बजेट तयारी गर्दै स्थानीय तह

बजेट तयारी गर्दै स्थानीय तह

दाङ : जिल्लाका स्थानीय तह बजेट निर्माणमा जुटेका छन्। दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका बजेटको तयारीमा जुटेका हुन्। स्थानीय तहहरू पालिकास्तरीय नीति निर्माण, योजना तर्जुमा, पूर्व योजना तथा बजेटको समीक्षा, उपलब्धिलगायतका विषयमा छलफल एवं खाका तयार पार्ने काममा व्यस्त रहेका छन्।

आर्थिक वर्ष २०७७/७८ मा ल्याइएका नीति तथा कार्यक्रम र बजेटको उपलब्धि, कार्यान्वयन, सकारात्मक पक्ष र कमजोरी पक्षलाई पहिचान गर्नका लागि समीक्षा  भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले बताए।

उपमहानगरपालिकाले एक सातादेखि नीति तथा योजना तर्जुमा गरिरहेको उनले जानकारी दिए। वडास्तरमा योजना छनोट तथा सुझाव संकलन गरी त्यसैका आधारमा बजेट विनियोजन हुने उनले बताए। 

बहुवर्षीय योजनालाई प्राथमिकता दिएर अधुरा आयोजना पूरा गर्ने स्थानीय तहको तयारी छ। तुलसीपुर उपमहानगरपालिकाले नीति निर्माण तथा योजना तर्जुमाका लागि योजना बैँक स्थापना गरेको छ। उक्त योजना बैंकमार्फत पनि योजनाहरू छनोट गरिने प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए। विषयगत समितिहरूसँग छलफल गरेर कुन योजनालाई कसरी परिचालन गर्ने, कति प्राथमिकता दिने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ। ‘हामीले वडाहरूलाई योजना छनोट र सुझाव संकलन गर्न पत्राचार गरिसकेका छौँ’, उनले भने, ‘सबै वडाहरूबाट सुझावसहितको योजनाको खाका आयो भने छलफल गरेर सोहीअनुसार बजेट ल्याउने छौँ, अहिले सुरुआत मात्रै भएको छ।’ पूल निर्माण, पक्की नाला निर्माण, काठेपुल, ह्युम पाइप निर्माणलगायतका योजनाहरूलाई प्राथमिकतामा राख्ने तयारी तुल्सीपुरको छ। माध्यमिक तहको विद्यालय सञ्चालनका लागि कम्तीमा पाँचजना शिक्षकको सुनिश्चितता गर्ने, तलब वृद्धि गर्ने, छात्रवृत्ति उपलब्ध गराउने, घरमै पढ्न सक्ने गरी पुस्तक प्रकाशन गर्ने, शिक्षक आपूर्तिका विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

घोराही उपमहानगरपालिकाले नीति तथा योजना निर्माणको तयारी थालेको छ। उपमहानगरले योजना छनोट तथा सुझाव संकलनका लागि महाशाखालाई पत्राचार गरिसकेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए। महाशाखाबाट आएका योजनाहरू विषयगत समितिसँग छलफल गरेर योजना तर्जुमा तथा बजेटको तयारी गरिने उनले बताए। कोरोना महामारी अझै पनि नियन्त्रणमा नआएकाले सामाजिक विकास शाखा र पूर्वाधार विकासका योजनाहरू प्राथमिकतामा राखिने उनको भनाइ छ। 

बबई गाउँपालिकाले वार्षिक योजना र लक्षित वर्गले लाभ लिन सक्ने गरी नीति तथा कार्यक्रमसहितको बजेट ल्याउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले बताए। राजपुर गाउँपालिकाले आगामी वर्षको बजेटको तयारीका लागि पहिलो चरणको बैठक बसिसकेको जनाएको छ। कोभिड महामारीको त्रासका कारण कर्मचारीहरू कार्यालयसम्म आउने वातावरण नभएकाले बजेट तथा योजना तर्जुमाको तयारी केही ढिला भएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनालले बताए।

शान्तिनगर गाउँपालिकाले पनि वडाहरूलाई योजनाको खाका तयार गर्नका लागि पत्राचार गरेको छ। वडाबाट आएका योजनाहरूको स्रोत अनुमान गरी प्राथमिकताका आधारमा बजेट तय गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवन्तबहादुर डाँगीले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.