बाइडेनसँग जुलियन असान्जकी प्रेमिकाको आग्रह: यदी ट्रम्पको विरासत भत्काउँछौ भने असान्जलाई रिहा गर !
वासिङटन: विकिलिक्सका संस्थापक जुलियन असान्जकी प्रेमिकाले असान्जको रिहाइका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन समक्ष आग्रह गरेकी छन् ।
स्टेला मोरिसले मिडिया मार्फत बाइडेनलाई उनको रिहाइ गरिदिन आग्रह गरिन् । "यदी बाइडेन अमेरिकालाई प्रेस स्वतन्त्रता भएको देश बनाउन चाहन्छन् भने र डोनल्ड ट्रम्पको विरासतलाई पछाडि धकेल्न चाहन्छन् भने जुलियन असान्जलाई उनले स्वतन्त्र छाड्नैपर्छ," मोरिसले भनेकी छन् ।
अमेरिकी गोप्य सूचना चोरेको आरोपमा जुलियन असान्जमाथि अमेरिकाले मुद्दा लगाएको थियो । सोही मुद्दाका कारण उनी बेलायतमा ९ वर्षदेखि जेल जीवन बिताउँदै आएका छन् ।
मोरिसले भनेकी छन् "यदी बाइडेनले साँच्चिकै ट्रम्पको विरासत भत्काउन चाहन्छन् भने उनले यो मुद्दा फिर्ता लिनैपर्छ । उनीहरु यदी विश्व प्रेस स्वतन्त्रता रक्षाको कुरा गर्छन् भने जुलियन विरुद्ध यो मुद्दा चलाउन सक्दैनन् ।"
बाराक ओबामा राष्ट्रपति र जो बाइडेन उपराष्ट्रपति छँदा अमेरिकाले जुलियन असान्जलाई रिहाइको लागि पहल गरेको थियो । विकिलिक्सको काम पत्रकारितासँग मिल्दोजुल्दो भएको भन्दै अमेरिकाले उनलाई हिरासतमा नराख्न निर्णय गरेको थियो । तर ट्रम्प राष्ट्रपति बनेको केही हप्तामै सूचना चोरेर षड्यन्त्र गरेको भन्दै आपराधिक मुद्दा लगाइयो ।
असान्जकी प्रेमिका मोरिसले असान्जसँग चाँडै नै बेलमार्श जेलमा उच्च सुरक्षाका बीच विवाह गर्ने योजना बनाएको समेत उल्लेख गरेकी छन् । जहाँ असान्जलाई राखिएको छ ।
अमेरिकी अभियोजकहरु र पश्चिमा सुरक्षा अधिकारीहरु असान्जलाई एक लापरवाही दुश्मनको रुपमा लिने गर्छन् । जसको कदमले धेरैको जीवन जोखिममा परेको अमेरिकी अधिकारीहरु बताउने गर्छन् ।
बेलायतस्थित इक्वेडरको दूतावासमा सात वर्षसम्म शरण लिएर बसेपछि असान्जलाई २०१९ मा प्रत्यर्पणको प्रयास गरिएको थियो । यदी असान्जलाई प्रत्यर्पण गरेको अवस्थामा उनले आत्महत्या गर्नसक्ने तथा उनको मानसिक अवस्था जोखिममा रहेको भन्दै बेलायती न्यायाधीश भेनेसा बाराट्सरले उनलाई प्रत्यर्पणबाट जोगाएकी थिइन् ।
मोरिसले बाइडेन प्रशासनले असान्जको मुद्दालाई फरक रुपमा हेर्नेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएकी छन् । तर असान्जको कानूनी टीमले अमेरिकी अधिकारीहरुसँग यसबारे कुराकानी गरे कि गरेनन् भन्ने बारे जानकारी दिएका छैनन् ।
४९ वर्षीय अस्ट्रेलियन नागरिक असान्जका दुई छोरा छन् । मोरिसका अनुसार असान्जलाई एक वर्षपछि हालै आफ्ना दुई छोरालाई भेट्ने अनुमति दिइएको थियो ।
"उनी हामीलाई देखेर ज्यादै खुसी थिए । तर उनी संघर्ष गरिरहेका छन् । उनी लडाइँ लडिरहेका छन् । उनी यो अवस्था छिट्टै अन्त्य हुनेमा आशावादी छन्," मोरिसले भनिन् ।