इङ्ल्यान्डलाई टीट्वेन्टी शृंखला
लन्डन : घरेलु टोली इङ्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको टीट्वेन्टी क्रिकेट शृंखला जितेको छ। कार्डिफमा बिहीबार राति भएको दोस्रो खेलमा श्रीलंकालाई डर्कवथ लेबिस नियमका आधारमा पाँच विकेटले पराजित गर्दै इङ्ल्यान्डले एक खेल बाँकी छँदै शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो।
श्रीलंकाले दिएको १ सय १२ रनको लक्ष्यसहित इङ्ल्यान्डले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले खेल बिथोलेको थियो। त्यसपछि डर्कवथ एन्ड लेबिसका आधारमा इङल्यान्डले १८ ओभरमा जितका लागि १ सय ३ रनको लक्ष्य पाएको थियो। इङ्ल्यान्डले सो लक्ष्य १६.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
इङ्ल्यान्डका लियाम लिभिङस्टोनले अविजित २९ रन बनाए। यसैगरी साम विलिङ्सले २४, साम कुरानले १६ र कप्तान इयोन मोर्गनले ११ रन बनाए। श्रीलंकाका वानिन्दु हसरंगाले दुई विकेट लिए। यस्तै दुसमुन्था चमिरा, बिदुरा फर्नान्डो र इसुरु उदानाले एक÷एक विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ११ रन बनाएको थियो। श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ३९ रन बनाए। कप्तान कुशल परेराले २१ रन जोड्दा इसुरु उदानाले अविजित १९ रन बनाए। इङ्ल्यान्डका मार्क उड र आदिल रासिदले दुई÷दुई विकेट लिए। यस्तै साम कुरान र क्रिस जोर्डनले एक÷एक विकेट हात पारे।
जितसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा २–० को अग्रता बनाएको छ। पहिलो खेलमा इङ्ल्यान्डले श्रीलंकालाई आठ विकेटले पराजित गरेको थियो। तेस्रो तथा अन्तिम खेल शनिबार साउथह्याम्टनमा हुनेछ।