फुर्सदमा सिर्जनात्मक बन्ने कि ?

फुर्सदमा सिर्जनात्मक बन्ने कि ?

संसारमा सबैभन्दा महत्त्वपूर्ण भनेकै समय हो। यसको न कुनै मूल्य छ न यसलाई रोक्न, छेक्न सक्ने कसैको तागत छ। बस यही समयले मान्छेलाई महान् बनाउँछ, बलवान् बनाउँछ र यसैले तुच्छ र निर्बल पनि बनाउँछ। मानवदेखि जीवजन्तु प्राणीसम्मले समयकै पाबन्दीमा जीवन बिताउनै पर्छ। जीवनयापन तथा व्यवहारमा सबैभन्दा सस्तो र सहज रूपमा उपलब्ध हुने फेरि समय नै हो। साथीभाइसँग होस् या चाहे घरपरिवारसँग, अमूल्य समयको धेरै भाग यसै खेर फ्याँकिरहेका हुन्छौं। अहिलेको सामाजिक सञ्जाल होस् या राजनीतिक विश्लेषण, ज्ञानको भण्डार उपयोगको तुलनामा दुरुपयोग नै बढी भएको देखिन्छ।

बस्, आफूलाई सिर्जनात्मक बनाउनु पर्‍यो। दुनियाँमा आफू चिनाउने यो समयको उपहार हो। लगनशील र सिर्जनशील भइदिनुभयो भने तपाईको जीवनको यो ‘टर्निङ प्वाइन्ट’ हुनसक्छ।

अझै भन्नुपर्दा हाम्रो देशमा यसको दुरुपयोग चरम उत्कर्ष नै देखिन्छ। हरेक समय ज्ञान प्राप्त गर्न खोजिरहेका हुन्छौं तर प्राप्त ज्ञान बाँड्न भने कन्जुस्याइँ गर्छौं। किताबमा ढड्डा पढेर आर्जन गरेको ज्ञानलाई मात्र होइन, जीवनमा आफूले पढेर वा परेर, जानेर, सिकेर आर्जन गरेको अनुभवरूपी ज्ञान बाँडेमात्र आफ्नो ज्ञानको तह पनि बढ्छ। प्राप्त ज्ञान जीवनभर रहिरहन्छ जबसम्म मस्तिष्कले सम्झन सक्छ। अहिलेको आधुनिक युग विज्ञानको युग हो। युवा सन्तति धर्म, संस्कृति, अध्यात्म र परम्पराभन्दा प्रमाणित, तथ्य र मूर्त कुरामा विश्वास गर्छन्। सनातनी तत्य र पौराणिक कथाहरूलाई वास्तविक कथाहरू नै ठान्छन्। हामी कखगघ भन्दा पहिले एबीसीडी सिकाउन खोज्छौं। नेपालीभन्दा अंग्रेजी बोलेको रुचाउँछौं। सन्तानलाई नेपाली भजन, प्रवचन होइन, हिन्दी र अंग्रेजी गीत र डाइलग सिकाउँछौ। सम्भवत यो समयको प्रतिस्पर्धात्मक युगको बाध्यता पनि हो।

डेढ वर्षदेखि कोरोना महामारीले विश्व आतंकित छ। करोडौं मान्छे घरमा बसेर अमूल्य समय व्यतीत गरिरहेका छन्। करोडौं संख्यामा संक्रमित भएका छन्, लाखौं संख्यामा मृत्यु भइसकेका छन्। प्रथम लहरपछि अहिले दोस्रो लहर चलेको छ। कति लहरमा गएर अन्त हुने हो कसैले अनुमान गर्न सकिरहेका छैनन्। कोरोनासँग लड्न र यसलाई उन्मूलन गर्न भारत, चीन, रुस, बेलायत, अमेरिकाजस्ता राष्ट्रले कोरोनाविरुद्धको खोप उत्पादन गरी लगाउँदै छन्। तथापि अहिलेसम्मको रेकर्ड अनुसार विश्वमा कुल जनसंख्याको ५.९ प्रतिशतले मात्र पूर्णरूपमा भ्याक्सिन लगाउन पाएका छन् जसमा अमेरिका, बेलायतजस्ता देशले ४० प्रतिशतभन्दा बढी जनतालाई पूर्णरूपमा खोप लगाइसकेका छन्। छिमेकी देशहरू भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंकाजस्ता धेरै देशका ५ प्रतिशतभन्दा कमै जनताले पूर्ण रूपमा खोप लगाउन पाएका छन्। छिट्टै खोप लाउन पाउने आशा पनि कमै देखिन्छ। पाँच सातादेखि लकडाउन हुँदा नेपालीको जनजीवन अस्तव्यस्त छ।

अमूल्य समयहरू धेरैको फेसबुक, फिल्म, टिकटक र राजनीतिक खिचातानीका अप्राकृतिक खेलहरूका समाचार हेरेरै बित्ने गरेका छन्। समयलाई उपयोग गर्दै केही समसामयिक विषयका लेख, आफू घुमेडुलेका ठाउँको यात्रा स्मरणहरू, आफ्नो जीवनका अनुभूति र संस्मरणहरू, धर्मसंस्कृति र चाडपर्वबारे जानकारी आदि तथा अन्य रोचक लेखहरू लेख्ने अवसर समयले सबैलाई जुराइदिएको छ। बस्, आफूलाई सिर्जनात्मक बनाउनु पर्‍यो। दुनियाँमा आफू चिनाउने यो समयको उपहार हो। लगनशील र सिर्जनशील भइदिनुभयो भने तपाईको जीवनको यो ‘टर्निङ प्वाइन्ट’ हुनसक्छ। कुनै पनि विषयवस्तुबारे लेख्दा सो विषयको सैद्धान्तिक ज्ञानको महत्त्वपूर्ण भूमिका रहन्छ। युट्यूबमा लेख्न सिकाउने भिडियो र वेवसाइटहरू लेखहरू प्रशस्त आएका छन्, केवल तपाईंको जाँगरको खाँचो छ।

लेख्ने कला भनिए पनि यो एउटा रुचिको विषय पनि हो। रुचिले कलाको विकास गर्छ। लेख्न मन लाग्नु मात्र पर्छ, अनुसन्धान तथा जानकारहरूसँग सम्बन्ध स्वतः बढ्छ। लामो समय घरमा बस्ने वा निवृत्त भएको फुर्सदको समयमा हामीले विशेषगरी घर, व्यवहार, व्यापार, जागीर वा अरू कुनै सेवामा लामो समय बिताएकाले आफ्नो व्यावसायिक ज्ञान, निजी जीवनका अनुभूतिहरू, यात्राका संस्मरणहरू, वंशको इतिहास, आफ्नो संस्कृति परम्परा तथा जीवनदर्शन आदिबारे कलम चलाउँदा एकातिर अमूल्य सम्पत्ति संरक्षण हुन्छ, समयको सदुपयोग हुन्छ भने अर्कोतिर ज्ञान तथा अनुभवको उपयोगले सन्ततीले धेरै जान्नेबुझ्ने छन्। जीवनको उत्तरार्ध छ भने मन बहलाउने साथी पनि बन्ने छ, लेखन र अध्ययन। फुर्सदको समयमा ज्ञानको भण्डार खोलौं। पढ्ने र लेख्ने बानी बसालौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.