नाफाभन्दा स्वास्थ्यको चिन्ता

नाफाभन्दा स्वास्थ्यको चिन्ता

चितवन : गतवर्ष कोरोना कहरले सौराहाका होटल बन्द भए। कोभिडको जोखिमका कारण बन्द भएपछि घाटा बेहोरे । त्यतिबेला स्वास्थ्य मापदण्ड अपनाएर होटल सञ्चालन गर्न माग गरेका थिए। व्यवसाय घाटामा गएको भन्दै होटल सञ्चालनको मापदण्ड निर्धारण गर्न माग गरेका  होटल व्यवसायी यसपटक मौन बसे। दोस्रो भेरियन्टले पारेको असर देखेपछि उनीहरू होटल सञ्चालनका लागि हतारिएका छैनन्। 

कोरोना महामारीमा व्यवसाय दोस्रो प्राथमिकतामा रहेको होटल गैंडा वाइल्ड लाइफका सञ्चालक टीका गिरीले बताए। ‘व्यवसाय ठप्प हुँदा धेरै मानिस डिप्रेसनमा जाने खतरा छ। तर पनि कोरोनाको कहरले त्यसलाई बिर्सेर जोगिने बाध्यता छ’  गिरीले भने, ‘व्यवसायको चिन्ताभन्दा पनि यतिबेला आफू कसरी बाँचे भन्ने मात्रै चिन्ता हो। ’

कोरोनाको महामारीसँगै सरकारले लागू गरेको लकडाउनले चितवनको पर्यटन व्यवसाय नराम्रोसँग प्रभावित भएको छ। कर्मचारी कटौती गर्दापनि मासिक दुई लाख क्षति बेहोर्नुपरेको होटल सेन्ट्रल पार्कका सञ्चालक श्याम महतले बताए। ‘सुरुमा ज्यान जोगाउने त्यसपछिमात्रै व्यवसाय कसरी सम्हाल्ने भन्ने चिन्ता चिन्ता छ’ महतले भने ‘ हरेक विपत्तिको मार सधैं पर्यटननै बढी भएको छ। यसले हामीलाई निराश बनाएको छ।’ 

पर्यटन व्यवसाय लगातार दोस्रो वर्ष पनि शून्य छ। लकडाउनका कारण यो वर्ष पनि होटल व्यवसाय ठप्प छ। व्यवसायीहरू होटलको गेटमा ताला लगाएर बसेका छन्। उनीहरू बाहिर हिँडडुल पनि गर्दैनन्। होटल सरसफाइ गरेर बसेका छन्। केही नगर्दा पनि होटल सरसफाइ र कुरुवा कर्मचारी राख्न मासिक कम्तीमा ५० हजार खर्च छ। बैंकको ऋण अलग्गै छ। ‘ऋण लागेपनि दिन नलागोस् भन्ने हो’ होटल नेचर हेरिटेजका सञ्चालक दामोदर रेग्मीले भने ‘सहज भएपछि व्यवसाय चल्छ। त्यसपछि सरकारले केही सम्बोधन गरिदिए हुन्थ्यो भन्ने लागेको छ।’
होटल व्यवसायीले आफूहरूलाई सरकारले उपेक्षा गरेको गुनासो गर्छन्। कोरोनाको बेला खोपमा समेत पक्षपात गरिएको दुःखेसो गरे। क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले गतवर्षको भार खेप्न नपाउँदै यसवर्षको लकडाउनले व्यवसायीको ढाड सेकिएको बताए। ‘ व्यवसायमा परेको घाटा कल्पनै गर्न सकिँदैन। सरकारले केही त हेर्ला भन्ने आशा हो’ उनले भने ‘ती सबै बिर्सेर अहिले बाँच्ने मात्रै चिन्ता लिनुपर्ने बाध्यता आएको छ। ’

कोरोनाका कारण भएको लकडाउनले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान पनि चलाएका थिए। बाह्य पर्यटक तत्काल आउने सम्भावना नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागी गरिएको अभियानले केही हदसम्म थेगेको थियो। फेरि लकडाउन भएपछि व्यवसाय घाटामा छ। ऋणको किस्ता र ब्याज बुझाउन हम्मेहम्मे परेको छ। 
गतवर्ष कोभिडको कहरपछि मापदण्ड बनाएर सञ्चालन गर्दा केही गति लिन खोज्दै थियो। यसवर्ष फेरि बन्द भएपछि धेरैको लगानी डुब्ने अवस्थामा पुगेको छ। ‘गत साल नराम्रोसँग थलिएको पर्यटन केही उठ्न नपाउँदै फेरि थला पर्‍यो’ होटल पार्क सफारीका सञ्चालक महेश खनाललले भने ‘कोरोनाको जोखिम कम भए फेरि लयमा फर्केला भन्ने आशा छ। ’

अन्यबेला पर्यटकहरूले भरिभराउ हुने होटलदहरू सबै ठप्प छन्। होटल कुर्न राखेका मजदुरबाहेक सबैलाई घर फर्काएका छन्। बैंकको ऋण तिर्न कठिन छ। तरपनि उनीहरूलाई सबैभन्दा बढी स्वास्थ्यको चिन्ता छ। यसपटक कोभिडको असरले धेरैको ज्यान गएपछि उनीहरू त्रसित बनेका छन्। ‘ पहिला आफू बाँँच्ने कुरा प्राथमिकताको कुरा हो। गतसालको भन्दा अहिले डरलाग्दो अवस्था देखियो।’ क्षेत्रीय होटल संघका उपाध्यक्ष अञ्जनकुमार पाण्डेले भने ‘ जसरी हुन्छ सुरक्षित तरिकाबाट रहनुपर्ने अवस्था छ। ’

चितवनमा १सय५० वटा पर्यटकीय होटल छन्। करिब सयको हाराहारीमा रेस्टुरेन्ट छन्। वन्यजन्तुको अवलोकनका लागि चितवनको पर्यटन प्रख्यात छ। सौराहा, पटिहानी, जगतपुर, मेघौलीमा ठूलादेखि साना होटल छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.