सुत्केरी र गर्भवती स्वास्थ्यकर्मीका पीडा
भोजपुर : भोजपुर दाँवाकी रचना श्रेष्ठ एक महिला स्वास्थ्यकर्मी हुन्। उनी सबेरै उठ्छिन्। काखकी सानी छोरीलाई स्तनपान गराउँछिन्। अनि पीपीई लगाएर भोजपुर नगरपालिकाको देउरालीस्थित कोभिड अस्पताल पुग्छिन्। आइसोलेसन र क्वारेन्टाइनका बिरामीको चेकजाँचमै उनको दिन बित्छ। हेल्थडेस्कमा बस्दा कति बिरामीको आगमन हुन्छ पत्तो हुन्न। खाना, खाजाको बेला पीपीई बदलेर छोरीलाई स्तनपान गर्छिन्। संक्रमणको डरले साँझ घर फर्किन पनि पिर छ, उनलाई। शंकास्पद बिरामीको प्रत्यक्ष चेकजाँचमा खटिनु उनको दैनिकी बनेको छ, यो महामारीमा। त्यस्ता बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा रहँदा एकातिर संक्रमणको डर अर्कोतिर छोरी र परिवारको पिरले पिरोल्छ, उनलाई।
‘यस्तो बेला सबैभन्दा बच्चाको पिर हुन्छ हामीलाई, आफू त संक्रमित भए पनि केही छैन तर बच्चा र परिवारलाई संक्रमण हुने पिर हुन्छ, काममा जोखिम मोलेर खट्नुपर्ने स्थिति छ’ रचना भन्छिन्, ‘शंकास्पद बिरामीहरूको चेकजाँच र दिनभर हेल्थडेस्क र आइसोलेसनमा खटिँदा कहिले सुत्न ढिला, कहिले घर पुगिँदैन’ उनीजस्ता सबै आमा स्वास्थ्यकर्मीको अवस्था उस्तै छ। जोखिम उत्तिकै छ।
बिहानैदेखि पीपीई सेटको पहिरन, आइसोलेसन, क्वारेन्टाइन, हेल्थडेस्कको चक्करले भ्याइनभ्याइ, इमरजेन्सी, ओपीडी कक्षका बिरामीको चेकजाँचले बेफुर्सद, शंकास्पद बिरामीको एन्टिजेन परीक्षणको दौडधुप। कोरोना महामारीमा खटिरहेका स्वास्थ्यकर्मीको दैनिकी हो। आइसोलेसन, क्वारेन्टाइन, हेल्थडेस्कमा दिनरात खट्ने महिला स्वास्थ्यकर्मी यस्ता पीडा, समस्या र जोखिमबाट सबैभन्दा बढी ग्रसित बनेको स्वास्थ्यकर्मी विपना राई बताउँछिन्। भनिन्, ‘कतिबेला शंकास्पद बिरामीको चेकजाँच गर्दागर्दै स्वयंलाई संक्रमितका रूपमा पाउने हो थाहा छैन, त्यसमाथि झन् बच्चा र परिवारलाई कति जोखिम पुग्छ यसको कुनै सीमा छैन।’ जसले मातृशिशु सुरक्षा र महिला प्रजनन जस्तो संवेदनशील अवस्थामा घरबाट निस्कँदा र सेवारत क्षेत्रमा खटिनुपर्दा जोखिम हुने गरेको उनले बताइन्।
सुगमदेखि दुर्गमसम्म कोरोना रोकथाममा अग्रपंक्तिमा खटिएका गर्भवती र सुत्केरी स्वास्थ्यकर्मीहरूलाई बढी जोखिम र संवेदनशील छन्। गर्भवती वा सुत्केरी महिलामा रोग प्रतिरक्षा क्षमता केही परिवर्तन हुने हुँदा गर्भावस्थादेखि सुत्केरी भएको अवस्थासम्म अरू साधारण मानिस जस्तै सतर्क र सावधान रहनुपर्ने स्त्री चिकित्सक राधिका विष्टले तर्क राखिन्। ‘यदि गर्भवस्था र सुत्केरी समयमा लक्षण देखिएमा कोभिड परीक्षण आवश्यक छ, परीक्षणपछि पनि संक्रमण देखिए भविष्यमा देखिने जटिलताबाट टाढा राख्न सकिन्छ’ उनले भनिन्।
भोजपुरमा मात्रै ९ स्थानीय तह र ८१ वडाका सम्पूर्ण स्वास्थ्य सेवा क्षेत्रमा मात्रै ७५ प्रतिशत बढी महिला स्वास्थ्यकर्मी रहेको एक तथ्यांकले देखाउँछ। कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुँदै प्राथमिक स्वास्थ्य चौकीदेखि जिल्लास्तरसम्मका ठूला अस्पतालसम्म महिला स्वास्थ्यकर्मीहरू बढी छन्। संक्रमणको विषम परिस्थितिलाई सामना गर्दै सबै पालिका र वडा तहमा बिरामीको उपचारदेखि कोभिड अस्पताल, आइसोलेसन, क्वारेन्टान, हेल्थडेस्कदेखि इमरजेन्सी, ओपीडी, जनरलजस्ता वार्डमा समेत रातदिन खटेका स्वास्थ्य कार्यालय भोजपुर प्रमुख फणीन्द्र थापाको भनाइ छ। उनले महामारीमा स्थानीय, प्रदेश र केन्द्रीय तीन तहका सरकारले आ–आफ्नो मातहतका स्वास्थ्यकर्मीको स्वास्थ्य समस्याको आधारमा व्यवस्थापन गर्नुपर्ने बताए।
मासिक तलबले स्वास्थ्य सामग्री सहयोग
षडानन्द नगरपालिका र उक्त नगरपालिकाका वडाका कर्मचारीहरूले आर्थिक संकलन गरेर कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन्। षडानन्द नगरपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई कर्मचारीहरूले आफ्नो मासिक तलब कटाएर स्वास्थ्य सामग्री खरिद गरी सहयोग गरेका हुन्।
नगरपालिका क्षेत्रभित्र कार्यरत कर्मचारीहरूले १ लाख ५१ हजार ३ सय ३५ रुपैयाँ संकलनबाट ५ सेट शय्या, २ थान ह्विलचियर, २५ थान पीपीई र एक सय थान एडल्ट डायपर खरिद गरी उक्त अस्पताललाई सहयोग गरेका हुन्। कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणमा केही सहयोग पुर्याउने उद्देश्यले आर्थिक संकलन गरेर उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशविक्रम बस्नेतले बताए। कोभिड अस्पतालमा आउने बिरामीलाई सहजता प्रदान गर्ने धेयले सामग्री सहयोग गरिएको उनले बताए।
सहयोग सामग्री ग्रहण गर्दै मेयर वीरबल राईले नगरपालिका र वडा राष्ट्रसेवक कर्मचारीहरूले तलब कटाएर अस्पताललाई गरेको सहयोगले कोभिड रोकथाम तथा नियन्त्रण धेरै सहयोग पुग्ने बताए। राईले भने, ‘कोरोनाको नयाँ भेरियन्ट आएसँगै यो वर्ष कुनै सहयोग पाएनौं, आफ्नै स्रोतसाधनले सकेसम्म धान्दै आएका छौं, कोभिड अस्पताललाई व्यवस्थित बनाउने काममा कर्मचारीहरूको यो सहयोगले थप टेवा मिलेको छ।’
वैदेशिक रोजगारको सिलासिलामा विभिन्न देशमा रहेका रामप्रसाद राई गाउँपालिकाका प्रवासीले १७ वटा अक्सिजन सिलिन्डर सहयोग गरेका छन्। कोभिड–१९ को संक्रमण बढिरहेका बेला प्रवासी भोजपुरवासीले रामप्रसाद राई गाउँपालिका स्वास्थ्य शाखालाई अक्सिजन सिलिन्डरका साथै स्वास्थ्य सामग्री सहयोग दिएका हुन्।