म्याराडोनाका चिकित्सक सहित हेरचाहमा संलग्न ७ जनामाथि सोधपुछ सुरु
ब्यूनर्स आयर्स: अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई अन्तिम दिनहरुमा उनको हेरचाहमा लापरवाही तथा उपेक्षा गरेको भन्दै उनका चिकित्सक सहित अरु सात जनामाथि सोधपुछ गरिँदैछ ।
निधन हुनुभन्दा केही वर्षअघि देखि बिरामी रहेका म्याराडोनाको हेरचाह गर्ने जिम्मा लिएका उनीहरुमाथि सोमबारदेखि सोधपुछ गर्न थालिएको हो ।
म्याराडोनाको निधनपछि उनको स्वास्थ्य हेरचाह गर्नेले लापरवाही गरेको भन्दै उजुरी परेको थियो । हाल उनको हेरचाहमा संलग्न सात जनामाथि अनुसन्धान गरिएको हो । प्ररम्भिक चरणको अनुसन्धानको क्रममा लापरवाहीका कारण म्याराडोनाको निधन भएको निष्कर्ष थियो ।
महान फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा गत वर्षको नोभेम्बरमा निधन भएको थियो । हृदयघातका कारण उनको निधन भएको बताइएको थियो । मस्तिष्क शल्याक्रिया सुरु गरेको केही सातामै उनको निधन भएको थियो ।
म्याराडोनाको निधनपछि उनका दुई सन्तानले चिकित्सक सहित सात जनाविरुद्ध मुद्दा दायर गरेका थिए । उनीहरुमाथि अबको दुई सातासम्म घटनाबारे सोधपुछ गरिनेछ ।
साथै आरोपी सातै जनालाई देश नछाड्न समेत निर्देशन दिइएको छ । यदी उनीहरुले मुद्दा हारेको अवस्थामा ८ वर्षदेखि २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने छ । म्याराडोनाका चिकित्सकले म्याराडोना आफ्ना अन्तिम दिनहरुमा ज्यादै निराश भएको बताएका छन् । र उनले मुद्दा खारेज गराउन प्रयास गर्दैआएका छन् ।
खेलजीवनमा सफलताका बावजुद म्याराडोनाको व्यक्तिगत जीवन अव्यवस्थित थियो । उनी अत्याधिक मदिरा तथा लागूऔषधको लतमा फसिसकेका थिए । जसकारण उनले विभिन्न रोगको सामना गर्नु परेको थियो ।