रोकिएन केराउ तस्करी

रोकिएन केराउ तस्करी

परासी : पश्चिम नवलपरासीका नाकाहरूबाट केराउ तस्करी बढेको छ। निषेधाज्ञा जारी भएको केही समय तस्करीमा कमी आए पनि पश्चिम नवलपरासीमा तस्करी हुन थालेको हो। सीमावर्ती क्षेत्रका भूजहवा, बसैया, जगन्नाथपुर, बिस्नुपुरालगायतका नाकाबाट दिनहुँजसो केराउ भारततर्फ तस्करी हुँदै आएको छ। 

सबैभन्दा बढी बसैया र जगन्नाथपुरबाट जाने गरेको स्थानीयले बताएका छन्। ‘बसैया ठाउँ त केराउको अखडै रहेछ। भारतबाट ट्याक्टर ल्याएरसमेत पिकअप भ्यानबाट अनलोड गरेर लैजाने गरेका छन्।’ एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने। ती नाकाहरूबाट दैनिक ४० देखि ५० पिकअप भ्यान केराउ भारत जाने गरेको उनले बताए। नाकाहरूमा पिकअप भ्यान लैजाने र त्यहाँबाट भारतीय ट्याक्टर, साइकल र मोटरसाइकलबाट केराउ भारततर्फ लैजाने गरेका छन्। जिल्लाबाट तस्करीमा कडाइ गरे पनि सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीका इन्चार्जको मिलेमतोमा केराउ तस्करी हुने गरेको पाइएको हो। तेस्रो मुलुकबाट आउने हरियो केराउ नेपालमा भन्दा भारतमा महँगो पर्ने भएकाले तस्करी  बढेको हो। 

गत वर्ष केराउको तस्करी बढेपछि जिल्लास्थित सुरक्षा समितिको बैठकले कोरोनाको कारण देखाउँदै ओसारपसार गर्ने सवारीसाधनमा रोक लगाएको थियो। त्यस वर्ष केराउ ओसारपसारमा प्रतिबन्ध लगाएपछि तस्करहरूको दबाबमा उद्योग वाणिज्य संघकै प्रतिनिधिहरू जिल्ला प्रशासन पुगेर कारोबारलाई सुचारु गर्न आग्रह गरेका थिए। तर प्रशासनले मानेको थिएन। 

सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका चेकिङ पोस्टहरू छन्। केराउको तस्करी गर्ने कारोबारीले सीमा नाकाको दसगजा नजिकको ठेगाना राखेर पसल दर्ता गर्ने र सोही पसलको गोदाममा लगेर राख्ने गर्दछन्। त्यहीबाट उनीहरूले भारततर्फ पठाउने गरेका छन्।  सीमा क्षेत्रका नेपाली पसलका गोदाममा राखिएका केराउलाई अवैध भनेर प्रहरी र राजस्व कार्यालयले बरामद गर्न नसक्ने कानुनी झन्झटको फाइदा उठाउँदै तस्करहरूले भारतर्फ तस्करी गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले बताए। मातहतका प्रहरी चौकीलाई केराउ तस्करीलाई नियन्त्रण गर्न कडा निर्देशन दिइएको उनले बताए। 

‘केराउ बोकेर हिँडेका सवारीसाधनलाई चेक गर्दा भन्सारसहित सबै कागज देखाउँछन्। यो तस्करी गर्नकै लागि हो भन्ने थाहा छ। तर के गर्नु कागजपत्र भएपछि समस्या हुँदो रहेछ। तैपनि निगरानी बढाएर तस्करीमा कमी ल्याउने प्रयास गरिरहेका छौं।’ प्रहरी उपरीक्षक केसीले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.