युरो कप फुटबल : वेल्स र स्विट्जल्यान्डको बराबरी
बाकु : १६औं संस्करणको युरोकप फुटबलमा वेल्स र स्विट्जल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन् । अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्स र स्विट्जल्यान्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
बाकु ओलम्पिक स्टेडियममा स्विट्जल्यान्डका लागि ब्रिल इम्बोलोले गोल गरेका थिए । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा स्विट्जल्यान्डले सुरुवाती अग्रता बनाएको थियो । खेलको ४९औं मिनेटमा इम्बोलोले गोल गर्दै स्विट्जल्यान्डलाई १–० को अग्रता दिलाएका थिए । खेलको ७४औं मिनेटमा मोरेले हेड गोल गर्दै वेल्सलाई हारबाट जोगाएका थिए । खेलको ८५औं मिनेटमा स्विट्जल्यान्डका मारियोले गोल गरेका थिए । तर, भीएआरमा उनी अफसाइट रहेका कारण गोलले मान्यता पाएन ।
वेल्सविरुद्ध बल प्रोसेसनमा पकड जमाएको स्विट्जल्यान्डले गोलको थुप्रै अवसर बनाएको थियो । तर, स्विट्जल्यान्डको पटक पटकको प्रहारलाई वेल्सका गोलरक्षक डेनी वार्डले विफल पारेका थिए । वेल्सले पनि पाएका केही अवसर खेर फालेको थियो ।
यस बराबरीसँगै समूह ‘ए’ मा रहेका वेल्स र स्विट्जल्यान्डले एक/एक अंक बाँडेका छन् । समूहको दोस्रो स्थानमा रहेको स्विट्जल्यान्डले एक खेलमा एक अंक जोडेको छ । तेस्रो स्थानमा रहेको वेल्सको पनि एक अंक नै छ । यस समूहमा इटाली तीन अंक जोड्दै शीर्ष स्थानमा छ ।
शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । रोमस्थित ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्साइनले एक÷एक गोल गरे । इटालीले एक गोल आत्मघाती रुपमा उपहार पाएको थियो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५३औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले सुरुवाती अग्रता बनाएको थियो । डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलले आफ्नै पोस्ट्मा गोल गरेका थिए ।
६६औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २–० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ७९औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए । यस पटकको युरोकप युरोपका विभिन्न देशका ११ सहरमा आयोजना भइरहेको छ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ सहरमा प्रतियोगिता आयोजना गरिएको हो ।