हत्या आरोपमा चार युवक थुनामा
राजविराज : खुकुरीले प्रहार गरी हत्या गरेको आरोपमा सप्तरीका चार युवक पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेका छन् ।
सप्तरी जिल्ला अदालतको आदेशमा रुपनी गाउँपालिका–१ रायपुरका ३० वर्षीय मनोजकुमार यादव, सोही उमेरका बिनय यादव, २४ वर्षीय मुकेशकुमार यादव र खडक नगरपालिका–५ का ३१ वर्षीय महेशकुमार पासवान कारागारमा थुनामा पुगेका हुन् ।
प्रहरीले अराोपितहरुलाई जेठ ६ गते पक्राउ गरी ज्यान मार्ने उद्योगमा कारवाही थालेकोमा रामदलको मृत्युपश्चात कर्तव्य ज्यान मुद्दामा परिणत गरी कारवाही थालिएको डिएसपी माधवप्रसाद काफ्लले बताए ।
मादक पदार्थ र नशालु पदार्थ खाएर बुधबार राति आपसमा झगडा हुँदा आरोपितहरुले धारिलो हतियारले निर्घात कुटपिट गरेको स्थानीयले बताए । अनुसन्धानका क्रममा प्रहरीले जेठ ६ गते नै आरोपितहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका आरोपितहरुले कदम हटिया नजिक गाउँकै पोखरीमा माछापालन गरेर बसेका रामदलसँग बुधबार दिउँसो झगडा गरेको मृतकका परिवारका सदस्यले बताएका छन् ।
सोही झगडाको रिसमा मादक पदार्थ र नशालु पदार्थ खाएका आरोपितहरुले बुधबार राति कुटपिट गरेर घाइते अवस्थामा सडक किनारमा छाडेको मृतकका दाजु सरोबर यादवले बताए । अनुसन्धानका क्रममा माछा, रक्सी खुवाउने भट्टीवाला सुगेन यादललाई समेत प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरेको थियो ।
पक्राउ परेका युवाहरु यसअघि पनि कुटपिट र लागूऔषध ओसारपसारको आरोपमा पटक–पटक पक्राउ परेको स्थानीयवासीले बताए ।