कुहिरोभित्रको कसरत
अहिले नेपालका सत्तासीनहरूको अहंकार पनि यदुवंशीहरूको जस्तै उफानमा छ
कृष्ण र युधिष्ठिरबीच भेट नभएको धेरै समय बितिसकेको थियो। युधिष्ठिरले कृष्ण र द्वारकावासीहरूको हालखबर बुझेर आउनू भनी अर्जुनलाई द्वारकातर्फ पठाए। श्रीहीन र बलहीन बनी फर्केर आएका अर्जुनले युधिष्ठिरसामु यदुवंशीहरूको हाल व्यक्त गर्दै भन्छन्– हे राजन ! यदुवंशी बन्धुबान्धवहरू वारुणी मदिरापान गरेर मदोन्मत्त भई अपरिचितझैं आपसमा मारपिट गरी नष्ट भए। उनीहरूमध्ये चार पाँच जना मात्र जीवित छन्। कृष्णले अत्यन्तै परिश्रम गरेर दिलाएको समृद्धि र सुखले यदुवंशीहरू प्रमादग्रस्त भएका थिए। जति नै सम्झाउँदा पनि अटेर भई उन्मत्ततातर्फ उन्मुख भएको हुँदा कृष्णले पनि यस्ता दुर्जन बान्धवहरू आपसमा लडेर सकिएकै राम्रो हो भन्ने विचार गरे।
अहिले नेपालका सत्तासीनहरूको अहंकार पनि यदुवंशीहरूको जस्तै उफानमा छ। थकित नेपाली जनतारुपी कृष्णहरू यी शक्ति र सत्ताको राप र तापले मदोन्मत्त सत्तासीन र सत्ताकांक्षीहरू आपसमा मल्लयुद्ध गरी सकिए पनि ठिकै छ भनेर सोच्ने अवस्थामा पुगेका छन्। अलि परको विकट परिदृश्यलाई देख्न नचाहने ती योद्धाहरू अखडाको घेराभित्र सीमित छन्। यिनीहरूलाई आफूहरू सबै हार्ने सम्भावना बोकेको आसन्न परिणामको अन्दाज छैन। न जनताको अभिमतको कदर, न बहुमतको सम्मान, न प्रणालीको रक्षा न आपसी भाइचारा। मदान्ध अवस्थामा खुला आकाश हुँदा त केही पनि दृष्टिगोचर हुँदैन भने झन् मूढताको अवस्थामा कुहिरोभित्र आच्छादित दृश्यलाई किन देखिन्थ्यो।
प्रवेशले प्रस्थान पनि सँगै लिएर आएको हुन्छ। सत्ता र शक्तिको कुर्सीमा बस्नुअघि त्यो आसनमा बलेको आगोले जुनसुकै बखत दग्ध पार्नसक्छ। त्यसमाथि धेरैले पनि आँखा गाडेर नियालिरहेछन् भन्ने नबुझ्दाको परिणाम हो वर्तमान परिस्थिति। भाग्यवान् व्यक्तिले अहंकारले बसिभूत भई अब यो मेरो अविनाशी आसन हो भनेर सोच्नुअघि भाग्यशाली नै ज्यादा खतरामा हुन्छ भन्ने बुझ्नुपर्ने हो। धेरै फुल्दै गयो भने आफ्नो बोझ आफैंले बोक्न गाह्रो हुन्छ। त्यसमाथि स्वार्थी र अवसरवादीहरूबाट घेरिनुपर्दाको अवस्था झन् विकराल हुन्छ।यक्षले युधिष्ठिरलाई सोधेका थिए– कुन व्यक्ति अरूको प्रिय हुन्छ ? युधिष्ठिरको सरल उत्तर थियो– अहंकारहीन व्यक्ति अरूको प्रिय हुन्छ। किन्तु सत्ता र अहंकारबीच मितेरी साइनो हुने हुँदा यिनीहरू सहयात्री हुन्।
कुनै सत्ताधारीमा मीतरूपी अहंकारलाई थोरै परतिर राख्ने क्षमता हुन्छ भने कोहीलाई अंगालो मारेरै बस्नमा रुचि हुन्छ। शक्तिसीन व्यक्तिको वरिपरि प्रायः कपटी मिठासले युक्त मानिसहरू झुत्तिएर बस्ने प्रवृत्ति सार्वभौम हो। कपटपूर्ण प्रेम र स्तुतिगान खतर्नाक कुरा हुन्। यो स्थितिमा जो खुसी भए ती आफ्ना थिएनन् जो आफ्ना थिए ती खुसी भएनन् भन्ने उक्ति चरितार्थ हुने सम्भावना प्रवल हुन्छ। भीमसेन थापा नेपालको इतिहासका सर्वाधिक लोकप्रिय, शक्तिशाली र चतुर प्रधानमन्त्री हुन्। माथवरसिंह थापा प्रतापी मात्र होइन, सेनाद्वारा अधिक सम्मान गरिएका शासक हुन्। ती दुवै थापाहरूमा आफ्नो प्रभावबारे ‘ओभर कन्फिडेन्स’ थियो। राजकाज कतिसम्म घाती र धोकेबाज हुन्छ भन्ने कुरा त भीमसेन थापाको दारुण अवसान र माथवरको हत्या राजाकै सामुन्नेमा आफ्नै भान्जाले गर्नुबाटै छर्लंग हुन्छ। राजकाजको निर्दयी खेलको क्रूरता बुद्धकालीन युवराज अजातशत्रुले पिता राजा बिम्बिसारलाई कालकोठरीमा थुनेर भोकै मर्ने अवस्थामा पुर्याउनुबाट प्रष्ट हुन्छ।
राजकुमार औरंगजेवले बाबुलाई थुनामा मात्र राखेनन्, दाजु युवराज दारासुकहको टाउको काटी किस्तीमा सजाएर बाबुसमक्ष कोसेली पठाए। अहिले राजकाजी निर्दयता र षड्यन्त्रको रूप फेरिएको छ। ईष्र्या, जलन र खुट्टा तान्ने प्रवृत्तिको सार उही हो। दक्षप्रजापति र महादेवबीच मनमुटाव थियो। एक दिन दक्षले महादेवलाई श्राप (गाली) दिँदै भने,‘यो महादेव बडो अधम छ। अबदेखि यसलाई इन्द्र, उपेन्द्र आदि देवताका साथ बस्न दिइने छैन र यसलाई यज्ञभाग (सत्ता र शक्तिमा पहुँच) पनि प्राप्त हुने छैन।’ केही व्यक्तिले दक्षलाई त्यस्तो कदम नचाल्ने सल्लाह पनि दिएका थिए। तर दक्ष कसैको कुरा सुन्न तयार भएनन्। दक्षको श्राप थाहा पाएका नन्दीले उनलाई मतिहीन हुने श्राप दिए। फेरि भृगुले शिवभक्तहरूलाई भूतप्रेतको पूजा गर्ने र पाखण्ड क्रियामा लिप्त हुने श्राप दिए। यसरी दुई गुट तयार भयो र निकै भनाभनको क्रम चल्यो। परिणामस्वरूप ठूलो युद्ध मच्चिएर धेरै जनधनको क्षति, अपमान र बदनाम भयो। अहिले हाम्रो मुलुकमा देखिएको गालीगलोजको लेनदेन पनि त्यस्तै हो। आआफ्ना दक्षप्रजापतिलाई यहाँ पनि कसैले त अवश्य सम्झाए होलान्। को कसले के सम्झाए भन्ने कुरा अहिले कुहिरोभित्र छ। कुहिरो फाट्यो भने कुरा बाहिर आउला।
अहिलेको राजनीतिक मल्लयुद्धको दंगलमा एक पक्षले अर्कोलाई अनेक ट्रिक गरेर पछारिरहेको देखिए तापनि परिणाममा दुवैले हार्ने सम्भावना छ। राजनीतिको रिङबाट बाहिर गयो कि स्वार्थी किसानले बूढीभैंसीलाई हेला गरेजस्तो अवस्थामा पुगिन्छ भन्ने कुरा राजनीतिकर्मीले बुझेका छन्। साना ठूला सबै पहलवान रिङमा डटेका छन्।
राजनीति भिन्न रूपको मल्लयुद्ध हो। परम्परागत मल्लयुद्ध चार प्रकारका हुन्छन्। हनुमन्ती, जाम्ववन्ती, जरासन्धी र भीमसेनी। हनुमन्ती मल्लयुद्धको दंगलमा ‘ट्रीक’को महŒव हुन्छ। जाम्ववन्तीमा प्रतिद्वन्द्वीलाई आत्मसमर्पण गराउनहल न चल पार्ने दाउपेच हुन्छ। जरासन्धिमा जोर्नीहरू भाँचेर विवश पार्ने र भीमसेनीमा बलको आधारमा पछार्ने प्रयत्न गरिन्छ। परम्परागत मल्लयुद्ध र नेपाली राजनीतिको मल्लयुद्धमा ठूलो भिन्नता छ। परम्परागत पहलवानहरू कट्टु लाएर अखडामा प्रवेश गर्दछन्। मल्लयुद्धका निश्चित नियम हुन्छन्। राजनीतिको खेलका पनि नियम हुन्छन्। राजनीतिको खेलमा एक पक्षले जित्ने, दुवै पक्षले जित्ने र दुवै पक्ष हार्ने परिस्थिति आउन सक्छ।
अहिलेको राजनीतिक मल्लयुद्धको दंगलमा एक पक्षले अर्कोलाई अनेक ट्रिक गरेर पछारिरहेको देखिए तापनि परिणाममा दुवैले हार्ने सम्भावना छ। जति नै कसरत र उठापटक गर्न माहिर एवं प्रशस्त ‘डाइट’ खाएको पहलवान पट्ठोजस्तो देखा परे पनि परिस्थितिले कसरत र डाइटलाई निकम्मा तुल्याइदिन सक्छ।
राजनीतिको रिङबाट बाहिर गयो कि स्वार्थी किसानले बूढीभैंसीलाई हेला गरेजस्तो अवस्थामा पुगिन्छ भन्ने कुरा राजनीतिकर्मीले बुझेका छन्। साना ठूला सबै पहलवान रिङमा डटेका छन्। मौका पर्दा दाउ हान्नेले भन्दा च्याखे थाप्नेले धेरै सोहोर्न सक्छ भन्ने लोकोक्ति चरितार्थ भएको छ।कुहिरोभित्रको मल्लयुद्धमा यो त अन्तिम पैंतरेबाजी होला भनेर गरिने सारा अनुमान फेल भएका छन् यहाँ।
अखडाभित्र अडिन सक्दासम्म दाउको अन्त्य हुँदैन भन्ने कुरा चालू र धूर्त पैंतरेबाजहरूलाई मात्र थाहा हुन्छ। राजा परीक्षित राजकाज छाडेर गंगा किनारमा आमरण अनसनमा बसे। उनी अनसनमा बसेपछि अर्कै लोकका देवता र राजनीतिको अखडाभन्दा परै बस्ने ऋषिमुनिहरूले मात्र ‘साधु साधु’ भनेर प्रशंसा गरे। शक्तिको खेलमा रमाउने कोही पनि परीक्षितको पछाडि लागेनन्। उनीहरू हस्तिनापुर दरबारमा जम्मा भई हात जोडेर जन्मेजयको विरुद्ध गान गर्न तल्लीन भए। हाम्रो देशका माहिर खेलाडीहरूले यति कुरा नबुझ्ने त कुरै भएन। खालमा जमेका जोकोही खेलाडीलाई बाहिर कुहिरो लागोस्, असिना झरोस्, हल्ला मच्चियोस्, सत्तोसराप मिलोस्, बालबच्चा भोकभोकै मरुन् या महामारी फैलियोस् मतलबै हुँदैन। युद्ध र राजनीतिको मैदानमा कमान्डरको अहंकार र मूर्खताको संक्रमण सिपाही र कार्यकर्तासम्म पुग्दछ। वर्तमान नेपालको राजनीति सामूहिक मूर्खताको पराकाष्ठा हो।
श्रीमद्भागवतमा एक वेन नाम गरेका राजाको कथा छ। पिताको देहान्त भएपछि ऋषिहरूले सरसल्लाह गरेर वेनलाई गद्दीमा राखे। वेन कठोर व्यक्ति थिए। उनी राजा भएको सुन्नेबित्तिकै चोर उचक्काहरू दुला पसे। देशमा शान्ति र ज्यान धनको रक्षा हुनेभयो भनेर लोक खुसी भयो। तर दुर्भाग्य ! राजा वेन अभिमानको सिकार हुन पुगे। श्रेष्ठताको अभिमान नैतिक रूपले कति हानिकारक हुन्छ भन्ने कुरा मूढमति वेनले बुझ्ने प्रयास नै गरेनन्। सम्झायो कि उल्टै थर्काउन थालेपछि ऋषिहरूलाई बडो पश्चाताप भयो। अति नै भएपछि ऋषिहरूले वेनको लीला समाप्त गरिदिए।
ऋषिहरूले वेनको शरीरलाई मन्थन गरेर नयाँ र असली राजा पृथुलाई जन्माए। यो कुशासनलाई हटाएर सुशासन कायम गरेको बिम्ब मात्र हो। अहिलेका गणतान्त्रिक नेताहरूलाई मन्थन गरेर नयाँ परिवेश निर्माण गर्नुपर्ने युवा नेताहरूले हो। परन्तु उनीहरू आफैं वेन प्रवृत्तिको सिकार भएको देखिन्छ। यो अखडाको कुहिरो कसरी फाट्ने हो र कस्तो परिणति देख्नु र भोग्नु पर्ने हो थाहा छैन। तथापि गणतन्त्रको मात लागेका सबका सब खेलाडीहरू हारको यात्रामा गतिमान भइरहेको भने छर्लंग देखिन्छ। त्यो हारको बाछिटाले शान्ति, समृद्धि र लोकतन्त्रमा आस्था राख्ने जनसमुदायलाई प्रहार नगरोस्। अरू जोसुकैको पराभव भए तापनि लोकतन्त्र र उदारवाद प्रकाशमान भइरहोस्।