...अर्थात् स्त्री !
अनेक मान्छे जन्मिए। समाजको प्रादुर्भाव भयो। त्यही समाजभित्र अनेक संगठन बनाइए। स्वभावतः संगठनहरूका अनेक रूप भए र समूह–समूहमा बाँडिए। तिनले आआफ्नै सुविधाजनक अधिकारका कुरा गरे। आजसम्म यो क्रम जारी छ।
यसबीच समाजमा कति उतारचढाव आए। हेर्दाहेर्दै अनेक परिवर्तन भए। तर समाजले प्रकृति बदल्न सकेन। समाजले मान्छेलाई अनेक जात–जाति, वर्ग, समूहमा विभाजन गरे पनि प्राकृतिक रूपले स्थापित मान्छेको स्वरूप जस्ताको तस्तै रह्यो। विज्ञानले गरेको प्रगतिअनुरूपका केही अपवाद छाडेर मान्छे आज पनि उही रूपमा दुई भागमा परिचित छ, जो हिजो पनि त्यही रूपमा थियो।
एक, पुरुष। दुई, स्त्री। यसरी, आआफ्नो अस्तित्वको परिचयमा मान्छे बाँचिरहेको छ। अझ भनूँ, त्यसकै स्वाभिमान र अझ अघि बढेर अभिमानमा बाँचिरहेको छ। पुरुषलाई पुरुष हुनुको अहंले गाँजेको छ। स्त्रीले आफू स्त्री हुनुलाई ठूलो महत्व दिएको छ। थाहा छैन, स्त्री–पुरुषबीच कहिलेदेखि यो लडाइँ चलिरहेको छ– समाजमा तँ ठूलो कि म ठूलो ?
सामान्यतः पुरुषजातिले स्त्रीजातिलाई ‘भोग्या’ मान्छन् भनेर स्त्रीको मान्यता रहिआएको छ, जसअनुरूप उनीहरू आपूmलाई शोषित ‘वस्तु’को रूपमा व्याख्या गर्छन्। उता पुरुष वर्ग आफ्नो अस्तित्वलाई प्रकृतिको देन मान्छ। उसको मान्यतामा, ब्रह्माण्डमा प्रकृतिको अस्तित्व रहुञ्ज्याल यो हैकम चलिरहन्छ। यस अर्थमा, सम्भवतः यो मुद्दाको छिनोफानो कहिल्यै हुने छैन। कवयित्री कुन्ता शर्मा यही मुद्दाको उठान गरेर ‘पोथी बास्नु हुँदैन’ कवितामार्पmत् पुरुषजातिमाथि व्यंग्य प्रहार गर्छिन्–
‘सधैं–सधैं घरका धुरीहरूमा
आँगनहरूमा, बार्दलीहरूमा
घाँटी तन्काउँदै, शीउर हल्लाउँदै
बास्ने काम भालेको हो
आवाज उकास्ने काम भालेको हो
पोथीले, मात्र कर्कराउनु पर्छ
आक्रोशका घुड्काहरू चुपचाप निल्नुपर्छ
अण्डा पार्नुपर्छ, ओथारा बस्नुपर्छ
चल्ला काढ्नु अनि
तन्मयतापूर्वक बच्चा हुर्काउनुपर्छ
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन।
पोथी बास्न नहुनुको अर्थ हो– नारीजाति पुरुषजातिको तुलनामा पछाडि छ। उक्त अर्थमा सदैव पछाडि नै रहिरहनुपर्छ, पुरुषभन्दा अघि लाग्नु हुँदैन नारीले। अर्थात्, जति–जे गर्छ, पुरुषले नै गर्छ वा गर्नसक्छ। बोल्ने अधिकार पुरुषको हो, हाँस्ने अधिकार पुरुषको हो, नारीले त त्यसमा सही थाप्ने मात्रै हो। कदाचित् हाँस्न–बोल्न पर्यो भने उसले पुरुषसँग स्वीकृति लिनुपर्छ। यस अर्थमा, सायद पुरुषमान्यताले सधैं नारीलाई दोस्रो दर्जामा राखेको छ। स्पष्ट किटानीका साथ भन्नुपर्दा, ‘वस्तु’को नाममा हेरिएको छ नारीलाई।
तौली–तौली बोल्नुपर्छ
शब्दमा आदरभाव घोल्नुपर्छ
पाउमा निहुरिनुपर्छ
दासताको पूmल सिउरिनुपर्छ
लक्षण–रेखा नाघ्नु हुँदैन
अधिकार माग्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन।
भनिन्छ, दासप्रथा दुनियाँबाट उहिल्यै उन्मुलन भइसक्यो। केवल लैंगिक दासता होइन, सम्पूर्ण प्रकारको सामाजिक दासता–उन्मूलनको घोषणा भइसकेको इतिहास पढ्ने गरिन्छ। तर के सत्य यही हो त ? सायद होइन, सत्य अर्कै छ, यथार्थ भिन्नै छ। आजको समाज भौतिक रूपले विकसित भए पनि सांस्कृतिक वा व्यावहारिक रूपले परिवर्तन भएको छैन। सोह्रौं वा सत्रौं शताब्दीको, ढुंगे युगको वा अभैm शास्त्रीय–पौराणिककालकै परम्परा समाजमा विद्यमान नभए पनि आजको सभ्यता सुहाउँदो समाज अभैm पनि निर्माण हुन सकेको देखिन्नँ। पश्चिमी सभ्यतामा केही वा धेरै फरक होला तर हाम्रो पूर्वीय सम्यतामा अभैmसम्म नारी कतै ‘सीताको अग्निपरीक्षामा’ संलग्न हुनुपर्छ भने यहीँ कतै ‘द्रौपदी–संस्कृति’मा बाँच्न विवश हुनुपर्छ। जतिसुकै शोषण–अत्याचार होस्, तिनलाई सहेर, झरिसकेका आँसु रोकेर मुस्काउन जान्नुपर्छ।
आँसु हतियार हो
परिस्थितिअनुसार प्रयोग गर्नुपर्छ
मुस्कान हतियार हो
परिस्थितिअनुसार उपयोग गर्नुपर्छ
साँचो कुरा बोल्नु हुँदैन
अन्धकारको पर्दा खोल्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन।
पुरुषप्राधान्य समाजमा बाहिर उज्यालो भए पनि मनभित्रको अन्धकार नै सम्भवतः नारीको दुनियाँ हो। जीवनमा खुसियाली भए पनि पुरुषको धरपकडमा उसको खुसीको कुनै अर्थ रहन्न। कदाचित् जबरजस्ती आफ्नो अनुहारमा खुसी छर्ने मेलो गरियो भने त्यो सह्य हुँदैन। एक पाइला मात्रै पुरुषको भन्दा अघि सार्ने हो भने अति गरेको ठहरिन्छ त्यो कदम। अर्को शब्दमा भन्नुपर्दा, पुरुषको दृष्टिकोणमा नारीले कुनै नौलो सपना देख्नु पुरुषविरुद्ध गएको उसको अपराध ठहरिन्छ। र, यस्ता सपना देखेर अपराध गरेबापत नारीले ठूलो मूल्य चुकाउनुपर्छ। अर्थात्, नारीले घरको घेराभित्रको भातभान्सा, पुछपाछ, सन्तानको रेखदेखबाहेक अरूले देख्ने गरेर कुनै आफ्नो पहिचामूलक काम गर्नु हुँदैन, गरिएमा घरको वा समाजकै पुरुषको मानहानी गरेको ठहरिन्छ। फलतः सजायको भागीदार बन्नका निम्ति तयार रहनुपर्छ।
टेक गर्नु हुँदैन
थुनछेक गर्नु हुँदैन
मालिक–मालिक रट्नुपर्छ
यन्त्रजस्तो भएर खट्नुपर्छ
नयाँ परिवेशमा टेक्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन।
त्यसो त, पुरुषबराबर नारी वर्गप्रति सम्मानको कुरो उठिरहेकै छ। त्यसभन्दा बढी समानताको नारा उठेको जुगौं भइसक्यो। नारीअधिकारको विषयमा बहस गर्ने स्वयं पुरुष नै पनि नदेखिएका हैनन् समाजमा। तर तिनले उठाउने बहस र तिनकै व्यावहारिकतामा आकास–जमीनको अन्तर देख्ने गरिएको तथ्य घामजत्तिकै छर्लंग छ। उल्टो, नारीप्रतिको समर्थन र सहानुभूतिका त्यस्ता बहससँगसँगै नारीमाथि दिनानुदिन शोषण–बलात्कारका अनगिन्ती घटना बढ्दै गइरहेछन्। प्रश्न छ, पुरुष मानसिकताको दर्शन देखावटी रूपमा सकारात्मक देखिए पनि असली रूपमा नकारात्मक छ भने नारीउत्थानको विषयमा के आश लगाउन सकिन्छ ? साँच्चै नै नारीको विषयमा गम्भीर मनन गर्ने हो भने पुरातन यो समाजको जरा खनेर सामाजिक विधान भंग गर्नुपर्छ, नीति–नियम बदल्नुपर्छ। छ कसैसँग त्यसो गर्ने हिम्मत ? कदाचित्, कसैद्वारा त्यस्तो विद्रोह गरिएमा त्यसको परिणाम कस्तो आउला ?
साह्रै अनिष्ट हुन्छ
नीति–नियम रुष्ट हुन्छ
ठूलो अवरोध सहनुपर्छ
आँसुको नदीमा बग्नुपर्छ
सपना तुहिन सक्छ
जीवन चुँडिन सक्छ
ओथारोको अण्डा त्यसै–त्यसै कुहिन सक्छ
चल्लाको कलिलो जीवन नफुल्दै झर्न सक्छ
प्रहार हुन सक्छ÷संहार हुनसक्छ
त्यसैले चेतनाको डाक बोल्नु हुँदैन
अन्धकारको पर्दा खोल्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन।
समाजमा, सभ्यतामा वा प्रकृतिको निर्माणदेखि नै भाले बास्दै आइरहेछ। मतलब, लोग्नेमान्छेको बोलबाला नै चल्दै आइरहेको छ। पोथी बास्नु भनेको प्रकृतिको विरुद्ध जानु हो। तर ‘पोथी’ स्वास्नीमान्छेले पनि बास्न पाउनुपर्छ भन्ने कविताको मूल मर्मलाई गहनतापूर्वक मनन गर्ने हो भने यसलाई अनुचित विषयको उठान मान्न सकिन्न। ‘पोथी’ बास्नुलाई नारीअधिकारको दृष्टिमा हेर्दासम्म यो विषय सही लाग्छ। तर साँच्चिकै, कुखुराको पोथीले बास्न नमिल्ने वा नसक्ने प्राकृतिक नियमलाई तोडेर बास्न पाउनैपर्छ भन्ने हिसाबले चाहिँ नारीवादको व्याख्या गर्न भने मिल्दैन। चाहे त्यो कुनै कविताको माध्यमबाट लाक्षणिक रूपमै किन नहोस् ! जहाँसम्म पुरुष अहंताको जडता छ, त्यसमाथि विमति राख्नुपर्छ भन्नेमा दुईमत हुनै सकिन्न। हो, त्यसविरुद्धको चेतना उजागर हुँदा खास गरेर हाम्रो समाजको अचेतन मनहरूमा आँधीबेरी चल्न सक्छ। सम्भवतः चेतनाका ती स्वरहरूलाई मटियामेट गराउन यो समाजका ठेकेदारहरू घुँडा धसेर लाग्दैनन् भन्ने छैन।
अवरुद्ध चेतना
कहिलेकाहीँ प्रवाहित हुन खोज्दा
जडताको विरुद्ध
गतिशीलताको पाइलो चाल्न खोज्दा
उज्यालोले कुत्कुत्याएपछि
आँटिला मुटुहरूले मुख खोल्दा
साँचो कुरो बोल्दा
आतंकित बर्बरताहरू
एकैपटक बिउँझिएर
जीवनको विरुद्ध मृत्युघाट ठोक्न सक्छन्
एकोहोरो शंख फुक्न सक्छन्...
अन्ततः कवयित्री कुन्ता शर्माको सावधानी आवाजलाई आत्मसात् गर्नै पर्छ,
त्यसैले ठूलो आँट नलिई
काँडाघारीमा पस्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन।