प्रचण्ड गुटगत राजनीति र परिवारवादमा रमाउन खोजे : मन्त्री साह
सिमरा : कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले देशलाई अझै प्रधानमन्त्री केपीशर्मा ओलीको खाँचो रहेको बताएकी छन्। मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृह जिल्ला बारा आएकी मन्त्री साहले प्रधानमन्त्री ओलीबिना देशको समृद्धि कल्पना गर्न नसकिने बताइन्। राम्रो काम गरिरहेको बेला प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने र असफल बनाउने षडयन्त्र भइरहेको मन्त्री साहको भनाई थियो।
‘राम्रो काम गरेकै कारण चारैतिरबाट प्रधानमन्त्री घेराबन्दीमा पर्नुभएको छ’ सिमरामा आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री साहले भनिन् ‘आफू पनि केही नगर्ने र अरुलाई पनि काम गर्न नदिने घेराबन्दीबाट प्रधानमन्त्रीलाई जोगाउनुपर्छ।’ प्रधानमन्त्रीमाथी ज्यान मार्ने धम्की आएको भन्दै मन्त्री साहले यस्तो गलत प्रवृतिको सधै विरोध गर्नुपर्ने बताइन्।
प्रचण्ड गुटगत राजनीति र परिवारवादमा
नेकपा एमाले प्रदेश २ कि अध्यक्षसमेत रहेकी साहले प्रचण्डलाई आफूले नभई प्रचण्डले आफूलाई छोडेर गएको बताईन्। पार्टी एकताले मान्यता नपाएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टिदै गर्दा साहले एमाले रोजेकी थिइन्। साहले एमाले राजेपछि माओवादी केन्द्रले उनलाई प्रदेश २ सभा सदस्य पदबाट समेत हटाएको थियो।
प्रदेश सभा सदस्य पद गुम्ने निश्चित भएपनि एमाले रोजेकी साहले प्रचण्ड गुटगत राजनीति र परिवारवादमा रमाउन खोजेको बताइन्। प्रचण्डले मुल घरमा आफूलाई ल्याएर राखेको र आफूले भने छाडेर गएको उनको भनाई थियो। ‘प्रचण्डलाई मैले छोडेको थिइन, प्रचण्डले हामीलाई छोडेको हो’ साहले भनिन् ‘मुल घरमा ल्याएर राखेर आफू हिड्नुभयो। गुटगत र परिवारवादमा रमाउनुभयो।‘प्रचण्डले छोडेर गएपनि आफूले राम्रो नेतालाई समर्थन गरेर एमालेमै बसेको उनको भनाई थियो।
मन्त्री साहले अब केही समय किसानको समस्या समाधानका निम्ति आफू सक्रिय भएर लाग्ने बताइन्। किसानले भोग्नुपरेको सिचाई अभाव, बीउबिजन र मलखादमा सहुलियतको समस्या, माटो परीक्षणलगायत थुप्रै काम तत्कालै गर्न आवश्यक रहेको बताइन्।
देशमा अधिकांश नागरिक कृषीमा निर्भर रहेकाले दिर्घकालिन योजनासहित अघि बढ्न जरुरी रहेको मन्त्री साहले बताइन्। उनले प्रदेश २ मा भैसीपालन सम्बन्धी अनुसन्धान केन्द्रको आवश्यकता देखिएको र यसका लागि आफूले योजना बनाउन लागेको जानकारी दिइन्।
प्रधानमन्त्री कृषी आधुनिकीकरण कार्यक्रम, फसल योजना बिमा, पशुपालन, दुग्ध किसानका लागि काम गर्न सकिने उनको भनाई थियो। ‘मैले कृषि र किसानको सन्दर्भमा जानकारी लिइरहेको छु। मन्त्रीपरिषदको बैठक पनि बस्दैछ’ उनले भनिन्‘त्यो बैठकपछि योजनासहित अघि बढ्नेछु।’