कोरोनाको दोस्रो लहर : पाँचथरमा १० पुरुषको निधन
फिदिम : दोस्रो चरणको कोरोना महामारीबाट फिदिम नगरपालिकाका पाँचसहित पाँचथरका १० जनाको निधन भएको छ । जनप्रतिनिधि, पत्रकार र शिक्षकसहित १० जना पुरुषको निधन भएको हो ।
पछिल्लो २४ घण्टाको अन्तरालमा फिदिम नगरपालिकाका चारजना पुरुषले कोरोना संक्रमणका कारण ज्यान गुमाए । शुक्रबार दुई जना पुरुषको निधन भएको हो भने दुई जनाको बिहीबार निधन भएको थियो ।
फिदिम ८ का ८१ वर्षीय वृद्ध र ५३ वर्षीय पुरुषको शुक्रबार निधन भएको हो । ८१ वर्षीय वृद्धको बिहीबार एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । पाँचथर अस्पतालमा उपचार गराइरहेका उनलाई शुक्रबार अस्पतालले मृत घोषणा गरेको हो ।
५३ वर्षीय पुरुषमा २४ गते कोरोना पुष्टि भएको थियो । उनको स्वास्थ्यमा जटिलता थपिएपछि थप उपचारका लागि झापाको बिर्तासीटी लगिएको थियो । शुक्रबार अस्पतालमै उलाई मृत घोषणा गरिएको बताइएको छ ।
फिदिम ४ जोरसालका ६४ बर्षीय पुरुषलाई बिहीबार उपचारमा झापा लैजाँदै गर्दा इलाममा पुगेपछि उनको निधन भयो । उनलाई इलाम अस्पतालले मृत घोषणा गरेको थियो ।
फिदिम २ का ३० वर्षीय पुरुषको पनि बिहीबार निधन भएको हो । केही दिन पाँचथर अस्पतालमा उपचार गराउँदा अक्सिजनको मात्रा सुधार देखिएपछि उनी होम आइसोलेसनमा थिए । होम आइसोलेसनमा रहेका युवकको बिहीबार घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
यसअघि हिलिहाङ गाँउपालिकाका दुई, फिदिम नगरपालिका, फालेलुङ, कुम्मायक र फाल्गुनन्द गाउँपालिकामा स्थायी घर भएका एक/एक गरी जम्मा सात पुरुषको ज्यान गएको थियो ।
बिहीबार र शुक्रबार फिदिमका चार पुरुषले ज्यान गुमाएसँगै फिदिमका पाँच पुरुषसहित पाँचथरमा १० जनाले ज्यान गुमाइसकेका छन् । सुरुमा फालेलुङ गाँउपालिका २ का ६० बर्षीय पुरुषको निधन भएको थियो । उनको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा निधन भएको हो । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।
त्यस्तै गरी फिदिम बजारमा होटल व्यवसाय गर्दै आएका कुम्मायक गाँउपालिकाका ४५ बर्षीय पुरुषले पनि कोरोनाका कारण ज्यान गुमाए । उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि झापा लैजाने क्रममा बाटोमै निधन भएको जिल्ला प्रशासन पाँचथले जनाएको छ ।
हिलिहाङ गाउँपालिका ४ का वडाध्यक्ष श्रीप्रसाद सिगुको पनि कोरोनाकै कारण निधन भएको छ । झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा सिगुको निधन भएको थियो । सिगलाई लामो समयसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अस्पतालमै उनको निधन भएको हो ।
कोरोना संक्रमणबाट नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको अघिल्लो हप्ता निधन भयो । झापाको बिर्तासीटी अस्पतालमा उपचार गराएका भण्डारीको स्वास्थ्यमा सुधार नभएपछि निधन भएको महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए । लामो समयसम्म भण्डारीलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।
फाल्गुनन्द गाँउपलिका ३ राँकेका ६४ वर्षीय एक पुरुषले पनि कोरोनाकै कारण ज्यान गुमाए । सामान्य रुघाखोकी र ज्वरो आएपछि उनी घरमा नै बसेका थिए । मत्युपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । फिदिम बजारका व्यवसाय गर्दै आएका ५२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणक कारण निधन भएको थियो । उनको बिराटनगरको कोभिड अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।