देश राजनीतिक नेतृत्वको कब्जाबाट बाहिर जाँदैछ: हृदयेश त्रिपाठी
परासीः पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले देश राजनीतिक नेतृत्वको कब्जाबाट बाहिर जान थालेको टिप्पणी गरेका छन् ।
स्वास्थ्यमन्त्रीबाट पदमुक्त भएपछि आइतबार गृहजिल्ला नवलपरासी आएका पूर्वमन्त्री त्रिपाठीले दलहरुबीच देखिएको विभाजन र शत्रुतापूर्ण व्यवहारले संविधान समाप्त हुने अवस्थामा जानु देशकै लागि खतरा भएको बताएका हुन् ।
‘संविधानको व्याख्या गर्ने अदालत नै हो । तर राजनीतिक घटनाक्रमलाई लिएर अदालतमा पुग्नु भनेको राजनीतिक दल र नेतृत्वको असफलता हो’ उनले भने ।
संसद् पुनर्स्थापना र मन्त्रीमण्डल पुनर्गठन लगायत समसामायिक राजनीतिक विषय नै अदालतमाको हातामा पुग्नुलाई शुभ संकेत मान्न नसकिने उनको भनाइ छ । वर्तमान राजनीतिक अवस्थालाई त्रिपाठीले ब्लेडको संज्ञा दिए । ‘अहिलेको राजनीति ब्लेड जस्तो छ । जाने बाल (कपाल) काट्छ । नजाने गाल (गाला) काट्छ । त्यसैले दलहरु सचेत भएर अगाडि नबढे संविधान समाप्त हुन्छ’ उनले भने ।
अहिले संविधान घाइते भइसकेकाले संसद्ले मात्र त्यसलाई मलमपट्टी लगाउन सक्ने पनि उनले बताए । ‘संसद् २ प्रकारले फर्किन्छ । एउटा चुनाव र अर्को विघटित प्रतिनिधिसभा पुनर्स्थापना । विचाराधीन त्यस विषयलाई अहिले गम्भीरताका साथ जनताले हेरिरहेका छन्’ उनले भने ।
त्रिपाठीले घुमाउरो पारामा संविधानको रक्षाका लागि अहिले संसद् पुनर्स्थापना हुनुपर्ने संकेत गरेका थिए ।
आफ्नो नयाँ दलबारे नेता त्रिपाठीले भने ‘यसका लागि पूर्वराजदूत, पूर्वसचिव र अर्थशास्त्रीहरुले मस्यौदा तयार गरिरहेका छन् । २/३ महिनाभित्र मस्यौदा तयार हुन्छ र त्यसपछि पूर्व, पश्चिम र काठमाडौँमा भेला गरेर दल घोषणा गर्नेछौँ ।'