अफगानिस्तानमा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण, चार जना मारिए
काबुल: अफगानिस्तानको पूर्वी क्षेत्रस्थित स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्दा चार जना मारिएका छन् । नांगारहार क्षेत्रस्थित पोलियो थोपा अभियानका स्वास्थ्यकर्मीमाथि लक्षित गर्दै मंगलबार आक्रमण भएको हो ।
तीन महिनाको अवधिमा खोपका कर्मचारीहरुमाथिको यो दोस्रो आक्रमण हो । सरकारी अधिकारीहरुले भने यस घटनालाई तालिबान आक्रमण भन्दै आरोप लगाएका छन् । तर तालिबान समूहले यस आक्रमण आफूले गरेको कुरा अस्वीकार गरेको छ ।
अफगानिस्तान, पाकिस्तान लगायत छिमेकी देशमा पोलियो तथा अन्य विभिन्न खोप अभियान सञ्चालनमा भए पनि ती देशमा यस्ता खोपबारे अफवाह समेत फैलाइएका छन् ।
मंगलबार खग्यानी जिल्लामा भएको आक्रमणको क्रममा दुई खोप कर्ताहरु मारिनुका साथै एक जना घाइते छन् । जवकि दुई जना सुर्खोड क्षेत्रमा मारिएका थिए ।
यस्तै प्रान्तीय राजधानी जलालवादमा तीन जना खोपकर्ता घाइते भएका छन् । नांग्रहार प्रान्तमा पोलियो खोपकर्मीहरुमाथि बारम्बार आक्रमण भएपछि उनीहरुलाई त्यस क्षेत्रमा जानबाट रोकेको पनि सरकारी अधिकारीले बताएका छन् ।
जलालबादमा तीनजना पोलियो कर्मीहरु मारिएको तीन महिना नपुग्दै यस्तो हमला भएको हो । अफगानिस्तानका विभिन्न स्थानमा पोलियो कर्मीहरुमाथि बारम्बार यस्ता आक्रमण हुने गरेका छन् । तर अफगान सरकार र अमेरिकी अधिकारीले भने यस्ता हमलामा तालिबानलाई जिम्मेवार भन्दै आरोप लगाउने गरेका छन् ।
सरकारी अधिकारीहरुका अनुसार तालिबान समूहले आफ्नो प्रभाव क्षेत्रमा स्वास्थ्यकर्मीहरुलाई घरघरमा पुगेर खोप लगाउने काम रोक्ने गरेको छ ।
"हामी यस्तो अवस्थामा पुगेका छौँ कि व्यवस्थित रुपमा जागिर खाएर हाम्रो र हाम्रा बालबालिकाको जीवन बचाउन आएका चिकित्सक, नर्स, खोपकर्मीहरु, मानवअधिकार रक्षकहरु नै मारिने गरेका छन्," स्वतन्त्र मानवअधिकार आयोगका प्रमुख शाहरजाद अकबरले बताए । उनले भनेका छन् "यहाँ न कुनै प्रभावकारी रोकथामको संयन्त्र छ न त दोषीमाथि दण्ड सजाय नै ।"