कोपा अमेरिका फुटबल : उरुग्वे क्वार्टरफाइनलमा
रियो दी जेनेरियो : उरुग्वे कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको खेलमा बोलिभियालाई २–० गोलले पराजित गर्दै उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको हो। उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे। अर्को एक गोल आत्मघाती रूपमा उपहार पाएको थियो।
खेलको ४०औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पको आत्मघाती गोलबाट उरुग्वेले सुरुआती अग्रता बनाएको थियो। बल बचाउने क्रममा लाम्पले आफ्नै पोस्ट्को जाली चुमाएका थिए। त्यसपछि खेलको ७९औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २–० को सहज जित दिलाए। लगातार विपक्षी पोस्ट्मा आक्रमण बुनेको उरुग्वेका लागि काभानीले पाएका थुप्रै अवसरलाई सदुपयोग गर्न सकेनन्। उनले खेल सकिन ११ मिनेट बाँकी छँदा फर्नान्डो टोरेसको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
यस जितसँगै उरुग्वेले तीन खेलबाट चार अंक जोडेको छ। समूह ‘ए’ मा रहेको उरुग्वे अहिले चौथो स्थानमा छ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये आठ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने भएकाले उरुग्वे पनि अन्तिम आठमा स्थान बनाएको हो।
शुक्रबार बिहान भएको खेलमा पराग्वेले चिलीलाई २–० गोलले पराजित गर्दै तीन अंक बटुलेको हो। पराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक÷एक गोल गरेका थिए।
खेलको ३३औं मिनेटमा सामुले गोल गर्दै पराग्वेलाई सुरुआती अग्रता दिलाएका थिए। उनले मिगुएलको पासमा गोल गरेका थिए। त्यसपछि खेलको ५८औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पराग्वेलाई २–० को जित दिलाए। चिलीका ग्यारी मेडेलले कार्लोसलाई फल गरेपछि पराग्वेले पेनाल्टी पाएको थियो। जसमा मिगुएलले सहजै गोल गरे। यस जितसँगै पराग्वेले पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ। पराग्वेसँग पराजय बेहोरेको चिलीले पनि यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ।
दक्षिण अमेरिकी राष्ट्रको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता ठूलो विवाद र आशंकाबीच ब्राजिलमा आयोजना भएको हो। प्रतियोगिता आयोजनाको जिम्मेवारी लिएका अर्जेन्टिना र कोलम्बियाले अन्तिम समयमा हात झिकेपछि अप्रत्याशित रूपमा ब्राजिलले जिम्मेवारी लिएको थियो। कोरोना भाइरसका कारण ब्राजिलमा समस्यामा परेका समयमा कोपा अमेरिका आयोजनाको जिम्मेवारी लिनु उचित नभएको भन्दै राजनीतिक दलका नेता, सर्वसाधारण र खेलाडीसम्मले विरोध जनाएका थिए। प्रतियोगिता आयोजना रोक्न माग गर्दै त्यहाँको सर्वोच्च अदालतमा परेको रिटसमेत परेको थियो। अदालतले रिट खारेज गर्दै प्रतियोगिता आयोजनाको बाटो खोलिदिएको थियो। १० राष्ट्रको सहभागिता रहेको प्रतियोगिता आगामी जुलाई १० सम्म हुँदैछ।