खाँडोको त्रास
राजविराज : वर्षा लागेपछि तिलाठी गाउँका ६० वर्षीय चन्द्रुभुवन मिश्रको परिवार त्रसित बनेको छ। उनको टोलदेखि ५० मिटर पूर्वबाट बगेको खाँडो खोलामा अझै बाँध (तटबन्ध) बाँध्ने काम नभएकाले मिश्रको परिवार सम्भावित बाढीबाट त्रसित बनेका हुन्।
वर्षा सुरु भएदेखि मिश्रझै स्थानीय तिलाठीवासीको समय खाँडो खोला हेरेर सन्त्रासमा बित्ने गरेको छ। वर्षा सुरु हुनासाथ डुबानको समस्याले यहाँको बस्ती सधैं जोखिममा पर्दै आएको उनका दाजु त्रिभुवन मिश्रले बताए। दुवै दाजुभाइका पाँच भाइ छोरा–बुहारी बाढीकै पीरले बाहिर बस्ने गरेको चन्द्रभुवनको भनाइ छ। खोला नियन्त्रण कार्य पूरा नभएकोले सर्वसाधारण थप त्रसित बनेको उनले बताए।
तिलाठी र खाँडोले ऐतिहासिक महत्त्व बोकेको भए पनि बर्सेनि आउने बाढीको कथा निकै दर्दनाक हुने गरेको सत्तो यादवको भनाइ छ। वर्षा हुनेबित्तिकै गाउँले डुबानको सिकार हुन पुग्छन्। बाढीले बाटो बन्द गरिदिएपछि यातायात सेवा पनि अवरुद्ध हुने गर्छ। खेतहरू जलमग्न भएर धानबाली नोक्सान हुन्छ। अरू बेला बालुवाको थुप्रो रहने खाँडोमा वर्षाको समयमा आउने बाढीले उत्पात मच्चाउँछ। बेलाबेला खोला पसेर विध्वंश मच्चाउँछ।
खाँडो खोलाले सप्तरीको तिलाठी, सकरपुरा, लौनिया, रम्पुरा मल्हनियालगायतका गाउँ तथा राजविराज र रुपनिका केही वडाहरू हरेक वर्षामा डुबानमा पर्छन्। वर्षामा बाढी आएका बेला हाहाकार मच्चिने तथा राहत–उद्धार र पुनस्र्थापनामा सबै जुटने गर्छन्। तिलाठीका ७६ वर्षीय त्रिलोकनाथ मिश्र भन्छन्, ‘वर्षैंपिच्छेको नियमित चक्र भए पनि बाढीको समस्या भने समाधान हुन सकेन।’ वर्षौंदेखि खाँडोको समस्या समाधान नभएकाले तिलाठीवासी डुबानमा पर्दै आएका छन्।
डुबानले सयौं मानिस विस्थापित हुने र खेतीयोग्य जमिन बगरमा परिणत हुने गरेको छ। शैलेन्द्र मिश्रको साढे एक बिघा खेतमा अहिले खाँडो बगेको छ। खेत बगाएपछि उनी मजदुरी गर्न भारतको दिल्ली भासिएको त्रिभुवनले बताए।
अरूहरू पनि कतिबेला खोला पस्छ भन्ने चिन्तामा रहेको बताउँछन्, त्रिभुवन। उनी भन्छन्, ‘खाँडो कतिबेला उर्लेर आउँछ थाहा हुँदैन, सधै त्रासमा बाँच्नुपर्छ, पानी परेको राति सुरक्षित भएर जागा बस्ने गर्दछु।’ तिलाठीका ७१ वर्षीय भागवत झाकाअनुसार ४० वर्षदेखि खाँडो खोला तिलाठी र बेल्हीमै घुमेर बसेको छ। चीनको दुःख ‘ह्वाङहो’ नदी, भारत बिहारको दुःख कोसी नदी झै तिलाठी गाउँको दुःख खाँडो खोला रहँदै आएको छ। खोलाको बहावअनुसार पानीको सहज निकासतर्फ ध्यान पुग्न सकेको भए समस्या उहिल्यै समाधान भइसक्ने झाको भनाइ छ।
त्यसो त सप्तरीको कोसी नदीसहित महुली, जिता, त्रियुगा, पाँची, जुडी, सुन्दरी, खडग, चापिन, बिहुल, मुतनी, सुरुङ्गा, बान्द्रा, बलान, भलुवाहीलगायत विभिन्न खोलामा बर्सेनि आउने बाढीले दर्जनौं गाउँबस्ती डुबानमा पर्दै आएको छ। एक साताअघि बुधबार बलान नदीमा आएको बाढीले बगाएर बलान बिहुल गाउँपालिका–४ बेल्हीका १३ वर्षीय सन्तोष भण्डारीको मृत्यु भयो।बहाव परिवर्तन भई दशकौंदेखि तिलाठीका लागि घाँडो बनेकैले खाँडो नियन्त्रणलाई प्राथमिकता दिएर सरकारले सात वर्षअघि खाँडो नदी व्यवस्थापन आयोजना स्थापना गरेको हो। खाँडो नियन्त्रणका लागि आर्थिक वर्ष २०७३/०७४ देखि सरकारले करोडौ रुपैयाँ खर्च गरेको छ।
आयोजनाका इन्जिनियर सञ्जयकुमार कर्णले खाँडो नियन्त्रणका लागि २०७३ देखि ७८ करोड ९४ लाख रुपैयाँ बजेट खर्च भएको र भुक्तानी दिन बाँकी रहेको पाँच करोड बढी विभागसँग माग गरिएको जानकारी दिए। थप कामका लागि अहिले अर्थ मन्त्रालयमा १६ करोड रुपैयाँका लागि फाइल पुगेको छ।
आयोजनाका प्रमुख सीडीई रेवाकान्त यादवले पर्याप्त काम हुन नसकेको बताउँछन्। जाली र क्रेटिङ नभएसम्म माटोको बाँध टिकाउ नहुने भन्दै यादवले आकस्मिक काम गरेर तत्काल बाँधलाई जोगाउन सके मात्र तिलाठी जोगिने बताए। सो कामको ठेक्का लागे पनि सम्झौता गर्न ठेकेदार नआएको आयोजनाले जानकारी दिएको छ। तिलाठीतर्फ बाँकी रहेको बाँध पनि छिटो तयार हुने उनले बताए।
भेल्ही, पिपराही, लौनिया, सकरपुरा पश्चिम हुँदै तिलाठी गाउँ नजिक खाँडो खोलामा करिब सय मिटर बाँध अझै बाँधिएको छैन। बेल्ही–कुनौलीको दसगजा नजिक बन्न लागेको पुल छेउमा पनि दुई सय मिटर बाँधको काम हुन नसकेकाले तिलाठीवासी त्रासदीमा रहेका हुन्। तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिषकुमार सिंहले दुई ठाउँमा गरी तीन सय मिटर बाँधको काम बाँकी रहेको बताए। खाँडोले गत वर्ष तिलाठी कोइलाडी गाउँपालिकाको बेल्ही र हनुमाननगर कंकालिनी नगरपालिकाको रम्पुरा मल्हनियामा दुःख दिएको स्मरण गर्दै सिंहले यसपटक तिलाठीमा बाढी पसेर दुःख दिने सम्भावना रहेको बताए। कोभिड–१९ र वर्षाले गर्दा सवारीसाधन चल्न नसकेर खाँडोमा बाँधको काम बाँकी नै रहेको उनले बताए। सात वर्षअघिबाटै निर्माण थालिएको दसगजा नजिक तिलाठीस्थित पुलसमेत अझै सम्पन्न हुन सकेको छैन।
खाँडोको समस्या यथावत् रहेकै बेला वर्षाको पानीसमेत थुनिएर तिलाठी डुब्ने खतरा थपिएको छ। सीडीई यादवले निर्माणाधीन राजविराज–कुनौली सडकखण्डमा पानीको निकासका लागि ह्युमपाइप नराखेकाले वर्षाको पानीसमेत थुनिएर तिलाठी डुबानमा पर्ने बताए। बर्सेनि खोलाले विस्थापित गर्दा र डुबानमा पर्दा पनि सम्बन्धित सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन्। स्थानीय तहमा हुने भ्रष्टाचारले विकास हुन नसकेको भन्दै सुनीलकुमार मिश्रले सामान्य वर्षामा नै तिलाठी गाउँ हिँड्नै नहुने गरी हिलाम्मे हुने गरेको बताए।