लेखा प्रमुखबाट दुर्व्यवहार भयो भन्दै मुगु जिल्ला अस्पतालका चिकित्सकहरु आन्दोलित
मुगुः जिल्ला अस्पातलम मुगुमा कार्यरत डाक्टरहरुले लेखा शाखा प्रमुखले आफूहरुलाई धम्कीपूर्ण दुर्व्यवहार गरेको भन्दै ईमर्जेन्सी वाहेक अस्पातलका सबै सेवा बन्द गरेको बताएका छन् ।
बिहीबार स्वास्थ्य सेवा कार्यालयका लेखा प्रमुखसँग आफ्ना १५ वुँदे माग राख्दै प्रशासनसम्म पुगेका चिकित्सकहरुले आफूहरुमाथि दुर्व्यवहार भएको भन्दै अस्पतालका कुनै पनि सेवा सञ्चालन हुन नदिने चेतावनी दिएका हुन् ।
अस्पतालका लेखा प्रमुखले आफूहरुलाई धम्की र दुर्व्यवहार गरेको अस्पातलमा कार्यरत डाक्टरहरुको गुनासो छ । बिहीबार साँझ ६ बजेदेखि आफ्ना माग पूरा नहुन्जेलसम्म अनिश्चितकालका लागि अस्पतालको ईमर्जेन्सी सेवा वाहेक अन्य सेवा संचालन गर्न नसकिने अस्पातलमा कार्यरत डाक्टरहरुले बताएका हुन् ।
बिहीबार जिल्ला अस्पातालमा कार्यरत १० जना डाक्टरहरुले हस्ताक्षर गरेको १५ वुँदे मागसहित लेखा प्रमुख सुरेश केसीसँग भेट गरेका थिए । मागबारे छलफलका लागि समेत उनीहरुले प्रशासनलाई आग्रह गरेका थिए ।
निश्चित समयसै मासिक तलब तथा सेवा सुविधा पाउनुपर्ने, सूचना तथा समाचारका लागि टेलिभिजन, मासिक रुपमा जम्मा गरिने नागरिक लगानी कोषको रकम, ईन्टर्नशीपको रकम, बिरामीका लागि चाहिने औषधि खरिद गर्दा वा संख्या निर्धारण गर्दा परार्मश नलिइ खरिद गर्ने गरेको, लेखा प्रमुख कार्यालयमा नआई आफ्नो कोठालाई कार्यालयको रुपमा प्रयोग गर्दैआएको, अस्पतालका उपकरण तथा अन्य सामग्री उपयोग गर्न नसकेको, महिनौँदेखि अस्पातमा रहेका एक्सरे, ईसिजी यूएसजी पेपरको व्यवस्था नगरेको, अस्पतालको एम्बुलेन्स सञ्चालनमा नल्याएको लगायत विषयमा छलफल गर्न आफूहरु लेखा प्रमुख केसीकहाँ पुगेको डा कविराज पौडेलले बताए । लेखा प्रमुख केसीले भने चिकित्सकहरुले अनावश्यक माग राखेकाले असहमति भएको जिकिर गरेका छन् ।