बलियो मानिएका इजरायली प्रधानमन्त्री नेतान्याहूलाई विपक्षी गठबन्धनले हटाउँदै
जेरुसेलम: पटक पटक भएका आन्दोलनले हटाउन नसकेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई अब संसदले हटाउने अपेक्षा गरिएको छ ।
आइतबार हुने संसद बैठकमा वहुमत सांसदहरुले प्रधानमन्त्री नेतन्याहू विरुद्ध मतदान गर्ने भएका छन् । यससँगै १२ वर्षदेखि प्रधानमन्त्री पदमा रहेका नेतान्याहू पदमुक्त हुनेछन् ।
इजरायलको लिकुड पार्टीका नेता समेत रहेका नेतन्याहूलाई हटाउन यहाँ विभिन्न ८ दलहरुको गठबन्धन बनेको छ । गठबन्धन दलहरुले नेतान्याहूको विकल्प खोज्दैआएका थिए ।
२०१९ यता इजरायलमा चार पटक संसदीय निर्वाचन भइसके पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्दा यहाँको राजनीति थप अस्थिर बन्दैगएको छ ।
तर फरक बिचारका बावजुद पछिल्लो समय बनेको ८ दलको गठबन्धनले प्रधानमन्त्री नेतान्याहूलाई विस्थापित गर्ने तयारी गरेको हो । शनिबार राति पनि नेतान्याहूको निवास अगाडि पुगेर विभिन्न दलका हजारौँ कार्यकर्तासहित नागरिकहरुले प्रदर्शन गरेका थिए ।
विपक्षी गठबन्धन दलहरुको यसअघिको निर्णय अनुसार नेता नाफ्ताली बेनेट अबको प्रधानमन्त्री बन्नेछन् । र उनको कार्यकाल दुई वर्षको मात्रै हुनेछ ।
विपक्षीहरुको गठबन्धनमा दुई वामपन्थी दल, तीन वटा दक्षिणपन्थी, दुई मध्यमार्गी दलका साथै अरब इस्लामिक पार्टी समेत समावेश छन् । यसवाहेक नागरिक अगुवाहरुले समेत नेतान्याहूको विकल्प खोजी गर्नुपर्ने भन्दैआएका थिए ।
इजरायलमा बलियो नेता ठानिएका नेतान्याहूविरुद्ध पछिल्ला केही वर्षदेखि नै पटक पटक आन्दोलन हुने गरेका थिए । तर विपक्षीहरु संगठित हुन नसक्दा उनी नै निरन्तर सत्तामा रहिरहे । यसपटक भने उनको हारसँगै राजनीतिक करिअर पनि संकटमा पर्न थालेको टिप्पणी हुन थालेको छ ।