वृद्ध हत्याको अनुसन्धानमा लैला र पिकु परिचालन
फिदिम : पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन गरियो।
धरानबाट ल्याइएका लैला र पिकु नामका दुई कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो।
प्रहरीका सई दमानन्द श्रेष्ठको कमाण्डमा कुकुर परिचालन गरिएको हो। सुरुमा लैला कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो। लैला हत्या भएको घरबाट फिदिम २ पल्लोटातर्फ दौडिएको थियो। पल्लोटार पुगेपछि लैला अलमलियो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार अन्य कुकुर आएपछि लैला अलमलिएको हो।
दोस्रो चरणमा परिचालन गरिएको पिकु नामक कुकुरले हत्या भएको घर मुनिको खेतमा बढी जोड दिएको थियो। कुकुरले दिएको संकेत र घटनाको प्रकृतिका आधामा थप अनुसन्धान हुने प्रहरीले बताएको छ।
प्रहरीले केही मान्छेलाई घटनाको बारेमा सोधपुछ गरिरहेको छ। वृद्धको शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको छ।
हत्या भएको स्थानमा जम्माभएका मानिस। तस्बिर : भीमकुमार बाँस्कोटा