सिर्जनामा विसंगत समाज

सिर्जनामा विसंगत समाज

समकालीन कथाकारमाझ प्रयोगवादी कथाकारको रूपमा छुट्टै पहिचान बनाएका रोशन थापा ‘नीरव’को नवीनतम कथा संग्रह हो ‘कोष्ठकभित्र हाँसो’। शिखा बुक्सले प्रकाशन गरेको यो संग्रहभित्र ३५ वटा विविध शीर्षकका कथा संगृहित छन्। यी कथाहरूलाई विविध शीर्षकका सात खण्डमा विभाजित गरिएका छन् र हरेक खण्डमा पाँच–पाँचवटा कथा छन्। संग्रहका फरकफरक कथा फरकफरक स्वादका छन्। कथाको शीर्षकले नै अति गहन अर्थ बोकेका छन्। एउटै कथाभित्र पनि धेरै विषय अटाएका छन्। धेरैजसो सहरभित्रकै कथा छन् र कथामा विसंगतिपूर्ण सहरी जीवनका वृत्तान्त छन्। उनले हरेक कथामा सभ्य सहरको असभ्यतालाई उधिनेका छन्।

सभ्य मान्छेका असभ्य आचरणलाई खोतलेका छन्। सहरभित्रका अमानवीयता, असहिष्णुता, अमर्यादा, असहयोग, अतिरञ्जना आदि उनका कथाका विषयवस्तु हुन्। परम्परागत कथालेखनभन्दा भिन्न स्वरूप र संरचनामा कथा लेख्ने कथाकार ‘नीरव’का कथामा सुरु, आदि र अन्त्यको टुंगो हुँदैन। परम्परागत कथालेखनको फ्रेमभन्दा बाहिर छन् उनका कथाहरू। जहाँबाट पनि कथा सुरु हुन सक्छन् र जहाँसुकै पटाक्षेप हुन सक्छन्। तैपनि कथा कथाकै रूपमा जीवन्त रहन्छन्। त्यसैले नीरवका कथा पढ्नुमा छुट्टै मजा छ। चलनचल्तीको धारभन्दा फरक धारमा लेखिएका उनका कथाले पाठकलाई छुट्टै मजा दिन्छन्। कथा पठनको छुट्टै सन्तुष्टि र आनन्द दिन्छन्। नीरव पाठकले के खोज्छन् भनेर बजारिया कथा लेख्दैनन्। बरु पाठकलाई के दिनुपर्छ भनेर बौद्धिक कथा कथ्छन्।

नीरवले सभ्य मान्छेका असभ्य आचरणलाई खोतलेका छन्। सहरभित्रका अमानवीयता, असहिष्णुता, अमर्यादा, असहयोग, अतिरञ्जना आदि उनका कथाका विषयवस्तु हुन्। परम्परागत कथालेखनको फ्रेमभन्दा बाहिर छन् उनका कथाहरू। जहाँबाट पनि कथा सुरु हुन सक्छन्।

नीरवका कथामा संवेदना पक्ष गौण हुन्छन्। कुण्ठा, आक्रोश, विद्रोह, हास्य र व्यंग्यको बहुलता पाइन्छन्। उनी समसामयिक विषयमा हास्य र व्यंग्यमिश्रित कथा लेख्न खप्पिस छन्। उनका हरेक कथामा वर्तमान बोलेको हुन्छ। वर्तमान हाँसेको हुन्छ र वर्तमान रोएको हुन्छ। भविष्य भने अनिश्चित हुन्छ। समाज होस् वा राजनीति, त्यसमा भएका विकृति र विसंगतिप्रति कठोर प्रहार गर्नु उनको कथाकारिताको मूलभूत विशेषता हो। जाली र फटाहा नेता अनि लुच्चा शासकलाई त उनी प्रहार गर्छन् नै, प्रेममा धोका दिने धोकेबाज प्रेमी वा प्रेमिकालाई पनि प्रहार गर्न छोड्दैनन्। उनको शब्दवाणको प्रहारबाट कोही पनि मर्माहत नभई रहन सक्दैनन्।

संगतिपूर्ण जीवनभन्दा फरक जीवन बाँचेका विसंगत पात्रहरूको अनिर्णित वर्तमान र अस्पष्ट र अनिश्चित भविष्यसँग अन्तरक्रिया गर्दै उनका कथाको सुरु, मध्य र अन्त्य हुन्छ। उनका हरेक कथाको केन्द्रमा आजकै मान्छे उभिएको हुन्छ र उसको लय गुमेको जीवन उभिएको हुन्छ। जीवनको आदर्शभन्दा सत्यको व्याख्या गर्ने उनका कथाले विसंगत जीवन बाँच्न विवश मान्छेको प्रतिनिधित्व गर्दछन्। पाठक स्वयं त्यस्तो प्रतिनिधि पात्र हुन सक्छन् तर उनका धेरै कथामा पात्रको नाउँ नै हुँदैन। कथाका पात्रहरू ऊ, उनी, त्यो, तिनी भएर उपस्थित हुन्छन्। कहिले कथाकार आफैं पात्र बन्छन् त कहिले पात्र नै कथाकार भएर उपस्थित हुन्छन्।

संग्रहका धेरै कथा नीरवको हृदयबाट नभई मस्तिष्कबाट लेखिएका छन्। त्यसैले कथाहरूमा दया, करुणा र संवेदनाभन्दा बढी घृणा, आक्रोश र विद्रोह छन्। कतैकतै कुण्ठा र वितृष्णा पनि छन्। परपुरुषप्रतिको आकर्षण पनि छ। ‘आन्तरिक व्यथा’ यस्तै परपुरुषप्रति आकर्षित भएकी स्वास्नीमान्छेको कथा हो। अनि ‘युद्ध एउटा पुंसत्वहीन संस्कार परिधिभित्र’ कथामा चाहिँ लोग्नेको प्रहारबाट मर्माहत भएर केवल गर्भको शिशुका लागि बाँचेकी एउटी विवश र अभागी आमाको पीडाको आवाज छ। आमा भनेकी यो देश हो। जँड्याहा पिता भनेका यो देशका शक्तिको मातले बहुलाएका शासक हुन्। कर्तव्यच्यूत छोराछोरी भनेका चाहिँ आफ्नै देश लुट्न उद्यत नेता हुन्। अनि जो आमाको गर्भमा छ, त्यो चाहिँ यो देशको भविष्य हो। देशलाई त्यही भविष्यको प्रतीक्षा छ।

जीवनको सुन्दरताभन्दा बढी कुरूप पक्षलाई उनका कथाले उजागर गर्छन्। आडम्बरभन्दा यथार्थको बहुलताले सजिएका उनका कथाभित्रको सौन्दर्य खोज्न बौद्धिक पाठकीयताको आवश्यकता महसुस हुन्छ। विचार र बौद्धिकताको सौन्दर्य पक्षले कथाहरू सुन्दर बनेका छन्। त्यो सुन्दरताको रसास्वादन गर्न पाठकीय दृष्टिकोण पनि उस्तै विचारशील र बौद्धिक हुनु जरुरी देखिन्छ। कथाकार कथामा पीडित प्रेमीका पीडा लेख्छन्। पीडित कर्मचारीका व्यथा र गुनासा लेख्छन्। पीडित सेवाग्राहीका पीडा, व्यथा र आक्रोश लेख्छन्। पीडित नागरिकका आँसु र वेदना लेख्छन्। फटाहा नेताको भण्डाफोर गर्छन्। घुस्याहा मन्त्रीका उछित्तो काढ्छन्। विकृत र विद्रुप राजनीतिप्रति घृणा ओकल्छन्। सबैभन्दा बढी चाहिँ उनी बेरोजगारीले रन्थनिएका बेरोजगार युवाका बाध्यता, पीडा र समस्या लेख्छन्। रोजगारी खोसिएर बेरोजगार हुनुपर्दाको पीडा उनी स्वयंले भोगेका छन्। त्यसैले रोजगारी खोस्ने हाकिमप्रति उनी रुष्ट छन्।

एउटा असल, इमानदार र कर्मशील कर्मचारीको रोजगारी खोस्ने खराब, बेइमान र कामचोर हाकिमलाई उनले षडयन्त्रकारी कुतत्वहरूको रुद्रमण्डल, मण्डलासुर भ्रष्टचारी, कर्मचण्डाल मण्डलधारी धूर्त, जरावन नयौप्रेमी उपमा दिएर आफ्नो रुष्टता प्रकट गरेका छन्। त्यसरी रोजगारी खोसिएर बेरोजगार भएको सन्दर्भ वा प्रसङ्ग ‘एउटा भाग बाँच्नुको’, ‘देशभित्र अनावश्यक मान्छे’, ‘प्रताडित’, ‘हुलिया’, ‘छोरी तिमीलाई सम्बोधन अर्हत् र मेरो कथा’ र ‘महँगो’ शीर्षकका कथाहरूमा आएका छन्। विसंगत वर्तमानका कथा लेख्छन् उनी। ‘कोष्ठकभित्र हाँसो’ भित्रका कथाहरूमा सबै प्रकारका पाठकले आफ्नै भोगाइ महसुस गर्न सक्छन्। आफूलाई कथाको पात्रमा अनुवाद गर्न सक्छन्। कथाको पात्रभित्र आफैंलाई पाउन सक्छन्। आफूभित्र कथाको पात्र भेट्न सक्छन्। त्यसैले कथा पढ्दै गर्दा पाठक आनन्दित मात्रै होइन, आफ्नो भोगाइ सम्झेर उद्वेलित र आक्रोशित पनि हुन्छन्।

नीरवको कथा सोच्ने आफ्नै ढंग छ। जस्तै ‘एउटा शून्यताको आत्महत्या’ शीर्षकको कथा। स्वैरकल्पनाको बेजोड नमूना पनि हो यो कथा। खराब वातावरणमा खराबै भएर बाँचेको एउटा मान्छे असलपनाको खोजीमा निस्केको दार्शनिक कथा हो ‘एउटा अर्को बुद्ध’। सत्यमा आधारित एउटा कथा छ ‘एउटा भाग बाँच्नुको’। एउटा इमानदार कर्मचारी खराब हाकिमको अन्यायपूर्ण व्यवहारबाट कसरी पीडित भए भन्ने यो कथामा चित्रण गरिएको छ। संग्रहकै एउटा उत्कृष्ट कथा मान्न सकिन्छ ‘नायकको खोजी’ कथालाई। धेरै नालायक र खलनायकहरूले देशलाई बर्बाद पारेका बेलामा कथाकारले एउटा असल नायकको खोजी गरेका छन्। कथाकार लेख्छन्, ‘देश भग्न कसरी भएको हो ?’ उत्तरमा लेख्छन्, ‘व्यवस्थाका ठेकेदार भ्रष्ट भएर, व्यापारीहरू अति नै ठगाहा भएर, आतङ्ककारी भनिनेहरू हिंसामाथि हिंसा गर्ने भएर र जनता अझै पनि लाछी भएर।’

नीरवका कुनै कथा गणितको सूत्रमा लेखिएजस्ता लाग्छन्। कुनै कथा कवितामा लेखिएजस्ता लाग्छन्। छोटा वाक्य र छोटा अनुच्छेदमा लेखिएका उनका कथाका हरेक वाक्य वा हरेक संवाद निकै चोटिला लाग्छन्। मस्तिष्कलाई झंकृत बनाउँछन्। पात्र उही हुन्। विषयवस्तु उही हो। कथाका पात्र र विषयवस्तु यही समाजभित्रैका हुन् जहाँ पात्र र कथाकार बाँचिरहेका छन् र यही समाजको कथा लेखिरहेछन्। नीरव उही पात्र र उही विषयवस्तुलाई आफ्नो भिन्न कल्पनाशीलता र भिन्न परिकल्पनाअनुरूप भिन्न रूपमा प्रस्तुत गर्छन्। उनका कथामा कथाकारको नाम छोपिदिँदा पनि यो रोशन थापा ‘नीरव’कै कथा हो भनेर पाठकले भन्न सक्छन्। यो उनको निजत्व हो। निजी विशेषता हो। निजी पहिचान हो।

समस्या छ। समस्या छ र त पीडा छ। तर यो समस्या र यो पीडा सुनेर पनि मान्छेलाई हाँसो उठ्छ र हाँस्छन्। समस्या र पीडामा पनि हाँसो ? कस्तो विसंगतिमा बाँचिरहेछौं हामी ? यही आशय लुकेको छ ‘कोष्ठकभित्र हाँसो’ कथामा। यो शीर्षककथा पनि हो। तर हाँसोमा कोष्ठक किन ? पाठकलाई कारण सोच्न बाध्य तुल्याउँछ। मान्छे बन्धनभित्र हुँदाहुँदै पनि उसको हाँसो स्वतन्त्र हुन्छ र हुनुपर्छ। तर यति हुँदाहुँदै पनि मान्छेको स्वतन्त्र हाँसो पनि कताकता बन्धनको घेराभित्र परेको आभास हुन्छ। त्यो घेरा भनेकै कोष्ठक हो। यस अर्थमा ‘कोष्ठकभित्र हाँसो’ कथाको शीर्षक सार्थक छ र कथा निकै जोडदार छ।

कथामा आफ्नै मनमौजी प्रयोग गर्न खप्प्सि छन् कथाकार ‘नीरव’। आफ्नो स्थापित पहिचानलाई निरन्तर कायम राखेका छन् उनले। उनको कथामा एउटा विषयको पुनरावृत्ति भएको महसुस भने पाठकले गर्नेछन्, त्यो हो बेरोजगारी। यसो त बेरोजगारी वर्तमान समय र यो देशकै एउटा ठूलो समस्या पनि हो। यति ठूलो समस्याप्रति लेखक गम्भीर र संवेदनशील हुनु स्वाभाविक हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.