इजरायलको नवगठित सरकार भारतसँग रणनीतिक सम्बन्ध बढाउँदै
जेरुसेलम: इजरायलको नवगठित सरकारले भारतसँग रणनीतिक सम्बन्ध बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।
नवनियुक्त वैकल्पिक प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री याइर लापिडले सोमबार भारतसँग रणनीतिक सम्बन्ध बढाउन सरकारले काम गर्ने प्रतिक्रिया दिएका हुन् । १२ वर्षदेखि प्रधानमन्त्री रहेका बेन्जामिन नेतान्याहूको सत्ता ढलेको भोलिपल्ट नयाँ सरकारबाट विदेश नीति बारे यस्तो प्रतिक्रिया आएको हो ।
"म हाम्रा मित्र राष्ट्रहरुबीच रणनीतिक सम्बन्ध बढाउनका लागि काम गर्न लागिरहेको छु । र उनीहरुलाई इजरायलमा छिट्टै स्वागत गर्ने आशा गर्छु," लापिडले भने ।
भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटरमार्फत् लापिडलाई बधाइ दिएपछि उनले प्रतिक्रिया स्वरुप यस्तो उल्लेख गरेका थिए । जयशंकरले आफ्ना इजरायली समकक्षीलाई बधाइ सन्देश दिएका थिए ।
विपक्षी दलहरुको गठबन्धनबाट परराष्ट्रमन्त्री बनेका लापिड एश यतिद पार्टीका प्रमुख समेत हुन् । गठबन्धन दलहरुको सम्झौता अनुसार उनले अर्को कार्यकाल अर्थात २०२३ देखि २ वर्षसम्म सरकारको नेतृत्व गर्नेछन् ।
यसअघि नै गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेका नफ्ताली बेनेटलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका थिए । साथै उनी बेनेटलाई भेट्न र दुई देशबीच रणनीतिक सम्बन्ध बलियो बनाउन चाहेको बताएका थिए ।
निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले समेत १२ वर्षको कार्यकालमा भारतसँगको रणनीतिक सम्बन्धलाई जोड दिएका थिए । यसका लागि पनि मोदीले नेतान्याहूलाई धन्यवाद समेत दिए । इजरायलमा पटक पटकको आन्दोलनपछि बनेको ८ वटा विपक्षी दलहरुको गठबन्धनले बलिया मानिएका नेतान्याहूलाई पदमुक्त गराएको हो ।
यससँगै आइतबार संसदबाट दक्षिणपन्थी पार्टी यामिना पार्टीका ४९ वर्षीय नेता नाफ्ताली बेनेट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।