महिनावारी, नसारे हुन्‍न ?

महिनावारी, नसारे हुन्‍न ?

अमृता (नाम परिवर्तन) कामकाजी ३० वर्षीय महिला हुन्। उनले अहिलेको लकडाउन र कोरोनाको त्रासमय वातावरणमा अनलाइनमै चिकित्सकहरूको राय, सल्लाह तथा परामर्श उपलब्ध गराउने एप्पस्मार्फत प्रश्न पठाइन्, ‘डाक्टरसाब ! सोमबार घरमा पूजा लगाउने भइयो। तर हेर्नु न यही बेला मेरो पिरियड हुने रहेछ। यसलाई पर सार्न के औषधि खानु ?’ केही औषधिहरू खाने सुझाव दिएँ। सल्लाहअनुसार उनले औषधि सेवन गरेर महिनावारी पर सार्न सफल भएकी अमृताले अनलाइनमै धन्यवाद दिइन्। यद्यपि सुझाव दिए पनि आफैं सन्तुष्ट थिइनँ।

महिनावारी एक प्राकृतिक प्रक्रिया हो। खासगरी नारीहरूको शारीरिक परिपक्कता आएपछि मुख्यतया इस्ट्रोजेन र प्रोजेष्ट्रोन हर्मोनले गर्दा पाठेघरको भित्री तहमा आएको परिवर्तन र सो तह टुक्रिएको कारणले महिनावारी हुने गर्छ र यो हरेक महिना हुने भएकाले यसलाई महिनावारी भनिएको हो। यसलाई रजस्वला वा पिरियड पनि भन्ने गरिन्छ। महिनावारी हुनुका पछाडि हाइपोथालामस्, पिट्युटरी ग्रन्थी, अण्डाशय र पाठेघर सबैको आआफ्नै भूमिका हुन्छ। यस वास्तविकताबारे जानकारी हुँदाहुँदै पनि कतिपयले यस अवस्थालाई ‘अशुद्ध’ भएको वा ‘नछुने’ भएको भन्ने गर्छन्। यो बेलामा कुनै पनि धार्मिक तथा सांस्कृतिक वा शुभकार्यहरूमा सहभागी नहुने तथा कसैलाई नछुने र छोएको नचल्ने प्रचलन रहेकाले पनि नछुने भनिएको हो। जबकि यो आफैंमा एक प्राकृतिक प्रक्रिया हो र यसम शुद्ध वा अशुद्ध भन्ने प्रश्न नै आउँदैन।

महिनावारीको बेला सबैलाई एकै किसिमको अनुभव नहुन सक्छ। कसैलाई यो सामान्य लाग्छ भने कसैका लागि यो पीडादायी हुन्छन्। विभिन्न अध्ययनले ८० प्रतिशत महिलाहरू र विशेषतः किशोरीहरूले महिनावारीलाई पीडाका रूपमा लिने गरेका छन्। महिनावारीको समयमा धेरैको पेट दुख्ने र ढाड दुख्ने हुन्छ। तर कसैकसैलाई महिनावारीका कारणले झर्को लाग्ने, टाउको दुख्ने, वान्ता हुने पनि हुन्छ। अचेल यी समस्याहरू धेरैले झेलिरहेका हुन्छन्। जसलाई महिनावारीको नियमित प्रक्रियाका रूपमा स्विकार गरेका हुन्छन्। कसैकसैले दुखाई धेरै भए सामान्य दुखाई कम गर्ने औषधि सेवन गर्ने र आराम गर्ने गरेका हुन्छन्। तर अहिले पनि धेरैलाई धार्मिक कार्यक्रम खासगरी पूजा र ब्रतका समयमा महिनावारीलाई सामान्य शारीरिक प्रक्रियाका रूपमा लिन सक्दैनन्।

महिनावरी सार्नुपर्ने कारण हुन सक्छ। तर स्वास्थ्यका दृष्टिकोणले भन्नुपर्दा यसरी हर्मोन भएका अर्थात् प्रोजेष्ट्रोन वा पिल्सको सेवन २–४ दिन खानु पक्कै राम्रो होइन।

महिनावारीसम्बन्धी भएका स्वास्थ्य सचेतना कार्यक्रम तथा विभिन्न माध्यमहरूका मद्दतले आएका सचेतनाका कारण समाजले धेरै अवस्थामा यो सामान्य शारीरिक प्रक्रिया हो भन्नेमा आएका छन्। त्यसैले अहिले महिनावारीका समयमा आफ्नो कामबाट विदा लिने, स्कुल कलेज नजाने तथा भान्सा नजानेजस्ता कामहरूमा उल्लेखनीय सुधाार आएको पाइन्छ। धार्मिक कार्यमा सहजता अपनाउन सकेका छैनन्। समाजका अगुवाहरू तथा महिला अधिकारकर्मीहरू स्वयं पनि महिनावारीको यथार्थलाई भान्सा र कार्यकक्षसम्म नियमित प्रक्रियाका रूपमा लिन सके तापनि पूजा र ब्रतमा चाहिँ सहज महसुस गर्न नसकेको पाएका छौं। त्यसैकारण महिनावारीका समयमा कुनै धार्मिक अवसर पर्न गए यसलाई पछाडि धकेल्ने वा ‘पर सार्ने’ कोशिश हुन्छन्। कसैकसैले घरमा पारिवारिक जमघट, शुभकार्य, भ्रमण तथा अन्य धेरै घरायसी वा व्यक्तिगत कामहरूका लागि पनि महिनावारी सार्ने प्रयासहरू गर्ने गरेको पाइन्छ।

महिनावारी सार्नका लागि यसको सम्भावित मितिभन्दा १–२ दिन अगाडिदेखि औषधि सेवन गर्ने हुन्छन्। बजारमा सजिलै उपलब्ध हुने प्रोजेष्टेरोन चक्की वा परिवार नियोजनका लागि प्रयोग गरिने ‘पिल्स’ को प्रयोगले महिनावारी सजिलै पर सार्न सकिन्छ। यस्ता प्रोजेष्टेरोन चक्की वा पिल्स प्रयोग गरेको अवधिसम्म महिनावारी हुँदैन र सेवन गर्न छोडेको केही दिनमा फेरि महिनावारी हुने भएकाले कति महिलाले पटक पटक यसरी सेवन गरेका हुन्छन्। तर सामान्य र नियमित रूपमा भइरहेको महिनावारीलाई औषधि प्रयोग गरेर पर सार्नु उचित हो ? धेरैको मनमा प्रश्न अवश्य रहने गरेको छ।

आस्था, विश्वास र संस्कार आआफ्नै हुन्छन्। आफूलाई जे सहज हुन्छ, त्यसैअनुसार नै अगाडि बढ्नु पर्छ। कतिपय सामाजिक तथा सांस्कृतिक चलनहरू नअपनाउँदा आफैंलाई अप्ठ्यारो र नरमाइलो लाग्न सक्छ। त्यसैले महिनावरी सार्नुपर्ने हुन सक्छ। तर स्वास्थ्यका दृष्टिकोणले भन्नुपर्दा यसरी हर्मोन भएका अर्थात् प्रोजेष्ट्रोन वा पिल्सको सेवन २–४ दिन खानु पक्कै राम्रो होइन। यी हर्मोनहरूले महिनावारी प्रक्रिया गराउने तथा नियन्त्रण गर्ने भएकाले छोटो समय मात्र सेवन गर्नुले महिनावारीको नियमिततालाई असर गर्ने हुन्छ र थप जटिलताहरूको श्रृजना गर्न सक्ने हुन्छन्।

त्यसैले औषधि सेवन गरेर महिनावारी पर सार्नुभन्दा यसलाई नियमित प्रक्रियाका रूपमा स्विकार गर्नु उपयुक्त हो। तर पर सार्नै परे यस्ता हर्मोनल चक्कीहरू (प्रोजेस्टेरोन, पिल्स) पटक पटक २–४ दिन मात्र सेवन गर्नुभन्दा पूर्ण अवधि अर्थात् २१ दिन नै खानु राम्रो हुन्छ। यसो गर्दा महिनावारीमा गडबडी तथा अनियमितता हुँदैन। यस्ता औषधिहरूले दीर्घकालीन रूपमा खासै असर गर्दैन। त्यसैले धेरै आत्तिनु पर्दैन। तर चिकित्सकको सल्लाहबिना पटक पटक हर्मोनल औषधिहरू प्रयोग गर्नु हुँदैन।
- लेखक प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.