण्डारीमा ४ लाख २९ हजार ४ सय बराबरको २ वटा अक्सिजन कन्सनट्रेटर, २० वटा अक्सामिटर र २ सय वटा पीपीई किट उपलब्ध गराएको उनले जानकारी दिए ।