सप्तकोसी आसपासका क्षेत्रमा उच्च सर्तकता
धरान : सप्तकोसीमा पानीको बहाव बढ्न थालेसँगै आसपासका क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । पूर्वी पहाडी जिल्लामा वर्षा हुन थालेपछि सप्तकोसीमा पानीको बहाव उच्च भएसँगै जिल्ला सुरक्षा समिति कोसीको स्थलगत निरीक्षण गरी यस क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ ।
सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च हुँदा समेत भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोल्ने गरेका कारण सुनसरीको महेन्द्रनगर, प्रकासपुर, हरिपुर, मधुवन, श्रीलंका टापुका बासिन्दा त्रसित हुने गरेका छन् ।
सप्तकोसी आसपासका क्षेत्रमा असार, साउन र भदौ महिना खतरा मानिन्छ। भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसी आसपासका क्षेत्रका बासिन्दा बर्षेनि त्रासमा बस्नु परेको स्थानीयको गुनासो छ ।
सप्तकोसीका बासिन्दालाई सुरक्षित बनाउन सप्तकोसीको नियमित तटबन्ध निर्माण र कोसी व्यारेजका सबै ढोका खुल्ला गर्न स्थानीय रविन घिमिरे सरकारसँग माग गरेका छन् ।
२०२२ सालमा सप्तकोसीमा ब्यारेज बनेसँगै सुनसरी, उदयपुर र सप्तरीका करिब १० हजार सर्वसाधारणले घरखेत गुमाउनु परेको थियो । सप्तकोसीबाट विस्थापित भएकाहरु अहिले सुकुम्वासी भएर कष्टकर जीवन बिताइ रहेका छन् । कोसीले घरखेत बगाएपछि विस्थापित हुँदा समेत हालसम्म क्षतिपूर्ति नपाएको कोसी पीडित पदमबहादुर सापकोटाको गुनासो छ ।
लगातारको वर्षातका कारण सप्तकोसीमा पानीको बहाव बढेसँगै यस क्षेत्रका बासिन्दाको सुरक्षाको लागि सशस्त्र प्रहरीले तालिम प्राप्त गोताखोरसहितको उद्धार टोली तयारी अवस्थामा राखेको छ ।
सप्तकोसीको चतरा, हरिपुर र कोसी ब्यारेजमा तालिम प्राप्त सशस्त्र प्रहरी सप्तकोसी आसपासका क्षेत्रका सर्वसाधारणको उद्धारका लागि तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलले जानकारी दिएका छन् ।
भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा आफू अनुकुल मात्र ब्यारेजका ढोका खोल्ने गरेका कारण नेपाली त्रसित हुनु परेको स्थानीयको गुनासो छ । सुनसरीको महेन्द्र नगर, प्रकासपुर, मधुवन र हरिपुरका वासिन्दा वर्षायाममा सधै त्रासमा बस्न बाध्य छन् ।
सप्तकोसीमा आएको बाढीबाट हुने संभावित क्षति न्युनिकरण गर्न र यस क्षेत्रका सर्वसाधारणको ज्यूधनको सुरक्षा गर्न चौविसै घण्टा नेपाल, प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना तयारी अवस्थामा राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । स्थानीय प्रशासनले सप्तकोसीको स्थलगत निरीक्षण गरी यस क्षेत्रका बासिन्दालाई समेत सचेत गराई सकिएको उनले बताए ।
सप्तकोसीमा पानीको बहाव उच्च भएको समयमा कोसी व्यारेजका सबै ढोका खोल्न पनि भारतीय अधिकारीसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । भारतले सप्तकोसीका सबै ढोका नखोलेकै कारण २०६५ साल भदौ २ गते राति कोसीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा सुनसरीको साविकका श्रीपुर, हरिपुर, लौकही र पश्चिम कुसाहा गाविसका हजारौ स्थानियले घरखेत गुमाउनु परेको थियो ।
सप्तकोसीले कटान गरेको हजारौं खेतियोग्य जमिन अझै पनि भरुभूमि बनेको छ । सप्तकोसीमा संघीय सरकारले समन्वय गरी कोसी ब्यारेजका सबै ढोका नखोल्ने हो भने असार, साउन र भदौ महिना भर सप्तकोसी आसपासका बासिन्दा ढुक्कले बस्ने अवस्था छैन् ।