ज्यानभन्दा दाउराको माया
सुस्ता : गण्डक बाँधको ठोकर नं. १३ मा बिहीबार पुग्दा स्थानीय मनोज गौड उर्लंदो भेलमा पसेका दुई जना साथीलाई चिच्याएर भन्दै थिए– ‘माथिबाट ठूलो गोलिया (मुढा) आएको छ त्यसलाई छोप। भेलमा पसेका अन्य व्यक्तिहरू पनि त्यही मुढालाई छोप्ने दाउमा नदीको बीचतर्फ जाँदै थिए। बलिया युवाहरू भेलको प्रवाह नगरी नदीको बीचतर्फ जाने कोसिस गर्दै थिए। पाका उमेर र महिलाहरू नदीकिनारमा बसेर स–साना दाउरा बटुल्दै थिए।
आकाशे पानी र नदीको पानीले निथ्रुक्क भिजेका केही स्थानीय भने भेलबाट आफूले निकालेका दाउरा मिलाएर राख्नमा व्यस्त थिए। कोही ट्र्याक्टर र साइकलमा राखेर दाउरा, काठ घरतर्फ लैजाँदै थिए। नारायणी नदीमा हरेक वर्षमा आउने उर्लंदो भेलमा पसेर स्थानीयहरू यसरी नै काठ दाउरा छोपेर निकाल्ने गरेका छन्। भेल आएपछि पश्चिम नवलपरासी सुस्ता गाउँपालिकास्थित नर्सही र आसपासका गाउँलेहरूका लागि काठ दाउरा संकलन गर्ने कार्य दिनचर्या जस्तै बनेको छ।
हरेक वर्ष काठ दाउरा छोप्ने क्रममा भेलले बगाएर स्थानीयहरू बेपत्तासमेत हुने गरेका छन्। गत वर्ष पनि भेलले बगाएर दुई जना बेपत्ता भएका थिए। बेपत्ता भएकाहरू प्रायः भेटिने नगरेको नर्सहीका जितबहादुर गुरुङले बताए। ‘हरेक वर्ष यसरी नै काठ दाउरा छोप्ने कार्य परम्परा जस्तै बनेको छ। खाना पकाउन र अन्य प्रयोजनका लागि स्थानीयहरू भेलमा ज्यानकै बाजी लगाएर पस्ने गरेका छन्,’ उनले भने।
भेलमा गएर काठ दाउरा संकलन गर्नु ज्यानका लागि जोखिम भएको थाहा हुँदाहुँदै पनि स्थानीयहरू गण्डक बाँधमा निर्माण गरिएका विभिन्न ठोकरहरूमा पुगेर बिहानदेखि साँझसम्म काठ दाउरा छोप्न व्यस्त रहन्छन्। जति सम्झाए पनि पहिल्यैदेखि गर्दै आएको काम भन्दै नछोड्ने गरेको गुरुङले सुनाए। नदीको बीचमा आउने काठ दाउरा छोप्न स्थानीयहरूले रसी लगाएको फलामको अंकुश प्रयोग गरेर निकाल्ने गर्दछन्।
जंगल नजिक नभएकाले दक्षिण भेगमा खाना पकाउन र अन्य प्रयोगका लागि दाउरा अभाव छ। धेरै स्थानीय दाउराकै लागि ज्यान जोखिममा राखेर नदीको भेलको प्रवाह नगरी जाने गरेका छन्। ‘जंगल नजिक छैन, वर्षायाममा भेलमा बगेर आउने दाउरा छोप्नुको विकल्प छैन,’ अर्का स्थानीय जितेन्द्र हरिजनले भने। ज्यानभन्दा दाउरा ठूलो नभए पनि सबै जना नदीमा जाँदा आफू पनि जाने गरेको उनले बताए।
काठ दाउरा आउनेबित्तिकै स्थानीय हामफालेर छोप्न जाने गरेको अर्का स्थानीय ओमप्रकाश दुसहीले बताए। केही स्थानीयहरू घरायसी प्रयोजनका लागि भेलमा पुगेर दाउरा संकलन गर्ने गर्दछन्। केही भने व्यावसायिक उद्देश्यले काठ संकलन गर्न पुग्ने गरेका छन्। भेलमा छोपेका रूख र मुढालाई उनीहरूले स्थानीय फर्निचरहरूमा बिक्री गर्ने गरेका छन्।
ठूला काठ खरिद गर्न व्यापारीहरू संकलन स्थानमै पुग्ने गर्दछन्। समूह बनाएर संकलन गर्ने एक समूहले एक सिजनमा ७ देखि ८ लाख रुपैयाँसम्मको काठ बेच्ने गरेका छन्। अहिले पनि एक सिजनमा कम्तीमा पनि ५० देखि ६० लाखसम्मको काठ संकलन हुने गरेको स्थानीयले बताएका छन् । लाखौं रुपैयाँ कमाइ हुने भएपछि काठ संकलनका विषयमा स्थानीयबीच झडपसमेत हुने गरेको छ।
त्यसरी बगेर आउने काठ दाउरा संकलनका लागि तत्कालीन जिल्ला विकास समितिले ‘दहत्तर/बहत्तर’ नाम दिएर लाखौंको ठेक्का लगाउने गरेको थियो। स्थानीय सरकार आएपछि भने ठेक्का लगाइएको छैन।