आठवर्षदेखि खोरमा थुनिएका १२ वर्षीय बालकको उद्धार
फिदिम : विगत आठ वर्षदेखि खोरमा थुनिएका १२ वर्षीय बालकको उद्धार गरिएको छ । हिलिहाङ गाँउपालिका ६ किवाका भीमप्रसाद थोक्लिहाङका १२ वर्षीय नाति सुसनलाई खोरमुक्त गराएको हो । खोरमा थुनिएका सुसनको विषयमा अन्नपूर्ण पोस्टमा समाचार छापिएपछि उनको उद्धार भएको हो । राष्ट्रिय बाल अधिकार परिषद, बालहेल्पलाइन १०९८ अन्तर्गत मानवअधिकार मञ्च इलामले सुसनको उद्धार गरेको हो । सुसनलाई नेपाल अपाङ्गता संघ खगेन्द्र नवजीवन केन्द्र झापामा राखिने भएको छ ।
‘खगेन्द्र नवजीवन केन्द्रले सुसनको हेरचाह गर्नेछ,’बाल हेल्पलाइन १०९८ इलामका प्रमुख भक्तबहादुर थामिले भने, ‘अन्नपूर्ण पोस्टमा समाचार आएपछि बालकको बारेमा जानकारी लिएर उद्धार गरेका हौँ ।’ दिर्घकालिन संरक्षण, हेरचार, आवश्यक उपचार र पुनस्र्थापनाका लागि सुसनको उद्धार गरिएको हो ।'
नातीको उद्धार भएपछि हजुरआमा ललिताकुमारी थोक्लिहाङले खुसी व्यक्त गरेकी छिन् । ‘अब नाती ठिक भएर घर आउँछ भन्ने लागेको छ,’ललिताकुमारीले भनिन् ‘नातीको राम्रो हेरचाह गर्दिनुहोला ।’
यसकारण सुसनलाई खोरमा थुनिएको थियो
भीमप्रसादकी जेठी छोरी जुनिशाको कोखबाट सुसनको जन्म भएको थियो । १२ वर्षीय सुसनले अहिलेसम्म आफ्नो बुवा पाउन सकेका छैनन् । उनले बुवा चिन्न र देख्न पनि पाएका छैनन्। अविवाहित हुँदै जुनिशाले सुसनलाई जन्माएकी थिइन् । सुसनकी हजुर आमा ललिता कुमारीका अनुसार सुभाङ निवासी छवि योङहाङसँगको शारीरिक सम्पर्कबाट जुनिशाले सुसनलाई जन्माएकी थिइन् ।
‘नाती जन्मिएपछि छबियोङहाङलाई छोरी जिम्मा दिन खोजेका थियौँ,’ललिताकुमारीले भनिन् ‘छबिको घरमा जेठी श्रीमति भएकाले उनले छोरी र नातीलाई स्वीकार गर्न नमाने पछि नातीलाई हामीले नै राखेर हेरचाह गरिरहेका छौं । त्यसपछि उनी हाम्रो सम्पर्कमा छैनन् ।’
बच्चा र आमा जिम्मा दिन खोजेपछि छबि सम्पर्कबिहीन भएको उनीहरुको आरोप छ । सुसनकी आमा जुनीसाले पोखराका एक पुरुषसँग विवाह गरिसकेकी छिन् । त्यसपछि सुसनले मामली घरमा खोरमा थुनिएर दिन कटाइरहेका थिए । सुसनको स्वास्थ्यमा समस्या आएपछि उनी खोरमा थुनिएका थिए।
सुसनका मामा जुरेर थोक्लिहाङकाअनुसार सानोमा सुसन निकै तेजिला थिए । उनी बालविकास केन्द्रमा पढथे। ‘भाञ्जो एक दिन अचानक बिरामी भए,’ जुरेनले भने ‘बिरामी भएर ओछ्यान परेपछि भाञ्जो कहिल्यै उठेनन् ।’
बिरामी परेपछि सुसनको बोली हराएको र मानसिक सन्तुलन गुमेको परिवारको भनाइ छ । सुसन चार वर्षका हुँदादेखि बिरामी परेका थिए । ‘भाञ्जाको उपचारका लागि हामीले धेरै प्रयत्न गर्यौ,’ जुरेनले भने, ‘उपचार नलागेपछि भाञ्जालाई खोरमा राख्न बाध्य हुनुपरेको हो ।’ सुसन अहिले कुजिन थालेका थिए । उनी राम्रोसँग हिँड्न पनि नसक्ने अवस्थामा छन् ।
सुसनलाई खोरभित्रै खान दिइन्थ्यो । उनी खोरभित्रै फोहोर मैला टिप्थे । हजुर आमा ललिताकुमारीले सुसनलाई कहिलेकाँही खुवाउने गर्थिन । ‘उसको बावुले पनि जिम्मा लिएन,’ललिताकुमारीले भनिन् ‘नातीको स्वास्थ्य विग्रिदै गएपछि चिन्ता पनि थपिदै गएको छ।'