उज्यालो आन्दोलनका अभियन्ता उज्वल

उज्यालो आन्दोलनका अभियन्ता उज्वल

नेपालको नयाँ धारको राजनीतिका प्रखर अभियन्ता उज्वल थापा स्वभावैले रचनात्मक र अटल अभ्यासमा होमिएका एक दसकनायक हुन्


नेपाली राजनीतिमा आशा जगाएर भरोसा यात्रामा हिँडिरहेका उज्वल थापाबारे जीवनसंगिनी एरिका अधिकारीले नितान्त नौला संस्मरण, सन्दर्भ र संकल्प सार्वजनिक गर्नुबाहेक सम्भवत उनका बहुकोणीय योगदानबारे यत्रतत्र–सर्वत्र चर्चा परिचर्चा भइसकेको छ। भोग्नेहरू धेरैले धेरैपटक लेखे यति विशिष्ट योगदान दिएका उनी कहिलेकाँही अलि असामाजिक जस्ता लाग्ने, अलि घामड, अलि जिद्धी अनि अलि ठिसजस्ता। मेरो परिचय उनीसँग अलि ठिस शैलीमै भएको थियो, सम्भवत २०६७/६८ सालमा। चाँजो मिलाएका थिए, सहकर्मी सौरभ ढकालले। महावीर पुनदेखि अनिल चित्रकार, प्रशान्त सिंहदेखि आपा शेर्पासम्मलाई उनैले भेटघाटका लागि उद्वेलन गराएका हुन्।

‘उज्वल थापालाई भेटौं न दाइ, इन्नोभेटिभ अभियान गरिररहेका छन्’, सोही मेसोमा भेट भयो। सन्दर्भ थियो, ‘नेपाल युनाइट्स’को ब्यानर : विभिन्न रचनात्मक गतिविधि गरिरहेका उनकै शब्दमा ‘मान्छेको दिमाग घोच्ने काम’कै सेरोफेरोमा पहिलो भेट भएको थियो। ‘दिमाग घोच्ने काम’अन्तर्गत थापाथली पुलमा प्रदर्शन थियो। प्रदर्शन अगावै ढकालले अलि फूलबुट्टा भरेर थापालाई परिचय गराएका थिए– ‘प्रकाश दाइ पनि स्वदेशमै केही गरौं भन्ने हुटहुटीवाला हुनुहुन्छ, पत्रकार मात्रै होइन तपाईंको गतिविधिसँग फिटेड।’ त्यो प्रस्तुतिमा थापाजी स्माइली त हुनुभयो तर पूर्वनिर्धारित भेटअनुसार मैले खोजेकै भावमा उत्साही भएजस्तो लागेन। ‘ठिकै छ, भेटघाट गर्दै गरौं न’ बाहेक वाक्य नफुटेपछि लाग्यो कस्तो ठिस मान्छे। केहीबेरमै प्रदर्शन सुरु भयो, थापाथली पुलको पश्चिम बटुवा कर्नरमा। बरु अनिल चित्रकार, प्रशान्त सिंहहरूसँगै अझ बढी छलफल भयो।

महान् लक्ष्य, साझा छाना र सहयात्रा
समयक्रमसँगै नेपालमा एउटा भरपर्दो वैकल्पिक राजनीतिक शक्ति आवश्यक छ त्यो क्षमता भएका, इमानदार र देशका लागि केही गरौं भन्ने उत्कट चाहना बोकेका, सुझबुझका धनी, उमेरमा युवादेखि सोचका युवासम्मको सामूहिक पहलमा पार्टी बनाऔं। कुशासन ढाल्न सकिन्छ भन्ने अठोटका साथ साझा पार्टी गठनको प्रारम्भिक चरणबाटै जोडिने सुअवसर पाएँ। सुसंस्कृत राजनीतिको वकालतसँगै इमान्दार, क्षमतावान्, सक्षम र निष्ठावान् मानिसको राजनीतिमा प्रवेशले विकृत बनाइएको राजनीतिको परिभाषा बदल्ने धृष्टता सम्भव छ भन्ने कुरा विश्वासमा रूपान्तरण हुनथाल्यो।

साझा आह्वानलाई आत्मसातदेखि स्वतस्फूर्तसम्म, स्वदेशदेखि विदेशसम्म साझा सद्भाव एकाई, समूह, समितिहरू बन्न थाले। एकान्तकुना सम्पर्क अफिसको रौनक फेरियो। साझा पार्टीले काठमाडौं, ललितपुर र इटहरीको स्थानीय चुनावमा पार्टी दर्ता नै नगरी सन्देशमूलक सहभागिता जनायो। चुनावमा पार्टी र उमेद्वारले स्वदेश तथा विदेशवाट अभूतपूर्व शुभेक्षा, साथ र समर्थन बटुल्दै गए, वैकल्पिक शक्तिको आवश्यकता बिस्तारै अनुमोदित हुन थाल्यो। रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको नीति, सोच, शैली र त्यसलाई बोक्ने खास नेपाली मुहारहरूले छोटो समयमै साझा पार्टी लोकप्रिय र उदाउँदो वैकल्पिक शक्तिको रूपमा फुल्न, फैलन र फरफराउन थाल्यो। अभियान हुँदै दलकै रूपमा राजनीतिमा नवयुवाको ढुकढुकीको रूपमा फस्टाउँदो विवेकशील नेपाली दल र राजनीतिमा चौमुखी आशाको सञ्चार जगाइरहेको साझा पार्टी एक भएर मात्रै जब्बर लुटतन्त्र ढाल्न सकिन्छ भन्ने चौतर्फी स्वर गुन्जियो।

कुनै सैद्धान्तिक, नीतिगत र शैलीगत फरकपना नरहेका दुई दल छुट्टाछुट्टै किन ? असल, इमान्दार र दक्षता भएका मानिसहरू एक ठाउँमा आएर मात्रै विकृत र फोहोर बनाइएको राजनीति बदल्न सकिन्छ। मुलुकलाई हाम्रै जीवनकालमा सम्वृद्ध बनाउन सकिन्छ भन्ने  शुभेच्छा, जनदबाब त्यतिबेला जबरजस्त बन्दै गयो। काठमाडौं महानगरमा दुई दलका छुट्टाछुट्टै उमेद्वार रन्जु दर्शना र किशोर थापाको लोभलाग्दो जनमत संयुक्त भएको भए जीत सुनिश्चित हुन्थ्यो। नमूना काम गरेर काठमाडौंबाटै देशव्यापी सन्देश फैलाउन सकिन्थ्यो भन्ने विवेकी सोच र साझा धारणालाई आत्मसात गरियो। त्यसैको जगमा दुई पार्टीबीच समयमै एकीकरण भयो। परिणाम देशव्यापी सकारात्मक तरंग छायो, अब यो मुलुकमा केही हुन्छ भन्ने आशा सञ्चार हुन थाल्यो।

परम्परागत राजनीतिक दलको कुख्यातीले वाक्क भएकाहरूको भरोसाको केन्द्र बन्न विवेकशील साझा सफल भयो। तिनै अभियन्ता उज्वल थापासँग सहयात्रीका रूपमा काम गर्न पाइयो। एउटै पार्टीमा उनीसँगको पुनः भेटमा थापाको संक्षिप्त प्रतिकृया थियो, ‘खुसीको कुरा तपाईं–हाम्रो देश बनाउने हुटहुटीले एकै ठाउँमा ल्यायो। अब काम गर्ने हो, काम।’

माननीय, सम्माननीय र आदरणीय शीर्षकको त्यो लेख
उज्वल थापा मेरो पूर्वसंयोजक बनिसकेका थिए। समय, परिस्थिति, सीमा र सन्दर्भले उनीसँग बाक्लो वार्ता, बातचित भइरहेको थिएन। गत वर्ष असोजमा कोरोना महामारीकै बीच डा. गोविन्द केसीले आफ्ना पूर्ववत् माग र कतिपय सम्झौतासमेत जोडेर सत्याग्रह गरिरहेका थिए। अन्नपूर्ण पोस्टमा ‘माननीय, सम्माननीय र आदरणीय’ शीर्षकमा मेरो लेख प्रकाशन भएको थियो। सोही लेखको सन्दर्भमा उनीसँग फोन संवाद भयो।

मुलुकलाई हाम्रै जीवनकालमा सम्वृद्ध बनाउन सकिन्छ भन्ने शुभेच्छा, जनदबाब त्यतिबेला जबरजस्त बन्दै गयो। दुई पार्टीबीच समयमै एकीकरण भयो। परिणाम देशव्यापी सकारात्मक तरंग छायो, अब यो मुलुकमा केही हुन्छ भन्ने आशा सञ्चार हुन थाल्यो।

लेखको मर्म थियो– ‘राजनीतिको गर्भबाट जन्माइएका दिपक मनाङेजस्ता दर्जनौं पात्रहरूले नेपालको संसदीय इतिहासमा नाम दर्ज गरिसकेका छन्। उनीहरूको अनुकरणले नेताहरूको अनुकम्पाले सयौं त्यस्ता राजनीतिक पात्र र प्रवृत्तिहरू साम, दाम, हराम सबै नीति र संयन्त्रको जोहो गरेर आगामी निर्वाचन कुरेर बसिरहेका छन्। मान्नै पर्ने माननीय लाइनमा दर्ज हुनका लागि।’ बिडम्बना तिनै मनाङे अलिअघि मन्त्री बने, अहिले कसलाई मुख्यमन्त्री बनाउने भनेर निर्णायक रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन्, न्यायालयको उच्च गरिमा राखेर न्याय दिने हैसियतका गोपाल पराजुलीहरूलाई सम्माननीय भन्नैपर्छ, तीनवटा फरक फरक उमेर भएको नागरिकताधारी भए पनि।

बिडम्बना उनी गलत सावित भए पनि निवासमा बिहानै सलामी ठोक्ने प्रहरीको व्यवस्था छँदैछ सम्माननीयजीलाई। आदरणीय उपमाको खडेरी लागेकै हो त ? राष्ट्रिय जीवनमा गोविन्द केसीजस्तै जनमनमा सम्मानले शिर निहुरिने हाम्रा गाउँमा, टोलटोलमा धेरै अग्रजहरू थिए। अहिले पनि छन्, जसलाई देख्नेबित्तिकै त्वचामा चमक आउँछ, सम्मानले शिर निहुरिन्छ। नाम सुन्नेबित्तिकै कानले शान्त महसुस गर्छ अनि जसको फोटो देख्नेबित्तिकै आँखाले आत्मासँग अंकमाल गर्छ। आदरणीय हृदयबाटै पुकारिने शब्द हो जसलाई किन्न पाइन्न, माननीय, महामहिम पदजस्तो।

हो, उनै आदरणीय गोविन्द केसीको स्वास्थ्य क्षेत्र सुधारको सुरुआतीदेखि नै एउटा निश्पृयताका साथ अविश्रान्त सहयात्री बनेका थिए, उज्वल थापा। सुखद् संयोग पूर्वसांसद, पूर्वमन्त्री, पूर्वराजदूत आदि राजकीय पदवीबिनै उनी आदरणीय उज्वल थापा बनेर विदा भए। शक्तिको जबरजस्त अचाक्ली भोक जगाइएको नेपाली समाजले मिहिन तरिकाले थापाको मूल्यांकन गरिरहेको आभास पाउन उनको गम्भीर उपचारको सन्दर्भमा भएको शुभेच्छा, सहयोग र प्रार्थना अनी निधनप्रतिको श्रद्धाञ्जली, समवेदना, प्रतिकृया, लेख र लेखनी लहरोले झल्काइरहेको छ।

त्यसो भए अब के त ?
नेपालको नयाँ धारको राजनीतिका प्रखर अभियन्ता थापा स्वभावैले रचनात्मक, परीक्षण र प्रवद्र्धनमा विश्वाससहित अटल अभ्यासमा होमिएका एउटा दसकनायक हुन्। उनको असामयिक अवसानले विवेकशील साझा राजनीतिमा मात्रै होइन, सम्वृद्ध नेपाल निर्माणको महाअभियानमै क्षति पुगेको कुरा चर्चा गरिरहने विषय रहेन, दस्तावेजीकरण भइसक्यो। समस्याको पोको खोलेर छोडिदिने युवालाई अब के गर्ने ?
अन्तरकृया गरेर रचनात्मक अभ्यास सुरु गर्दै स्थापना गरिएको विवेकशील अभियानका गुरु उज्वल थापाले दशकसम्म मान्छेको दिमाग घोच्दै आए। अब भौतिक रूपले त उनले हाम्रो दिमाग नघोच्लान् तर उनको अवसानपछि कहीँकतैबाट उनै उज्वल थापाले हाम्रो पुस्तालाई प्रश्न गरिरहेका छन्, एउटा नेताको अवसान भयो त के भो ? एजेन्डा त ज्यूँका त्यूँ छन् नि। गर्न त अझ धेरै छ, अब के गर्ने त ?

देवेन्द्रराज पाण्डे नेतृत्वको लोक दलदेखि कुवेर शर्मा नेतृत्वको हरियाली पार्टीसम्मले वैकल्पिक पार्टीको बहस, पैरवी, अभियान र खबरदारी थाले। तर पनि पार्टी संस्थागत हुनै नपाई बन्द भएका दुःखद् इतिहास छन्। नयाँ युगमा नयाँ राजनीति भनिए पनि अत्यन्त जब्बर रूपमा जकडिएको परम्परागत नेपाली राजनीतिलाई सफाई गर्दै मुलुककै मुहार फेर्न विवेकशील साझा पार्टीको काँधमा बहुतै गहन जिम्मेवारी आइपुगेको छ। समय, काल, परिस्थितिमा अचाक्ली भावुक हुने नेपाली समाजको धरातलीय यथार्थ ‘मसान वैराग्य’ चिर्न पनि विवेकशील साझा पार्टीले नै अधिक मेहनत गर्नुपर्ने देखिन्छ भने होस्टेमा हैंसे गर्न शुभेच्छुक, सहयोगी, सदासयी, कार्यकर्तादेखि अभियन्तासम्मको निकै फराकिलो सहयोग अत्यावश्यक छ।

अभियानले मात्रै ठूलो रूपान्तरण गर्न सकिन्नँ। बृहत्तर राजनीतिबाट मात्रै नेपाल आमाको मुहार फेर्ने सकिन्छ भन्ने हाम्रो विश्वास ‘हटो नही डटो, आगे बढो आगे’ शैलीमा अघि बढिरहेको छ। तपाईंलाई लाग्दो हो, ‘एकीकृत पार्टीको सामूहिक शक्तिलाई मलजल गर्न नपाई विदा हुन पर्‍यो र भन्नुहुँदोहो के ओहो ! तपार्इंहरूलाई शुभेच्छा छ, तपार्इंहरूसँग विश्वास छ, तपाईंहरू सक्नुहुन्छ। अब के त ? भनेर फेरि सोध्नु होला, हामी भगीरथ प्रयासमा छौं। सदा रहने छौं। त्यो क्षतिको परिपूरण गर्न हजारौं उज्वल अभियन्ताहरू समतामूलक सम्वृद्धिको मोर्चामा लामबद्ध छन्, अझ बढेर जाने निश्चित छ।

सपना देख्ने, सपनालाई विपना बनाउन आफैं अघि सर्ने, एकजनाले मात्र मुलुकको विकास गर्न सकिन्नँ भन्दै सयौं योद्धाहरूलाई प्रवद्र्धन गर्ने एकजना सशक्त राजनीतिक÷सामाजिक अभियन्ताको असामयिक निधनलाई सदा सस्मरणीय बनाउन कहाँ सजिलो छ र ? फेरि भन्नुहोला अब के त ? ती सपना, यी सम्भावना र विशिष्ट धरातलीय यथार्थलाई चिर्दै  जनताको मुहारमा ठोस परिवर्तन ल्याउन कुरा सेन्टिमिटरमा काम किलोमिटरको रफ्तारमा गर्नु नै छ, हामी गर्ने नै छौं। जहाँ हुनुहुन्छ, दिमाग चैं घोचिरहनुस् है उज्वलजी ?
अल विदा प्रिय उज्वलजी।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.