धान सुपरजोनमै सिंचाइ अभाव
गुलरिया : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन क्षेत्रमै सिंचाइको अभाव हुन थालेपछि चैते धानखेतीतर्फ आर्कषित राजापुर क्षेत्रका किसान निरास बन्न थालेका छन् । राजापुर र गेरुवा क्षेत्रमा ४ वटा कुलो सिंचाइ प्रणाली संचालनमा रहेपनि चैते धानखेतीमा पर्याप्त पानी नपुग्दा किसान चिन्तित बनेका छन् ।
सधैं वर्षा अगाडि हिउँदै मकै खेती गर्दै आएका राजापुर नगरपालिका निवासी छप्पुराम चौधरी चैते धानखेती गर्दैछन् । अन्य कृषि उत्पादन छाडेर हिउँदे धानखेतीमा आर्कषित बनेका उनी प्रर्याप्त पानीको सुविधा नहुँदा दिक्क छन् ।
'आधा विगाहा क्षेत्रफलमा चैते धान लगाएको छु । पानी छैन तनाव छ,' उनले भने,' धान सुपरजोन क्षेत्रमा पानी छैन । धानलाई पर्याप्त मात्रामा पानी आवश्यक पर्छ । बरु मकै खेतीमा अनुदान बढाए किसानलाई कुनै विस्मात हुने थिएन ।'
वर्षेधान भन्दा हिउँदे (चैते) धान बढी उत्पादन हुन्छ । तर बजार मुल्य पनि कम छ । चौधरीले थपे,' उत्पादन र मुल्य त ठिकै छ । तर पानीको व्यवस्था राम्रो छैन । यदि बाह्रैमास सिंचाइ सुविधा उपलब्ध भैदिए हामी क्षेत्रफल बढाएरै चेते धानको खेती बढाउँथ्यौं । हामीलाई सरकारले पानीको व्यवस्था गर्नु पर्यो । '
बर्दियाको राजापुर र गेरुवाक्षेत्रमा गतवर्षको तुलनामा ३४० हेक्टर क्षेत्रफल वृद्धि गरी करिब १ हजार हेक्टरमा चैते धानखेती गरिएको छ । बर्दियाको धान सुपरजोन क्षेत्रमा गतवर्ष साढे ५ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व थियो ।
तुलनात्मक रुपमा यस वर्ष पनि उत्पादकत्व स्थिर रहने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ राजापुर बर्दियाका प्रमुख डाक्टर तपेन्द्र बहादुर शाहले बताए । चैते धानखेतीमा सिंचाइको व्यवस्थापन राम्रो नभएको उनले स्वीकारे । राजापुर क्षेत्रको सिंचाइ प्रणाली भताभुंग छ । ४ ओटा कुलो प्रणाली भएपनि ३ वटाबाट पानी आउँदैन ।
एउटा कुलो प्रणाली मात्र चालु अवस्थामा रहेकाले किसानहरुलाई सिंचाइको समस्या छ । पानी लिकेज भएको अवस्था छ । परियोजना मार्फत सिंचाइका लागि हामीले १ सय वटा वोरिङ जडान गरेका छौं । उनले भने,' कुलो मर्मत लगायत कुलोको पूर्वाधार निर्माणमा हाम्रो सहकार्य छ । बजेट परिधिभित्र रहेर चैते धान खेती गर्ने कृषकहरुलाई कुनैपनि कृषि सामाग्री खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएका छौं । विउ, नर्सरी घर, यन्त्रउपकरण, प्लाष्टिक लगायतका कृषि कार्यमा आवस्यक सामाग्रीमा हाम्रो सहयोग रहँदै आएको छ । '
शाहले थपे मोबाइल (किसानकोमा पुगेर), फिक्स (परियोजनाले तोकेको ठाउँमा पुगेर) किसानले उत्पादन गरेका धान सुकाउने ड्रायर भित्र्याउने तयारीमा छौं । गेरुवा गाउँपालिकामा विउ प्रशोधन केन्द्र निर्माण हुँदैछ । मल अभाव हुन कम्पोष्ट मल निर्माणमा जोड दिंदै आएका छौं । आगामी वर्ष धानखेतीको क्षेत्र विस्तार गर्ने परियोजनाको लक्ष्य रहेको उनले प्रष्ट्याए । स्थानीय प्रशासनको सहयोगमा खाद्य कम्पनी राजापुर मार्फत किसानको चैतेधान विक्री भइरहेको छ ।
फागुन चैतमा रोपेको धान यतिखेर पाकेर काट्ने अवस्थामा पुगेको छ । किसानहरु धान काट्न व्यस्त छन् । राजापुरमा १ सय २० दिनमा पाक्ने धान लगाइने गरेपनि किसानको रोजाइमा चाँडै पाक्ने धान छ । विउ राजापुर क्षेत्रमै उत्पादन गरिन्छ । विउ आयातलाई रोक्न ५६ भेराइटीको ट्रायल धान लगाइएको छ । विउ स्थानीयस्तरमै उत्पादन हुने भएकाले विगतमा जस्तो किसान विउबाट ठगिने अवस्था नहुने प्रमुख शाहको दाबी छ ।