कालीगण्डकीको बाढीले सेतीवेणीका ८ घरमा क्षति, जोखिम कायमै
स्याङजा : केही दिनदेखिको लगातारको वर्षाले कालीगण्डकी नदी बढेपछि सेतीवेणी बजारका ८ वटा घरमा पूर्ण क्षति पुगेको छ। उच्च बाढीका कारण गल्याङ नगरपालिका ५ स्थित सेतीवेणी बजार डुवानमा पर्दा ती घरमा पूर्णक्षति पुगेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
सचेत र जागरुकका कारण मानवीय क्षति हुन पाएन। मानवीय क्षति नभए पनि करोडौं मूल्य बराबरको धनको क्षति पुगेको छ। पुराना शैलीका ती घरका आधाआधी भाग भत्केका छन्। घरका आधाआधी भाग डुवानमा छन्। घरभित्रका सामान झिक्न नपाउँदा सबै नदीले बगाएको छ।
मानवीय क्षति हुन नदिन प्रहरी, स्थानीयबासी, जनप्रतिनिधि र रेडक्रसको सहकार्यमा ती परिवारलाई उद्धारगरी सुरक्षित स्थलमा सारिएको छ। प्रनाउ अधिकारीका अनुसार ‘गल्याङ ५ सेतीवेणी निवासी केशबहादुर क्षेत्रीको दुई तले, केशराज न्यौपानेको ३ तले, ठाकुरप्रसाद श्रेष्ठको २ तले, रेशमराज न्यौपाने २ तले, लक्ष्मी पति न्यौपानेको २ तले, गुरुबहादुर क्षत्रीको २ तले घर, तेजराम काफ्ले २ तले, त्रिबिक्रम हेजुको २ तले कच्चीघरहरु पूर्णरुपमा नष्ट भएका छन।’
यसैगरी, कालीगण्डकी नदीमा पानीको बहाव कम भएको छैन। अझैं पनि बजारका अन्य १५ घरहरु सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको वडाअध्यक्ष बिष्णुबहादुर क्षेत्रीले जानकारी गराए।
उनले भने, 'सेतीवेणी बजारको तल्लो खण्ड अझैं उच्च जोखिमै छ। यहाँका ३५ घर डुवानको उच्च जोखिममा छन्।’ पानीको बहाव उच्चदर बढेसँगै कालीगण्डकी जलविद्युत उत्पादन केन्द्रका ड्यामका ढोकाहरु खोलिएका छन्। अहिलेसम्म पनि यहाँ पानी परिरहेको छ।