धानको बाला झुल्यो

धानको बाला झुल्यो

बर्दिबास : चुरेको किनारबाट बग्छ महोत्तरी र धनुषाको साँधमा पर्ने रातु खोला। त्यही खोलाको पश्चिम किसानमा १५ वर्ष अघिसम्म बाढी कुद्थ्यो। तर, अहिले त्यो बगरमा ५२ वर्षीय भीमबहादुर समालको सिंगो परिवारको खुसी फक्रिएको छ। उनी मात्रै होइन् २० भन्दा बढी किसानले १५–२० बिघामा बगरलाई मलिलो बनाएर खेतीपाती गर्छन्। सावित्री जातको धानको बाला किसानहरूको खेतबारीमा फष्टाएको छ। चार मनको कठ्ठा धान फल्छ। रातु पुलभन्दा उत्तरतिरको बगरमा केरा खेती पनि लगाइएको छ। कतिपयको बसोबास पनि छ।

बगरमा उम्रेको काँस फालेर किसान भीमबहादुरले धान खेती गर्न सुरु गरेका थिए। गाईबस्तुको कम्पोष्ट मल हाले। खनजोत गरे। बाढीले बालुवा थुपारेको खेतमा मिहिनेतले धानको बाला लहलह झुलेको छन्। उनको एक बिघामा धान खेती छ । चैत्रमा उनले खेती लगाएका हुन्। उनी दंग छन्। त्यो खेतमा ५० –५५ मन धान फल्छ। चैते धान काटेर असारमा उनले अर्को धान खेती लगाउने योजनामा छन्। मंसिरमा त्यो धान खेती भित्र्याएपछि गहुँ फलाउँछन्।

चुरेबाट बग्ने रातु खोलाको किनारमा तटबन्ध भएपछि किसानहरूले खेती गर्दै आएको खेतमा बाढी पसेको छैन। रातु खोलाको त्यो बगरमा किसानहरू वर्षमा तीन बाली खेती लगाउँछन्।

आली नजिकै छाप्रोमा भीमबहादुर रेडियो सुन्दै खेती गर्छन्। चैते धान असारमा काटेर उनी फेरि अर्को धान खेती लगाउने योजनामा छन् । खेतमा छरेको धानको बिउ उम्रिसकेको छ। ‘खनजोत गरेर धानखेती लगाएँ। दुई पटक गोडमेल गरे। धान खेती राम्रै छ,’उनले भने, ‘मेरो १७ जना जहान परिवारलाई वर्षभर खाना कही अन्न खोज्न जानु पर्दैन।’ रातु खोलाबाट कुलो खनी पानी ल्याई उनले सिँचाइ गर्दै आएका छन्। तर, त्यो कुलो बाढीले बगाएर हैरान बनाउने गरेको उनी बताउँछन्। ‘चुरेको तल्लोे भागबाट बालुवा गिटीको दोहन भइरहेको छ। माथिल्लो भागमा त्यहाँको रूखबिरुवा कटानी रोकिएको छैन,’उनले भने, ‘चुरे कमसल पहाड हो। त्यहाँको रूखबिरुवा कटानी हुँदा नांगो चुरे क्षेत्रमा थोरै पानी पर्दा पनि पहिरोको वर्षात् हुन्छ।’ सरकारले चुरे संरक्षणमा गरिरहेको प्रयासले हामी किसानहरूले पुनर्जीवन पाएको महसुस गरिरहेको उनले बताए।

चुरेबाट बग्ने रातु खोलाको संरक्षणमा जनताको तटबन्ध, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको कार्यालय जनकपुर, डिभिजन वन कार्यालय महोत्तरी, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासले करोडौं रुपैयाँ लगानी गरिसकेका छन्। चुरेका वन क्षेत्रमा चरी चरनमा रोक लगाएर नांगो डाँडाहरूमा प्रत्येक वर्ष वृक्षरोपण गरिँदै आएको छ। बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजन ढुंगानाका अनुसार, रातु खोलामा तटबन्ध निर्माणसँगै राजाबास, पर्साहिधाप, पाटु, गौरिडाँडाँमा ३ सय बिघा खेतीयोग्य जग्गा र दर्जनौं बस्ती सुरक्षित भएको छ। ‘चुरे संरक्षण गर्नुपर्छ। नत्र हामी किसानहरू एक गेडा पनि अन्न फलाउन सक्दैनौं। अनि देशभरिकाले के खान्छ ? पैसा त खाँदैन नि। चुरे रहे भने मात्रै पानी रहन्छ। अनि हामी रहन्छौं,’ उनले भने।

 २०५२ सालको साउनमा उनी साँझ धान खेत हेरेर गएका थिए। बिहान आउँदा धान खेतमा बाढी कुदिरहेको थियो। भीषण  वर्षाले रातु खोलामा  बौलाएर आएको  बाढीले धानखेतमा बालुवा, गिट्टी पुरिदियो।

‘हरियो धानखेतमा बाढी कुदिरहेको देखेपछि मन रोयो। अब कसरी परिवार पाल्ने ? भएको धान खेत खोलोले निल्यो, भीम बहादुर त्यो क्षण सम्झिन्छन्। उनको वुवा  धनबहादुर २०२० देखि त्यहाँ खेती गर्दै आएका थिए। चुरेमा वनजंगल, हावापानी, रूखबिरुवा, जनावर, जडीबुटी सबै छन्। ‘यसलाई बचाउनु पर्छ अनि त्यसपछि मात्रै हामी बाँच्छौं। चुरेबाट काठ, बालुवा, गिटीको चोरी हुन्छ। हाम्रो खेत नजिकैबाट नदीजन्य पदार्थको चोरी हुन्छ। कसैले हेर्दैन,’ उनले दुःखेसो पोखे।

भोको पेट भर्ने धान खेत नभएपछि परिवार पाल्न उनले १५ वर्ष ज्याला मजदुरी गरे। ‘पछि खोलामा बाँध निर्माण भएपछि खोला पुरानै ठाउँमा फर्कियो। बगरलाई हामीले खनजोत गरेर खेत बनायौं। खेतमा अहिले मज्जाले खेती हुन्छ,’ उनले भने, ‘चुरे भनेको हाम्रो भगवान् हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.