महामारीमा विपन्नको सारथी बन्दै युवा
राजविराज : सहरदेखि गाउँसम्म कोरोना भाइरसको संक्रमण फैलिएको छ । निषेधाज्ञा लम्बिदै गर्दा देश थलिएको छ । रोग, भोक, शोक र त्रासमा नागरिक डुबेका छन् । निषेधाज्ञाले हरेक क्षेत्र प्रभावित छन् । बालबालिकादेखि वृद्ध कोही पनि महामारीबाट अछुतो छैनन् । यसलाई बेवास्ता गर्दै राजनीतिक नेतृत्व सत्ता लुछाचुँडीमा व्यस्त छ । केन्द्रको असर प्रदेश सरकार हुँदै स्थानीय तहमा देखा परेको छ । स्कूल, कलेज, विभिन्न अभ्यास र खेलमा व्यस्त भइरहने विद्यार्थीहरूको दिनचर्या ‘पबजी’, ‘फ्रिफायर’, ‘फेसबुक’ र ‘टिकटक’मा बितिरहेको छ ।
यहीबेला सप्तरीका १९ देखि २३ वर्षका ७५ जना विद्यार्थी भने ज्याला मजदुरी गुमाएका, अति विपन्न, अपाङ्गता र टुहुराहरूको सहयोगी बनेका छन् । महामारीले बढेको मानवीय संकटमा उनीहरू ‘सहयोगका लागि युवा’ भन्दै मलम लगाउन जुटेका छन् ।
‘लकडाउनको सुरुका केही दिन घरमै बसे, पछि मनमा छटपटी भयो’ राजविराज–६ का पंकेशराज कुशवाहा भन्छन्–‘यसै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने भावनाले निन्द्रा परेन र बाल क्लबमा सँगै काम गरेका अमर यादवसँग प्रस्ताव गरे ।’
हामीले सकेको सहयोग गर्ने निधो गरे पनि दुईजनाले मात्र नसक्ने भएपछि ४/५ वर्ष अघिको बाल क्लबका साथीहरूबीच भर्चुअल माध्यमबाट बैठक गरेर सहयोगमा जुटेको कुशवाहाले बताए । जिल्लाभरी अहिले करिब ७५ साथीहरू जोडिनु भएको छ ।
‘सहयोगको निर्णय गरेपछि कसरी गर्ने भनेर अलमलमा पर्यौ’ यादवले भने, ‘हामीले मात्र सबैलाई सहयोग गर्न असमर्थ भएपछि स्वेच्छिक सहयोगका लागि सामाजिक सञ्जालमा आह्वान गर्यौं ।’ सहयोग दिनेहरूको प्रचार गरे पनि उनीहरू सहयोग पाउनेहरूको परिचय भने गोप्य राख्छन् । सहयोग भन्दा ठूलो व्यानर राखेर, राहत लिँदै गरेको व्यक्तिको अनुहार, नाम सार्वजनिक गरेर फोटो पोष्ट गर्नुलाई उनीहरू गरिबीको मजाक उडाएको ठान्छन् ।
उनीहरूले सप्तरीको १८ मध्ये १२ वटा स्थानीय तहमा ६/६ जनाको टोली तयार गरिसकेका छन् । टोलीले सबैभन्दा विपन्न परिवार छनौट गरेर एक महिनाको राशन सुटुक्क पुर्याउँछ ।
बाल क्लबमा प्राप्त तालिमले सकारात्मक र सहयोगी बनाएको भन्दै सुरुङ्गा नगरपालिकाका २१ वर्षीय बरदान श्रेष्ठले राज्यलाई आपत् पर्दा दायित्व निर्वाहको सानो प्रयास गरेको बताए । राजविराजकी पूजा साहले मानवताको धर्म निर्वाह गर्न अभियानमा जोडिएको बताइन् ।
आपतविपतमा हमेसा अग्रपंक्तिमा उभिन तयार रहनुपर्ने सिकाइले प्रेरणा मिल्ने गरेको कञ्चनरूपकी रञ्ज्योती चौधरीको भनाई छ । यसअघि उनीहरूले बालविवाह र बालश्रम रोक्ने प्रशस्त काम गरेको कञ्चनरूप नगरपालिका प्रमुख बसन्त मिश्रले बताए ।
विपन्न परिवारको खोजीमा धेरै समय लगाउने उनीहरू सहयोग भने सुटुक्क दिन्छन् । फर्किने बेला थाहा पाउने छिमेकीहरूले अति आवश्यक परिवारलाई सहयोग गर्यौं भन्दा आत्मसन्तुष्टि मिल्ने गरेको रोशन साहले बताए ।
‘आपतविपतमा अरुले के गर्यो भन्दा पनि आफूले के गरे भन्ने कुरा महत्वपूर्ण हो,’ यही भएर हामीले उत्साहका साथ आफ्नो दायित्व पूरा गरिरहेको नम्रता परियारले बताइन् ।
‘युवाले देशमा आपतविपत आइपर्दा हमेसा साथ दिनुपर्छ भन्ने हाम्रो मान्यता हो, ' उनीहरूले भने, ‘राज्यले हामीलाई के दियो होइन, हामीले के दियौं भन्ने मान्यताका साथ आफ्नो दायित्व पूरा गर्छौ ।’ सहयोगमा जुटेका सबै विद्यार्थीको एउटै भनाइ छ, 'रोगले मरेको देखेका छौं, भोकले कोही मरेको देख्न नपरोस् ।’