उत्तर कोरियाली नेता किमकी बहिनी भन्छिन्: अमेरिकाले संवादका लागि गलत अपेक्षा गर्यो
प्योङयाङ: उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले अमेरिकाले उत्तर कोरियासँग वार्ताका लागि गलत अपेक्षा गरेको र ठूलो निराशा सामना गरिरहेको प्रतिक्रिया दिएकी छन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलीभानले उत्तर कोरियाली नेता किमको अमेरिका प्रतिको टिप्पणीबारे अभिव्यक्ति दिएपछि किमकी बहिनी किम यो जोङको यस्तो प्रतिक्रिया आएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले उत्तर कोरियासँग संवादका लागि कुटनीतिक प्रयाससँगै व्यवहारिक पहल पनि गर्ने जनाएको छ । जसले गर्दा उत्तर कोरियालाई प्रतिबन्धित आणविक हतियार र व्यालिस्टिक मिसाइल कार्यक्रम त्याग्नका लागि दबाव दिनसक्ने बताइन्छ ।
अमेरिकी भनाइको जवाफ स्वरुप नेता किमले गत साता प्योङयाङले संवाद र विरोध दुबैका लागि तयारी गर्नुपर्ने बताएका थिए । तर अमेरिकी अधिकारीले किमको त्यस भनाइलाई "चाखलाग्दो" भन्दै टिप्पणी गरेका हुन् ।
"उनीहरु हामीसँग कुनै प्रकारको प्रत्यक्ष वार्ताको सम्भावित मार्गका बारेमा तयार छन् कि छैनन् हामी पर्खनेछौँ" सुलीभानले भनेका छन् ।
तर किमकी बहिनी किम यो जङको पछिल्लो अभिव्यक्तिले वार्ताको सम्भावना खारे गर्नसक्ने बताइन्छ । किम यो ले अमेरिका आफैँ सान्त्वना खोजिरहेको समेत बताएकी छन् । साथै अमेरिकाले गलत तरिका अपनाएको पनि उनको भनाइ छ । जसले गर्दा उनीहरुलाई ठूलो निराशामा डुबाएको किम यो ले बताइन् ।
अमेरिकी कुटनीतिज्ञ दक्षिण कोरियाको राजधानी सोलमा पाँच दिने भ्रमणमा आएकै बेला किमकी बहिनीको यस्तो भनाइ आएको हो । यस क्रममा ती अमेरिकी उच्च अधिकारीले अमेरिका उत्तर कोरियासँग विना शर्त जहाँसुकै र जहिलेसुकै वार्ताको लागि तयार रहेको प्रतिक्रिया दिएका थिए ।
अमेरिकी निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँग सुरु गरेको वार्ता प्रक्रिया उनकै कार्यकालमा स्थगित भएको हो । यद्यपि बाइडेनको कार्यकालमा दुई देशबीचको वार्ता अघि बढ्ने अपेक्षा गरिएको छ ।